दक्षिण अफ्रिकामा पाइलट ट्रेनिङ्ग गर्दै गरेका नेपाली विद्यार्थीको विमान दुर्घटना मृत्यु
प्रीटोरिया / दक्षिण अफ्रिकामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा अध्ययनरत नेपाली विद्यार्थीको विमान दुर्घटनामा परि निधन भएको छ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ५, जोरपाटी स्थायी घर भएका प्रथम सुवेदीको (राहदानी नं. ११८४४९२१) प्रशिक्षण कै क्रममा निधान भएको जनाइएको छ।
दक्षिण अफ्रिकामा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार घटना आइतवार भएको हो।
दक्षिण अफ्रिकाको ग्राण्ड सेन्ट्रल एअरपोर्ट, मिडरयाण्डस्थित फ्लाइट ट्रेनिङ सर्भिस (एफटीएस) मा प्रशिक्षण संस्थामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा उनी अध्ययनरत थिए।
उडान प्रशिक्षणको क्रममा आइतवार बिहान जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपास क्षेत्रमा विमान दुर्घटना भएको जनाइको छ।
उक्त विमान दुर्घटनामा डच प्रशिक्षक एरियन असदको समेत मृत्यु भएको पुष्टि भएको छ । निजहरूको मृत्यु सम्बन्धी पोष्टमार्टम रिपोर्ट केही दिनभित्र उपलब्ध हुने बताइएको छ।
मृतक नेपाली विद्यार्थीको शव नेपाल पठाउने एवं अन्य राहत, क्षतिपूर्ति लगायतका विषयमा पाइलट प्रशिक्षण प्रदायक संस्था एफटीएस, पाइलट प्रशिक्षणका लागि दक्षिण अफ्रिका पठाउन सहजीकरण गर्ने नेपाली संस्था काठमाडौं एलाइन्स एजुकेशन र मृतकका परिवारजनसँग दूतावासबाट आवश्यक छलफल, कुराकानी एवं समन्वय भैरहेको छ थापाले जनाएका छन्।