एनआरएनए अमेरिकाको भवनको नाममा भ्रम नछर्न सीपी पौडेलको चेतावानी
पेन्सिलभेनिया,अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको भवन खरिदमा भ्रम नछर्न सीपी पौडेल अध्यक्ष रहेको समितिले चेतावनी दिएको छ।
बुद्दि सुवेदी अध्यक्ष रहेको एनआरएनए अमेरिकाले भर्जिनियामा भवन खरिद गर्दै चन्दा संकलन शुरु गरेको छ।
तीन लाख ८८ हजार अमेरिकी डलरको भवन (कन्डोमिनियम) खरिद प्रक्रिया अक्टोबर ४ तारिक सम्म टुङ्गाउनु पर्ने भनिएको छ।
तर बुधवार साँझ विज्ञप्ती जारी गर्दै पौडेलले भवन खरिद प्रक्रियालाई अमेरिकी कानुन अनुसार ‘अपराध’ भएको दावी गरेका छन्।
‘केहि समय यता एन आर एन अमेरिकाको नाममा केहि अनधिकृत व्यक्तिहरुको समुहले सामाजिक संजालमा संस्थाको घर किन्न लागेको भन्ने अफवाह फैलाउदै सो भवन किन्न आर्थिक सहायता गर्न आह्वान समेत गरेको देखिएको हुनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संस्थामा हुदै नभएको निर्णय भयो भनि पैसा उठाउने समिति समेत गठन भएको अफवाह फैलाएर सर्बसाधारणमा भ्रम छर्दै अनधिकृत रुपमा पैसा उठाउने कार्य स्वयममा एउटा गैह्र कानुनि र अमेरिकाको प्रचलित कानुन बमोजिम गम्भीर अपराध हुने भएको हुनाले यस्तो कार्यहरु नगर्नु नगराउनु हुन सम्बन्धित पक्षहरूलाई आह्वान गर्दै आगामी दिनमा संस्थाको आधिकारिक निर्णय बेगर यस्ता संबेदनशील बिषयमा खेलबाड नगर्न समेत सचेत गराउन चाहान्छौ ।’
‘एन आर एन एन सी सी अमेरिकाले आफ्नो भवन किन्ने बिषयमा छलफल भईरहेको तर हाम्रो चाहना आम सदस्यको चाहना अनुरूपको स्थान चयन गरी यस सस्थाको गरिमा अनुरूपको भवन बनाउने कुरामा छलफल भैरहेकोले भवन सम्बन्धि कुनै किसिमको निर्णय नभएको जानकारी गराउदछौ ।’ विज्ञप्तिमा भनिएको छ।
पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता आधारहीन, कपोलकल्पित र भ्रममा परेर नफस्न सम्पूर्ण अमेरिकामा बस्ने आदरणीय एन आर एनहरु, एन आर एन का शुभचिन्तक व्यक्ति तथा संस्थाहरुलाई बिनम्र अनुरोध गर्दछौ । आगामी दिनमा यस्ता दिर्घकालिन महत्वका निर्णयहरु गर्नु परेको खण्डमा यहांहरूबीच व्यापक छलफल गरि जनभावनाको कदर गर्दै प्रचलित नियम कानुनहरुको परिधि भित्र रहेर उपलब्ध श्रोत साधन र आबश्यकताको आधारमा निर्णय गरिने समेत जानकारी गराउदछौ ।’
पौडेलले भवन खरिदको प्रक्रिया तत्काल रोक्नु पनि माग गरेका छन्।’ ‘हाल अनधिकृत रुपमा प्रचार गरिएको र संस्थाको गरिमामा समेत गम्भीर क्षति पुग्ने यस्तो गैर्ह जिम्मेवार र गैर्ह कानुनि काम तत्काल बन्द गर्न सम्वन्धित पक्षलाई अनुरोध गर्दै यहाँहरुको बिस्वास, समर्थन र सहयोगका लागी हामी सधै आभारी छौं ।’