नेपाल टी–२० मा स्पट र म्याच फिक्सिङ् गरेको आरोपमा २ राष्ट्रिय खेलाडी पक्राउ
काठमाडौं । ठुलै विवादकाबीच हालै सम्पन्न भएको नेपाल टी २० क्रिकेटमा स्पट र म्याच फिक्सिङ् गरेको आरोपमा प्रहरीले दुई खेलाडीलाई पक्राउ गरेको छ ।
पुर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका आदिल अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।
अघिल्लो महिना सम्पन्न खेलमा आदिलले जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टीमको सदस्य थिएनन् । आलम पूर्वराष्ट्रिय क्रिकेट खेलाडी हुन्, उनले २००८ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर रेकर्ड राखेका छन् ।
सोमबार प्रहरीले अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै नियन्त्रणमा लिएको हो । उनी त्यहाँ मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका थिए । गिरफ्तार पछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यता पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको हो । नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी– २० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि केन्द्रिय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।