यसरी गरिदै छ समानुपातिक उम्मेदवारको बन्द सूची
काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेश सभा गरी दुवै सदनबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत तीन सय ३० जना उमेद्वार छनोट हुँदैछन् । त्यसका लागि राजनीतिक दलहरुले प्रतिनिधिसभामा ८ वटा क्लस्टरमा र प्रदेश सभामा ७ वटा क्लस्टरमा उम्मेदवारको बन्द सूची बनाउनु पर्छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा र ७ वटा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी आठ सय २५ जना जनप्रतिनिधिको छनोट गर्ने भएको छ । यसरी जातिक क्लष्टरको आधारमा दुवै सभातर्फ सबैभन्दा बढी खस-आर्य समुदायकको प्रतिनिधित्व हुने देखिन्छ ।
प्रतिनिधि सभामा खस आर्यबाट ३४ र सात वटै प्रदेशबाट ६९ जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने छन् । दुवै सदनमा गरी आदिवासी-जनजातिबाट भने ९५ जना समानुपातिक प्रणालीबाट चुनिने छन् । यो क्लस्टरबाट प्रतिनिधिसभामा ३२ जना र प्रदेशसभाहरुमा ६३ जनाको प्रतिनिधित्व हु्नेछ ।
आयोगले राजनीतिक दलहरुलाई असोज २ गते आईतबारदेखि ३ गते सोमबारसम्म निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई समानुपातिक निर्वाचण प्रणालीबाट निर्वाचन गर्न उम्मेदवारको बन्द सूची पेश गर्न सूचना जारी गरिसकेको छ ।
आयोगले असोज २ र ३ गते आयोगमा दलहरुले पेश गरेका समानुपातिक उम्मेदवारको बन्दसूची छानबिन गरी असोज ४ देखि ९ गतेसम्म सूचित गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसबमोजिम अब दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयारी गरी तीन दिन भित्र बुझाउनु पर्ने छ ।
कुन प्रदेशमा कुन जातिको प्रतिनिधित्व कति ?
संघील लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ सालमा जारी भए बमोजिम मुलुकको संघीय संरचना अनुसार ७ वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व जातिय क्लस्टरको आधारमा फरक फरक हुने गरेको छ ।
प्रदेश सभातर्फ खस-आर्य, आदिवासी-जनजाति, मधेशी, दलित, थारु र मुश्लिम गरी ६ वटा जातिय क्लस्टरमा प्रतिनिधित्व गर्ने कूल सांसदको सख्या तीन सय ३० भए पनि हरेक जातिय क्लस्टरमा ५० प्रतिशत महिलाको प्रतिनधित्व अनिवार्य गरिएको छ ।
प्रदेश नम्वर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशबाट मात्र सबै ६ वटा क्लस्टरको प्रतिनिधित्व सुनिश्चित छ भने कर्णाली र गण्डकी प्रदेशमा मधेशी, थारु र मुश्लिमबाट कुनै पनि प्रतिनिधित्व हुँदैन । सुदूरपश्चिम प्रदेशमा मधेशी र मुश्लिमको र बागमतिमा मुश्लिमको प्रतिनिधित्व हुँदैन ।
प्रदेश निर्वाचन क्षेत्रको आधारमा प्रदेश नम्वर १ मा ३७ जना, मधेश प्रदेशमा ४३, बागमतिमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने छन् ।
प्रदेश १ मा जनजाति १७ र खस-आर्य १० जना
