एनआरएनए अमेरिकाले जनवरी एक तारिक देखि सदस्यता खुलाउने
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले नयाँ सदस्यता तथा नविकरण जनवरी एक तारिक देखि खुलाउने भएको छ।
पछिल्लो निर्वाचन पछि सदस्यता सम्वन्धी सबै प्रक्रिया अवरुद्द थियो। सदस्यता वितरण छिटो गर्न दबाव आइरदा सिस्टम तयार नभएको भन्दै काम अगाडि बढेको थिएन् ।
समाज टाइम्स सँगको कुराकानीमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले अब प्रतिक्षा सकिएको र जनवरी एक तारिक देखि सदस्यता खुलाउने जानकारी दिएका हुन्।
‘अब हामी सबै कुरामा तयार भयौ भनेर अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी)ले भनेको छ, एमआईएस सिस्टममा केही अवरोध थियो त्यो हट्यो भनिएको छ, अब आइतवार बैठक बोलाएका छौ, एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले भने, ‘बैठकले अनुमोदन गरे पछि जनवरी एक तारिक देखि सदस्यताको काम शुरु हुन्छ।’
आइसीसीले सदस्यता वितरण समिति, प्रमाणीकरण समितिको नाम मागेको र सो नामावली पठाउन पनि डिसेम्बर ११ तारिक आइतवार एनसीसी अमेरिकाको बैठक बोलाइएको अध्यक्ष सुवेदीले समाज टाइम्सलाई बताए।
‘मुख्यतय कुन प्रणालीमा सदस्यता वितरण गर्ने अन्यौलले प्रक्रिया रोकिएको हो।’ उनले भने।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) ले सदस्या वितरणका लागि सबै एनसीसीहरुमा केन्द्रिय प्रणाली लागु गर्न निर्देशन दिए पनि अमेरिकाले आपत्ति जनाउदै आएको थियो। अमेरिकाले एमआइएस सिस्टममा सुरक्षा बारे प्रश्न उठाउदै आएको थियो।
दुई निकायको लामो रस्साकस्सी पछि आइसीसीको निर्देशन अनुसार सदस्यता वितरणमा जाने निर्णय एनसीसी अमेरिकाको साधरण सभाले निर्णय गरेको थियो।
अध्यक्ष सुवेदीले अब अमेरिका पनि पूर्ण रुपमा फेस भेरिफिकेशनमा जाने बताए। डेबिट वा क्रेडिट कार्डबाट मात्र सदस्यता बन्न पाउने व्यवस्था एनआरएनए अमेरिकाको साधरण सभाले विधानमा नै उल्लेख गरेको छ।
मुख्यतय गिफ्टकार्डबाट ‘फर्जि’ सदस्यता बनाएको र सोही सदस्यबाट संस्थापन पक्षले चुनाव जित्दै आएको आरोप लाग्दै आएको छ।
आजीवन सदस्यको हकमा भने के गर्ने भन्ने अझै टुङ्गो नलागेको अध्यक्ष सुवेदीले बताए। ‘आजीवन सदस्यलाई पुन प्रमारिकरणमा जाउ भन्नु न्यायसंगत हुदैन उनीहरुलाई स्वत नयाँ प्रणालीमा लैजानु पर्छ भन्ने हाम्रो अडान छ सकारात्मक जवाफ नै आउछ होला।’
नयाँ भवनमा जनवरी एक बाट कार्यलय संचालनमा आउने
अध्यक्ष सुवेदीले भर्जिनियामा खरिद गरिको भवनमा जनवरी एक तारिकबाट नै कार्यलय संचालन ल्याउने बताएका छन्।
समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष सुवेदीले एक कोठा आफैले लिने र बाँकी चार कोठा भाडा दिने तयारी भएको बताए।
‘अहिलेका लागि सबै कोठा हामीलाई आवश्यक पर्दैन ठूलो कोठा हामी राख्छौ र बाँकी भाडामा दिने भन्ने भएको छ त्यो पनि आइतवारको बैठकले अन्तिम निर्णय गर्छ।’सुवेदीले समाज टाइम्स सँग भने।
पैसा अझै उठेन
एनआरएनए अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठले भवन खरिदका लागि बोलिएको रकम मध्ये अझै केही उठ्न बाँकी रहेको बताएका छन्।
श्रेष्ठका अनुसार तीन लाख अमेरिकी डलर बोलकबोल भएकोमा अझै एक लाख डलर उठ्न बाँकी छ।
भवनका लागि एनआरएनए अमेरिकाले दुई लाख ८० हजार खर्चेको हो । त्यस मध्ये एक लाख रुपैया आजीवन सदस्यको मौजादबाट सापट लिएर चलाइएको थियो।
कोषाध्यक्ष श्रेष्ठले पदाधिकारीले नै आफुले कबोल गरेको रकम अहिले सम्म नदिएको गुनासो गरे। ‘तनाव नै भयो भन्या, लिष्ट सार्वजनीक गरौ भन्दा पनि साथीहरुले देलानन नी भन्ने हुदो रहेछ, समाज टाइम्स सँगको कुराकानीमा कोषाध्यक्ष श्रेष्ठले भने, ‘आफैले बुझेर बोले अनुसारको रकम खातामा हालिदिए हामीलाई सजिलो हुने थियो।’
श्रेष्ठका अनुसार क्यालिफोर्निया च्याप्टरले उठाएको रकम लगभग ५० हजार एनसीसीको खातामा ट्रान्फर गरेको छैन। यस्तै कार्यसमितिका केही पदाधिकारीले पनि आफुले बोलेको रकम दिएका छैनन्।
एनआरएनए अमेरिकाले अक्टोबर चार तारिकमा भवन क्लोजिङ गरेको थियो। (किन्यो एनआरएनए अमेरिकाले ‘घर’)
अध्यक्ष सुवेदीले आइतवारको बैठकमा यसबारेमा छलफल हुने बताए। ‘अहिले नै बोलेको रकम नदिनेको नाम सार्वजनीक गर्न हतार हुन्छ तर हामी बैठकमा कुरा राख्छौ।’
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा भवन खरिद समितिका संयोजक कृष्णजीवी पन्तले अध्यक्ष सुवेदी र कोषाध्यक्ष श्रेष्ठ लामो समय नेपालमा बसेकाले पनि बोलिएको पैसा उठाउने कामले गति लिन नसकेको बताए।
‘क्यालिफोर्निया च्याप्टरले ४० हजार डलर खातामा नै जम्मा भएको र अब सात हजार उठाउन बाँकी रहेकाले एकै पटक केन्द्रलाई पठाउने भन्ने छ।,’बरिष्ठ उपाध्यक्ष पन्तले समाज टाइम्स सँग भने,’मैले बाराम्वार कोषाध्यक्षलाई लौन लिष्ट दिनुस भनेको छु उहाँहरु नेपाल गएर बस्नु भयो को कस्ले बोलेको रकम दिन बाँकी छ भन्ने थाहा पाए म आफै फलोअप गर्ने थिए।’
कोषाध्यक्ष श्रेष्ठले आइतवारको बैठकमा आफुले कुरा राख्ने त त्यस पछि निश्चित समय भित्र आफुले बोलेको रकम जम्मा नगर्नेको नाम सार्वजनीक गर्ने बताए।