एनआरएनए अमेरिकाले भवन खरिदका लागि एक लाख ६४ हजार डलर उठायो
पेन्सिलभेनिया, अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाले भवन खरिदका लागि पाँच दिनमा एक लाख ६४ हजार दुई सय डलर उठाएको जनाएको छ।
एनआरएनए अमेरिकाले भर्जिनियामा (10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030) कार्यलय प्रयोजनका लागि भवन (कन्डोमिनियम) गरिद गर्दै छ।
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा भवन खरिद समितिका संयोजक कृष्णजीवी पन्तका अनुसार पाँच दिन भित्रमा एक लाख ६४ हजार दुई सय संकलन भएको हो।
भवनको कुल मूल्य दुई लाख ८८ हजार रहेको छ। भवन खरिद प्रक्रिया अक्टोबर ४ तारिक सम्म टुङ्गाउनु पर्ने सर्त रहेको छ।
‘हामी यो महिना सम्ममा तोकिए अनुसारको रकम उठाउछौं।’ समाज टाइम्स सँग बिहिवार साँझ कुरा गर्दै उपाध्यक्ष एवं संयोजक पन्तले भने ।
पन्तका अनुसार अहिले सम्म सबै भन्दा धेरै रकम एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदीले दिएका छन्। सुवेदीले बीस हजार पाँच सय डलर चन्दा दिएका छन्।
यस्तै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसीका) महासचिव डाक्टर केशव पौडेलले र एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक खगेन्द्र जिसी दुबै जनाले बीस बीस हजार अमेरिकी डलर कबुल गरेका छन्।
पन्त आफैले १५ हजार एक सय डलर चन्दा दिने भएका छन्। यस्तै उपाध्यक्षद्वय दिलु पराजुली र सुमन थापाले दश दश हजार दिने भएका छन्।
‘कार्यसमितिका धेरै सदस्यहरुबाट रकम आउन बाँकी छ, च्याप्टरका साथीहरुको आउनै बाँकी छ, अन्य सदस्य बाँकी छन, पन्तले भने, ‘यो महिना भित्रमा हामीले तार्गेट मिट गर्छौ।’
उनले उत्साहजनक रुपमा चन्दा उठेको दावी गरे। ‘विश्वमा ८३ एनसीसी छन् आफ्नै सम्पत्ति जोडेने हामी पहिलो हौं’ यो महान कार्यमा सबैको उत्साहजनक सहयोग रहेको छ।’ पन्तले समाज टाइम्स सँग भने।
एनआरएनए अमेरिका विश्वमा सबै भन्दा धेरै सदस्य भएको एनसीसी हो ।