३७ जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा निर्वाचित हुने प्रदेश १ मा आदिवासी-जनजातिबाट १७, खस-आर्यबाट १०, दलितबाट ४, मधेशीबाट ३, थारुबाट २ र मुश्लिमबाट १ जनाको मात्र प्रतिनिधित्व हुन्छ ।
मधेश प्रदेशमा २३ मधेशी, २ मात्र खस-आर्य
मधेश प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४३ जनाको प्रतिनिधित्व हुन्छ । यो प्रदेशमा मधेशी समुदायको बहुमत प्रतिनिधित्व छ । यहाँ मधेशी समुदायबाट २३ जना, दलितबाट ८, मुश्लिमबाट ५, आदिवासी-जनजातिबाट ३ तथा खस -आर्य र थारुबाट २-२ जना मात्र प्रदेश सभासद हुन पाउँछन् ।
बागमति प्रदेशमा सबैभन्दा बढी जनजाति २३ जना
यो प्रदेशबाट ४४ जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्यमा चयन हुन पाउँछन् । जसमा सबैभन्दा बढी आदिवासी-जनजातिबाट मात्रै २३ जनाको प्रतिनिधित्व हुने छ भने खस -आर्यबाट १६ जनाको प्रतिनिधित्व हुनेछ । यो प्रदेशबाट प्रदेशसभा सदस्यमा दलितबाट ३, मधेशी र थारुबाट १-१ जनाको प्रतिनिधित्व हुन्छ ।
गण्डकी प्रदेश सभामा जनजाति १० र खस -आर्य ९ जना
गण्डकी प्रदेश सभामा समानुपातिकबाट २४ जना सभासद् छनोट हुन्छन् । यहाँ आदिवासी-जनजातिबाट १०, खसआर्यबाट ९ र दलितबाट ५ जनाको मात्र प्रतिनिधित्व हुन्छ । यो प्रदेशबाट मधेशी, मुश्लिम र थारु समुदायबाट एक जनाको पनि प्रदेश सभा सदस्यमा प्रतिनिधित्व हुँदैन ।
लुम्बिनीमा खस-आर्यबाट १०, मधेशी, दलित र थारु ५-५ जना
यो प्रदेशमा प्रदेश सभामा सबैभन्दा धेरै खस -आर्यबाट १० जनाको प्रतिनिधित्व हुन्छ भने मधेशी, थारु र दलितबाट ५-५ जनाको प्रतिनिधित्व सुनिश्चित छ । यहाँ मुश्लिम समुदायबाट तीन जनाले मात्र अवसर पाउँछन् ।
कर्णालीमा खस-आर्यको प्रतिनिधित्व बहुमतमा
यो प्रदेशबाट १६ जनाले प्रदेशसभा सदस्यको लागि अवसर पाउँछन् । त्यसमा खस-आर्य समुदायबाट बहुमत अर्थात १० जनाले प्रतिनिधित्व गर्छन । यो प्रदेशबाट प्रदेशसभामा मधेशी, थारु र मुश्लिमको प्रतिनिधित्व एउटा पनि हुँदैन ।
सुदूरपश्चिममा २१ सभासदमा खस-आर्यबाट १२ को प्रतिनिधित्व
यो प्रदेशमा खस-आर्य समुदायबाट १२ जना प्रदेश सभा सदस्यमा छनोट हुन्छन् । यो प्रदेशको प्रदेश सभामा थारु र दलित समुदायबाट ४-४ जना र आदिबासी-जनजातिबाट १ जना मात्र छनोट हुन्छन् । यो प्रदेशमा जम्मा २१ जना प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
कुन जातिय क्लस्टरबाट कति हुन्छन् प्रदेशसभा सदस्य ?
७ वटा प्रदेशमा प्रत्यक्षतर्फ तीन सय ३० जना निर्वाचित भए पनि दुई सय २० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । जसमा सबैभन्दा बढी समानुपातिकमा खस-आर्यबाट ६९ जनाले अवसर पाउने छन् ।
त्यस्तै, आदिवासी-जनजाति क्लस्टरबाट ६३ जनाले, मधेशीबाट ३२, दलितबाट ३३, थारुबाट १४ र मुश्लिमबाट ९ जनाले अवसर पाउने छन् । प्रतिनिधिसभामा भने खस-आर्यबाट ३४, आदिबासी-जनजातिबाट ३२, मधेशीबाट १७, दलितबाट १५, थारुबाट ७ र मुश्लिम समुदायबाट ५ जनाको प्रतिनिधित्व हुन्छ ।