अध्यक्ष बुद्दि सुवेदीमाथिको ‘धर्म संकट’ले मेम्वरसिप ड्राइभ कमिटी गठन नगरि सकियो एनआरएनए अमेरिकाको बैठक
पेन्सिलभेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको बहुप्रतिक्षित (डिसेम्बर ११ तारिक) आइतवारको बैठक सदस्यता विस्तार कमिटी (मेम्वरसिप ड्राइभ) गठन नै नगरि टुङ्गिएको छ।
अध्यक्ष बुद्दि सुवेदी माथि आइपरेको एक धर्म संकटका कारण यस्तो हुन पुगेको बताइएको छ। आइतवारको बैठक पछि सदस्यता सम्वन्धी अवरुद्द प्रक्रिया खुला हुने अपेक्षा गरिएको थियो । पछिल्लो चुनाव पछि सदस्यता सम्वन्धी सबै काम रोकिएको छ। नयाँ सदस्यता र नविकरणको प्रकृया छिटो खुलाउन दवाव बढ्दै गएको छ।
दुई दिन अगाडि मात्र समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष सुवेदीले आइतवारको बैठक सबै अवरुद्द प्रक्रिया खुलाउनका लागि बोलाइएको बताएका थिए। (यहाँ हेर्नुहोस त्यस सम्वन्धि समाचार)
तर अन्तिम समयमा सदस्यता वितरणका लागि महत्वपूर्ण कमिटीलाई नै बैठकको एजेण्डा नै बनाइएन । बैठकले मेम्वरसिप ड्राइभ लाई ‘ड्रप’ गरे पनि अन्य दुई कमिटि मेम्वर भेरिफिकेशन र सुपरभिजन गठन गरेको छ।
बैठकमा सहभागि एक पदाधिकारीका अनुसार बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ र उपाध्यक्ष दिलु पराजुलिले यस पटक मेम्वरसिप ड्राइभको नेतृत्व आफुले गर्न पाउनु पर्ने दावी गरेका थिए। त्यस पछि अध्यक्ष सुवेदीले मेम्वरसिप ड्राइभ कमिटीको बारेमा यो बैठकमा कुरा नउठाउन रुलिङ गरे।
सुवेदीले आफ्नो मन्तव्य राख्दै बैठक शुरु गरे पछि रोलक्रममा बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले बोलेका थिए। उनले यस अगाडि पाएको दुई महत्वपूर्ण जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेकाले सदस्यता वितरणको जिम्मा पनि आफुलाई दिइनु पर्ने माग गरेका थिए।
उपाध्यक्ष दिलु पराजुलीले पनि सदस्यता वितरण कमिटीको जिम्मेवारी आफुले पाउनु पर्ने दावी गरे । त्यस लगतै अध्यक्ष सुवेदीले विषेश समय लिएर अब बोल्ने बक्ताले मेम्वरसिप ड्राइभ कमिटीको बारेमा नबोल्न भन्दै रुलिङ गरेका थिए।
‘साथीहरु आजको बैठकमा यो एजेण्डा छैन, अब यही बारेमा कुराकानी गरेर समय खेर नफालौ यो रुलिङ नै भयो।’
दुबै जनाले एउटै पदमा दाबि गरे पछि अध्यक्ष सुवेदी अप्ठेरोमा परेको बताइन्छ। वर्तमान कार्यसमितिबाट पन्त र पराजुली दुबै जना अबको चुनावमा अध्यक्षमा उमेदवारी दिने तयारीमा छन्। चुनाव जित्न ‘मेम्वरसिप ड्राइभ’ को साँचो हातमा लिदा ठूलै प्रभाव पर्ने देखिदै आएको छ।
