अब विदेशबाट साथमा लगिएको फोन नेपालमा १५ दिन भन्दा बढी नचल्ने
पेन्सिलभेनिया,अमेरिका। रोजगारि, अध्ययन वा अन्य कारण तपाई नेपाल बाहिर बस्दै हुनु हुन्छ ? के तपाई छुट्टी मनाउन नेपाल जाँदै हुनुहुन्छ ? अनि तपाई १५ दिन भन्दा बढी नेपाल बस्ने र विदेशमा चलाउदै गरेको फोन साथमा नै लाने सोचमा हुनु हुन्छ ?
त्यसो हो भने अव तपाईलाई नेपाल जाँदा एउटा काम थपिने छ। त्यो हो तपाईले नेपाल लगेको फोन नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा दर्ता गर्नु पर्ने हुन्छ। प्राधिकरणको सिस्टममा दर्ता नभएको फोन अब नेपालमा १५ दिन भन्दा बढी चल्दैन।
नेपाल दूरसञ्चार प्राधिकरणले सेप्टेम्बर १५ बिहीबार देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । मोबाइल फोनको अनधिकृत आयात रोक्न यो प्रणाली ल्याइएको प्राधिकरणले जनाएको छ ।
यो प्रणालिमा दर्ता नभएको फोन अब नेपालमा १५ दिन भन्दा बढी समय चल्दैन। चोरी वा हराएर फेला पारेको फोन प्रणालिमा दर्ता हुदैन।
प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेका अनुसार चोरीका वा हराएका मोबाइलबारे सम्बन्धित व्यक्तिले सरोकारवाला निकायमा खबर गरेमा ती सेट कालोसूचीमा पर्ने र त्यस्ता मोबाइल सेट नेपालमा पनि चल्दैनन्। वैध मोबाइलको हकमा भने त्यस्तो कुनै समस्या नहुने लामिछानेको भनाई छ।
‘वैध मोबाइल सेटका लागि त्यस्तो कुनै समस्या हुन्न। तर हराएको वा चोरी भएर सम्बन्धित देशको नियमन गर्ने निकायले कालो सूचीमा राखेको सेट भने नेपालमा पनि चल्दैन’ उनले भने।
नेपालमा अस्थायी रूपमा आउने पर्यटक लगायतकाले आफूसँगै ल्याउने वैध मोबाइल सेटका हकमा भने केही समस्या नहुने उनले जानकारी दिए।
निश्चित समयका लागि नेपाल आउनेहरूका हकमा दर्ता नगरे पनि १५ दिनसम्म चल्ने तर सो अवधिभन्दा लामो समय नेपालमा बस्ने हो भने प्राधिकरणको वेब साइटमा गएर अनलाइन दर्ता गर्नुपर्ने उनले बताए।
अहिले नेपालमा भएका मोबाइल सेट के हुन्छ ?
प्राधिकरणले बिहीबारबाट यो सिस्टम कार्यान्वयनमा ल्याइसकेको छ। उसले मोबाइल सेटको गैर कानुनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न सो पद्धति कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ।
‘चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, प्राधिकरणको सूचनामा उल्लेख छ।
भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट लगायत नेपालमा चालु रहेका सबै मोबाइल सेटहरू स्वतः सो प्रणालीमा दर्ता हुने र ३० गतेपछिका मोबाइल सेट भने प्राधिकरणको प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गरी किन्न आग्रह गरेको छ।
यो अवधिमा नेपालमा सञ्चालनमा आइसकेका मोबाइल सेटको हकमा भने दर्ता गर्नु नपर्ने र ती सञ्चालन गर्न कुनै अवरोध नहुने प्राधिकरणले जानकारी दिएको छ।