साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउदै नेपाल फाइनलमा
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टिमले शुक्रवार सनसनी पूर्ण सफलता हात पारेको छ। दशरथ रंगशालामा भएको सेमीफाइनलमा नेपालले पाँच पटकको च्याम्पियन भारतलाई एक शुन्य गोलले हरायो ।
पहिलो हाफको अन्तिम समयमा रश्मिकुमारी घिसिङले गरेको गोल भारत माथिको ऐतिहासिक जितका लागि निर्णायक बन्यो। प्रिति राईको पासलाई रश्मिले सदुपयोग गरेकी थिइन।
नेपालले महिला फुटबलमा भारतलाई हराएको साफमा पहिलो पटक र समग्रमा दोस्रो पटक हो। हिरो गोल्डकपमा एक पटक नेपालले भारतलाई हराएको थियो।
यो जित सँगै नेपाल पाँचौ पटक फाइनलमा पनि पुगेको छ। सन् २०१६ बाहेक नेपाल सबै संकरणमा फाइनल खेलेको टिम हो। ०१६ को सेमीफाइनलमा पनि नेपाल भारत सँग नै पराजित भएको थियो। नेपालले साफमा हराउन नसकेको टिम भारत मात्र थियो।
यस अगाडि नेपाल फाइनलमा सधैं भारत सँग पराजित हुन पुगेको थियो। भारत सेमीफाइनलबाट बाहिरिएको यो पहिलो अवसर हो।
नेपालले अब उपाधिका लागि सोमबार बंगलादेश सँग खेल्ने छ। बंगलादेशले शुक्रवार नै भएको खेलमा भुटानलाई ८-० गोल अन्तरले हराउदै फाइनल पुगेको हो।