सौख र सुन्दरताको व्यापार
सुरेश सुवेदी
काठमाडौं/ हामी मध्ये धेरैले राणाका सौखका प्रसङ्ग सुनेकै छौ । स्वभावैले सुख, सयल र सुन्दरताको सौखिन । विशेषतः महिला, मदिरा र मस्ती बारे राणाहरुको सौख ! प्रकाश जिबि (जंगबहादुर) राणा, राणा खान्दानका एक सदस्य । त्यसैले पनि सौखिन हुनु उहाँको घरानियाँ विशेषता नै भयो । तर सौख चैं अरुको होइन, सुन्दर कोठा र फर्निचरको ।
यस्तै सौखलाई व्यावसायमा बदल्ने व्यक्ति हो प्रकाश जिबि राणा । आफ्नो नाम जस्तै प्राचीन कालखण्डका विभिन्न डिजाइनका फर्निचरलाई हाइलाइट गर्ने काम गर्नुहुन्छ । त्यसो त नेपालको मौलिक कला संस्कृत अनुसारका फर्निचर तथा इन्टेरियरका सजावट सामग्री पनि प्रकाशको प्राथमिकतामा देखिन्छन् । इम्पेरियल फर्निचर यस्तै ऐतिहासिक तथा मौलिक फर्निचर र सजावटका समाग्री पाइने ठाउँ हो।
जहाँ प्राचीन समयका विशेषगरी भिक्टोरियन कालखण्डका उत्कृष्ट फर्निचर पाइन्छ । नेपालका मौलिक कलाकृति अनुसारका विभिन्न झ्याल तथा अन्य सामग्री पनि इम्पेरियल फर्निचरमा छन् । यहाँ पुग्ने जो कसैलाई पनि आँखिझ्याल, मयुरझ्याल, देशेमरुझ्या तथा शोंझ्यालगायत नेवारी वास्तुकलाले लोम्याउने छ । उत्कृष्ट कलाकृतिहरुले कुनै भव्य ऐतिहासिक समरोहमा सहभागी भैरहेको आभास दिन्छ ।
सानैदेखि यस्तै कलाकृतिको संकलन, संरक्षण र संवद्र्धनमा लाग्नु भएका राणालाई व्यापार भन्दा पनि कलाकृतिको संरक्षण गर्न पाएकोमा सन्तुष्ट देखिन्छ ।
अहिले राजकिय भेटघाट तथा समारोहहरु मात्र यस्ता फर्निचर देखिन्छन् । प्रकाश राणा अहिले यस्तै फर्निचर निर्माण तथा सजावाटको व्यवस्था गर्नु हुन्छ ।
यस्तै, ऐतिहासिक सम्पदाको कला सिंहदरबार ग्यालरी बैंठक, शितल निवास लगायतका भवनभित्र पनि भरिभराउ थिए । विभिन्न देशबाट ल्याएको कलाकृति अमूल्य र अद्वितीय रुपमा संग्रहित थिए । राणाको बुझाइ छ ‘तर अहिले छैनन् ।’ कलाकृति र सजावटको संग्रह स्थल नै संरक्षणविहिन भए । रेखदेखको अभावमा यी सम्पदा धेरै हराएका र टुटफुट भएका छन् । राणाको दुखेसो छ, ‘त्यस्ता दुर्लभ कलाकृति पटक पटक कबाडीको मूल्यमा बिक्री गरियो ।’
राणाको बुझाइमा बर्तमान राज्य सत्ताबाट बहुमूल्य कलाकृतिमाथि प्रतिशोधपूर्ण ब्यवहार भयो । राणा र शाहको राजनीतिप्रति प्रतिशोध भए पनि कलाकृति त सबैका हुन् नि ! ‘तर त्यस्तो भाव पाइएन सखापै पार्न पर्छ भने झै गरे ।’ कलाकृतिमाथि राजनीति वा प्रतिशोध नगर्न राणाको आग्रह छ । यद्यपि अहिले आएका नवधनाढ्यहरुमा बढ्दै गरेको यस्ता कलाप्रतिको रुचि र सकारात्मक सोचका कारण भने राणालाई खुशी तुल्याएको छ ।
विदेशी फर्निचरको राणाकालिन प्रयोग
बेलायतको साम्राज्य संसारभर फैलिएका बेला रानी भिक्टोरियाले प्रयोग गर्ने फर्निचरको बयान पनि ठूलै थियो । जंगबहादुर बेलायत गएको समयमा ती विश्व प्रख्यात फर्निचर नेपाल भिœयाएका थिए । बिशेष गरी फ्रान्स, बेलायतमा प्रचलित जार, भेनस, बत्ति, भेनिस फ्रेम, मिरर संसारभर रुचाइएका कलाकृति हुन् ।
यत्ति नै लोकप्रिय इटालियन वाल पेपर, साउदीका राजपरिवारले प्रयोग गर्ने सजावटका तस्वीर र सामग्री पनि यस प्रकाश राणाको इम्पेरियल फर्निचरभित्र सजिएका छन् ।
राणा फर्निचरमा ‘यूनिकनेस’ हुनु पर्नेमा जोड दिनु हुन्छ । यसका लागि भारतीय तथा तालिम प्राप्त नेपाली कालिगढहरुको प्रयोग गुर्नु हुन्छ । यसरी तयार गरिएका कलाकृति विदेशी कुटनीतिज्ञ तथा रोयल फ्यामेलीका मानिसहरुले लैजाने गरेका छन् । विशेषगरी नयाँ र अनुपन कलाका रुपमा ।
सम्पन्नताको रंग एन्टिक गोल्ड
भनिन्छ, अकवरी सुनलाई कसी लगाउनु पर्दैन । राणा फर्निचरलाई नै अकवरी सुनको रंग अर्थात एन्टिक गोल्ड कलर लगाइदिनु हुन्छ । कतिपयका ओखर जस्तै देखिने रंग । बजारमा ‘ओलनट कलर’ भनिने रंगमा सम्पन्नता देख्नेहरु बढेको राणाको अनुभव छ । यसरी सजिएका फर्निचर खासमा काठद्वारा निर्माण गरिएका हुन्छन् । सोफामा प्रयोग गरिने कभर पनि इन्डियन फेब्रिकबाट बनाइन्छ । यसका पनि फरक फरक मूल्य र गुणस्तर हुने गर्दछ । यसको उत्पादन प्रक्रियामा मेसिनको प्रयोग नहुने भएकोले मूल्यमा बढी पर्न सकिने राणाको भनाइ छ । विशेषगरी जंगली सिसौ र टिउडको प्रयोग गरिने भएकोले यसको टिकाउ लामो समयसम्म हुनेमा राणाको विश्वास छ ।
काठका फर्निचर भएकाले मौसम अनुकुल यी स्वास्थवर्धक ठानिन्छन् । राणा फर्निचर निर्माण गर्नेलाई मजदुर होइन कालिगढ भन्ने गर्नुहुन्छ । ‘उहाँहरु कलाका पुजारी हो ।’ राणाको मान्यता छ ।