माओवादीलाई समानुपातिक सूचीको टुंगो लगाउन नै सकस
काठमाडौं । निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भए पनि अन्तिम दिनसम्म पनि टुंगो लगाउन कठिन भएको छ ।
आइतबार बिहान नै देखि केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरे पनि सोमबार सम्म पनि टुंगिएको छैन ।
उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर नटुंगिएको जानकारी दिए ।
निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।
पोखरेलका अनुसार माओवादीले यसअघि समानुपातिकबाट सांसद भइसकेका, हाल प्रत्यक्षका लागि सिफारिस भएका र हालै सम्पन्न स्थानीय तहको निर्वाचन लडेकालाई समानुपातिक सूचीमा नराख्ने भएको छ ।
यस्तै ब्यापारिक पृष्ठभूमिबाट समेट्ने प्रयास गरिएका कारण सूचि तयारीमा ढिलाइ भएको श्रोतले जनाएको छ । माओवादीप्रति पछिल्लो समय ब्यापारी बर्गमा रुचि कम भएकोकारण सूचि तयारीमा ढिलाइ भएको हो ।