यस्तो महत्वपूर्ण जिम्मेवारी कसलाई दिने भन्ने कुराले सुवेदीलाई धर्म संकट बनाएको बताइन्छ। निकटका अनुसार सुवेदी दुबै उमेदवारको पक्ष-विपक्षमा खुल्न सक्ने अवस्थामा छैनन्।
सुवेदीले अबको यात्रा अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) हुने बताउदै आएका छन्। पन्तलाई बोक्दा आइसीसी यात्रामा आफुलाई धक्का लाग्नेमा उनी चिन्तित छन्। कारण पराजुलीलाई नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य डा. यादव पण्डित र आइसीसीका महासचिव डा. केशव पौडेलको आशिर्वाद रहने निश्चित छ।
‘दुई वटा डाक्टरलाई उपेक्षा गरेर एनआरएनएको राजनीति गर्न ‘कठिन’ हुन्छ भन्ने सुवेदीलाई लागेको हुनु पर्छ ।’ समाज टाइम्स सँगको कुराकानीमा ति पदाधिकारीले भने, ‘फेरि टिमको कुरा पनि छ ,त्यही भएर उहाँ (अध्यक्ष सुवेदी) धर्मसंकटमा हुनु हुन्छ।’
पन्त ‘डाक्टर द्वय’ टिम भन्दा बाहिरका हुन्। अघिल्लो चुनावमा बरिष्ठ उपाध्यक्षमा पन्तले बी आर लामालाई हराएउदै डाक्टर टिमलाई चक्मा दिएका थिए। सुवेदीले त्यही बेला पनि भित्रिरुपमा पन्तलाई सहयोग गरेको आरोप लागेको थियो । सुवेदी र पन्त पारिवारिक रुपमा निकट रहेको बताइन्छ।
अध्यक्ष सुवेदीले भने आफु धर्म संकटमा परेको भन्ने अस्वीकार गरे। ‘त्यस्तो होइन म एकदम क्लियर छु मेम्वरसिप कमिटी बनाउनै पर्छ, तर मेम्वरसिप भेरिफिकेशन र सुपरभिजन कमिटी नभइ हुदैन भनेर आइसीसीले भनेको हुदाँ अहिले हामीले त्यो बनायौ।’
सुवेदीले मेम्वरसिप कमिटी गठन एजेण्डामा नै नभएको बताए । ‘साथिहरुको के कुरा भयो भने मेम्वरसिप ड्राइभ कमिटी र एमआइएस इन्फरमेशन कमिटी पनि बनाउन पर्छ भन्ने आएको छ, एमआइएसको बारेमा धेरैलाई थाहा छैन, कानुनीहरुपमा त्यो कमिटी बनाउनु मिल्ने नमिल्ने के छ हामी सल्लाहाकार सँग सल्लाह गर्छौ। सुवेदीले भने।
उनले नयाँ विवाद नआउनका लागि आफुले एजेण्डामा नलगेको बताए। ‘कोही साथिहरुले मेम्वरसिप खोलेकै छैन ड्राइभ कमिटी किन भनेर प्रश्न गरे भने अर्को समस्या आउछ, एमआइएसका बारेमा आइसीसी सँग अझै हामी शतप्रतिशत विश्वस्त भएका छैनौ।’
सुवेदीले आइसीसीको प्रविधिमा अझै ढुक्क हुन नसकेको पुरानै कुरा दोहोर्याए। ‘हामीले निरन्तर पत्रचार गरेका छौ किनकी हिजो जापानको जस्तो घटना घट्ने हो की लण्डनको जस्तो हुने हो की, अहिले हामीले फटाफट ल हुन्छ भनेर गरिदियौ भोली कन्ट्रोल उनीहरुले गरिदिएर अर्को भयो भने त बुद्दि सुवेदीले त्यसको जिम्मेवारी लिनु पर्छ त्यही भएर हामीले इमेल गरिरहेका छौ भोली जापानको जस्तो हुदैन लण्डनको जस्तो हुदैन भन्का लागि।’
