पुराना दलका युवा उमेद्वार
सुरेश कुमार सुवेदी
काठमाडौं । स्वतन्त्र वा चुनावका लागि वर्ष दिन पनि नपुगेका पार्टीका तर्फबाट भएका उमेद्वारहरुको संख्या धेरै छन् ।
तर आफ्नो उमेरभन्दा दोब्बर समय दलगत संघर्ष गरेका पार्टीमा अवसर पाउने युवा उमेद्वार औंलामा गन्न सकिने मात्र छन् । राष्ट्रिय राजनीतिमा पारङ्गत भएका पुराना दलले पत्याएका युवा यस्ता छन् ।
पुराना दलका तर्फबाट मनोनयमा पर्न सक्नु पनि पार्टी भित्र ठूलै प्रतिश्पर्धा गर्नु परेको देखिन्छ ।
धादिङ क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा उमेद्वार भएका मधुकुमार श्रेष्ठको आँट र जोशलाई धेरैले तारिफ गर्छन् ।कोभिड लकडाउनका समयमा उनले आफ्नै गाडीलाई एम्बुलेन्स बनाएका थिए । जोखिम मोलेर दिन रात बिरामी बोक्थे ।यिनी सानै उमेरमा कांग्रेस महासमिति सदस्य भई सांगठनिक सीप हासिल गरेका थिए ।
कांग्रेसबाट मुस्ताङमा उम्मेदवार बनेका योगेश गौचन थकाली २९ वर्षका र गोरखा २ मा एमालेबाट भिडिरहेका अब्दुस सलाम मियाँ २९ वर्षका छन् । थकाली पूर्वमन्त्री तथा कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । पर्यटन शिक्षा तथा राजनीतिमा सक्रिय उनी महासमिति सदस्य हुन् ।
यस्तै, गोरखा २ मा प्रचण्डसँग भिडिरहेका अब्दुस सलाम मियाँ विवेकशील साझा पार्टी छोडेर बसेका थिए । यद्धपि उनले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । मियाँलाई एमाले प्रवेश गरेको एक महिनामै टिकटका लागि बिश्वास गर्यो ।
काठमाडौं- ७ख का तर्फबाट उमेद्वार भएका सविन तमाङ हिम्मतिला युवा हुन् । आर आर क्याम्पसमा नेविसंघलाई स्थापित गराएका उनी नागर्जुन र तारकेश्वर नगरपालिकामा सबै समुदायका बीच लोकप्रिय मानिन्छन् ।
निर्वाचन आयोगका अनुसार ४० बर्षसम्मका एमालेबाट सात र कांग्रेसबाट तीन जना मात्रै उम्मेदवार छन् ।
प्रदेश सभा सदस्यका लागि यो उमेर समूहबाट स्वतन्त्र तथा नयाँ दलसहित दुई सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि ३० वर्षमुनिका उम्मेदवारको संख्या जम्मा एक सय ९५ छ । त्यसमा पनि प्रमुख दलहरूमध्ये एमाले र कांग्रेसले एक–एक, लोसपाले तीनजना मात्रै यो समूहबाट उम्मेदवार बनाएको छ । माओवादी, एकीकृत समाजवादी, जसपाबाट ३० वर्षमुनिका उम्मेदवार नै छैनन् । बरु, राप्रपाले ६ जना उम्मेदवार उठाएको छ ।
यसबाहेक राप्रपाबाट ३० वर्ष उमेर समूहका अछाम २ बाट मीनबहादुर शाही, अर्घाखाँची १ बाट होमनारायण बेलबासे, इलाम १ बाट तोयानाथ शर्मा सापकोटा, इलाम २ बाट गणेशप्रसाद दुलाल, उदयपुर १ बाट ध्रुवकुमार रायमाझी र उदयपुर २ बाट वंशीधर न्यौपाने रहेका छन् ।