सवारीको नाममा जनतालाई दुख दिने परम्परा र शैली बदलौ : गगन थापा,महामन्त्री,कांग्रेस
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीका नाममा नागरिकलाई दुःख दिने परम्परा भएको र यो शैली बदल्न आग्रह गरेका छन्।
उनले राष्ट्रपति एउटा व्यक्ति नभइ संस्था भएको र यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको धरणा पनि राखेका छन्।
आफ्नो अधिकारीक फेसबुक पेजमा महामन्त्री थापाले लेखेका छन्,’हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ।’
‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ।’
महामन्त्री थापा अगाडि भनेका छन्, ‘यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।’
महामन्त्री थापाका दुई सुझाब
१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।
२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।
राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ ।यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।