सुवेदीले आफुहरुले पनि आन्तरिक तयारी पनि गर्दै गरेको बताए। ‘हामीले व्याकअपमा हाम्रो सिस्टमलाई पनि तयार पारेका छौ।’ उनले अगाडि भने, ‘हिजो नयाँ भेण्डर फाइनल भयो,बीचमा भेण्डर बारेमा समस्या थियो खर्चिलो थियो समय पनि सकिएको थियो । अहिले क्लाउड आइटी छनौट भएको छ।’
सुवेदीले आइसीसीकै कारण सदस्यताको प्रकृया खुलाउन समस्या भएको दावी गरे। ‘हाम्रो प्रयास जनवरी १ बाट खोल्ने भन्ने हो त्यसका लागि आइसीसी सँग समन्वय गर्ने भनेका छौ, तर आइसीसीले हामीलाई चाहिने सबै कुरा दिएन भने अझै पनि केही लम्विन सक्छ। हाम्रो सिस्टममा भए हामी खोलि सक्थौ।’
अध्यक्ष सुवेदीका अनुसार बैठकले भर्जिनियामा खरिद गरिएको भवनमा जनवरी एक तारिकबाट तारिकबाट कार्यलय संचालन गर्ने निर्णय गरेको छ । ‘एक जना कर्मचारी नियुक्ति गर्ने र दुई कोठा १५ समयमा भाडामा दिने निर्णय पनि बैठकले गरेको छ।’ सुवेदीले समाज टाइम्स सँगको कुराकानीमा भने ।
यस्तै भवन खरिदका लागि बोलिएको तर उठ्न बाँकीको लिष्ट एक साता भित्र कार्यसमितिमा पेश गर्ने निर्णय पनि बैठकले गरेको सुवेदीको भनाई छ।
अन्य कमिटिले पायो पूर्णता
मेम्वरसिप ड्राइभ बाहेक अन्य किमिटीलाई भने एनआरएनए अमेरिकाले पूर्णता दिएको छ। आइतवारको बैठकले भेरिफिकेशन कमिटीको संयोजकमा एनआरएनए अमेरिकाका सल्लाहाकार विस्कन्सिन निवासी गोविन्द श्रेष्ठलाई तोकेको छ।
एनआरएनए अमेरिकाका महासचिव अञ्जन चौलागाइका अनुसार सो समितिको सदस्यमा कोलोराडोका सुदीप बगाले, टेक्सासका पदम भण्डारी र प्रयास बास्तोला रहेका छन् ।
यस्तै मेरिल्याण्डकी लक्षमी भारती, न्यूयोर्कबाट वेगम पण्डित, विस्कन्सिनका रामजी मरासिनी र केन्टीकीका विवेक ढकाल पनि भेरिफिकेशन कमिटीको सदस्य रहेका छन्।
बैठकले मेम्वर सुपरभिजन किमिटीको संयोजकमा टेनीसीका डा. भरत पोखरेलाई नियुक्त गरेको छ । सो कमिटीको सदस्यमा टेक्सासका अमृत सापकोटा र लसएञ्जलसका रोशन अधिकारी रहेका छन्।
यस्तै एनआरएनए अमेरिकाकी पूर्व उपाध्यक्ष बनिता कतिला संरक्षक परिषद्को सदस्यमा मनोनित भएकी छिन्।
महासचिव चौलागाईका अनुसार बैठकले मानार्थ परिषद्लाई पनि पूर्णता दिएको छ। आइतवारको बैठकले भर्जिनियाका डाक्टर देशराज संयोग, नर्थक्यारोलिनाका डा.अविन ओझा सहित १३ जनालाई मानार्थ परिषद्मा मनोनयन गरेको छ।
परिषद्मा मनोनयन हुनेमा न्यूयोर्कका विनिता लामा र ल्याक्यन लामा, लसएञ्जलसबाट डोल्मा लामा, पेन्सिलभेनियाका जयन्द्र लामा, टेक्सासका मधु खरेल र सुवेन्द्र रानाभाट, मेरिल्याण्डका राजेन्द्र कुमार सुनार (राज सेन्चुरी) र गोपाल बिक रहेका छन्।
यसैगरि रोडआइल्याण्डबाट उर्मिला श्रेष्ठ, न्यूजर्सीका कपिल बगाले र मिनेसोटाबाट रेवती अधिकारी रहेका छन्।