नेपाली अमेरिकी संगीत महोत्सवमा न्यूयोर्कका मेयर एरिक एडम्स सहभागि
न्यूयोर्क, अमेरिका/ नेपाली चाड दशैं र तिहारको शुभ अवसरमा नेपाली समुदायले आयोजना गरेको एक सांगीतिक कार्यक्रममा न्यूयोर्क शहरका मेयर एरिक एडम्स सहभागि भएका छन्।
नेपाली अमेरिकी संगीत महोत्सवमा मेयर एरिक प्रमुख अतिथिको रुपमा सहभागि भएका हुन्। नेपालीको कार्यक्रममा न्यूयोर्क सिटीका मेयर नै सहभागि भएकोमा आयोजकले खुसी प्रकट गरेका छन्।
बुद्ध ट्याक्सका पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्सका राजेश हमाल र रियल्टर नवराज केसीको आयोजनामा गत शनिवार न्यूयोर्क क्वीन्समा रहेको ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजामा सांगितिक कार्यक्रम भएको थियो।
मेयर एरिक कार्यक्रममा सहभागि हुन आउदा नेपाली समुदायले तालि बजाएर उनको स्वागत गरेका थिए। मेयर एरिकले नेपाली संगीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्ने सुन्दर संगीत महोत्सवको लागि आयोजकलाई धन्यवाद दिए।
मेयरले दशैं तथा तिहारको अवसरमा नेपाली समुदायमा शुभकामना समेत व्यक्त गरेका थिए। संगीत महोत्सवका आयोजक मध्ये एक नवराज केसीले नेपाली समुदायलाई शुभकामना दिएकोमा मेयर एरिकलाई धन्यवाद दिए।
मेयरले चार नेपाली कलाकार र समाजसेवीलाई सम्मान गरेका थिए। सम्मानित हुने कलाकारमा सपनाश्री, फिरोज स्याङ्देन र पेमा छेवाङ शेर्पा रहेका छन्। यस्तै टेलिभिजकर्मी सुरजसिंह ठकुरी पनि सो अवसरमा सम्मानित भए।
न्यूयोर्क शहरमा पहिलो पटक नि:शुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” आयोजना गरिएको हो।
खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोबास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु भएको आयोजक मध्ये एक पशुपति श्रेष्ठको भनाई छ।
नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रुपमा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा झण्डै चार हजार दर्शकले अठार ख्यातिप्राप्त कलाकर्मीको प्रस्तुती हेरेको अनुमान आयोजकको छ।
टेलिभिजनकर्मी सुरज सिंह ठकुरीले होस्ट गरेको कार्यक्रममा फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र संजोक योञ्जनले गीत गाएका थिए।
यस्तै कबिना सिंह, येसेर्ग गुरुङ, रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई प्रस्तुति दिएका थिए। बनसन्त डान्स सेन्टरका कलाकारको प्रस्तुतिले पनि कार्यक्रमको सुन्दरता थपेको थियो। डिजेमा ज्याङ्गो रहेका थिए।
आयोजक टोलीका अन्य सदस्य तथा स्वयंसेवकमा अन्जित गुरुङ, अञ्जन श्रेष्ठ, एतना कार्की, शंकर बिसुंके, बास विशु, निलिमा मादेन, जोन लामा, निरन प्रजापति, उमा तामाङ, रोजिना देउला र निलिमा मादेन थिए । आयोजकले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रायोजक तथा सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा पर्यटन राजदूत प्रदीप श्रेष्ठ र केशवराम राईको पनि उपस्थिति थियो । कार्यक्रममा क्वीन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार विष्टको पनि उपस्थिति रहेको थियो । आयोजकले यस “नेपाली अमेरिकन म्युजिक फेस्टिभल” लाई डाइभर्सिटी प्लाजा, क्वीन्समा वार्षिक कार्यक्रम बनाउने र अमेरिकामा नेपाली संगीत र संस्कृतिको प्रवद्र्धन गर्ने भएको छ ।