साफ च्याम्पियनसिप : महिला र उमेर समुह दुबै तर्फ नेपालले श्रीलंकालाई ६-० ले हरायो
काठमाडौं। नेपाली फुटबलमा सोमवार सुखद संयोग जुरेको छ। साफ च्याम्पियनसिपमा महिला र पुरुषको उमेर समुह दुबै तर्फ नेपालले श्रीलंकलाई समान ६-० गोल अन्तरले हराएको छ।
दशरथ रंगशालामा राष्ट्रिय महिला टिमले श्रीलंकालाई ६-० ले हराएको केही समयमा कोलम्वोमा १७ वर्षमुनीको टिमले पनि सोही नतिजा निकाल्यो।
दशरथ रंगशालामा पाएको जित सँगै नेपाल समुह विजेता बन्दै सेमीफाइनलमा पुगेको छ। यस्तै कोलम्बोमा पाएको जितले नेपाली युथ टिम फाइनलमा पुगेको छ।
डेंगी रोगका कारण टिमकी गोल मशिन सावित्रा भण्डारी (साम्बा) विना मैदानमा उत्रिएको नेपालका लागि अमिशा कार्कीले दुई गोल गरिन। यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल थपे। नेपालले पहिलो हाफमा नै चार गोल गरेको थियो।
यो जीत सँगै नेपालले दुई खेलबाट ६ अंक जोड्दै समुह विजेता बन्यो । समुहको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो। नेपाल सँग पराजित भुटान पनि समुह उप विजेता हुँदै सेमीफाइनलमा पुगेको छ। भुटानले श्रीलंकालाई ५-० ले हराएको थियो।
यसै गरि सोमवार नै १७ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई उसैको मैदानमा ६-० ले हरायो ।
कोलम्बोस्थित रेसकोर्स मैदानमा भएको खेलमा नेपालका लागि कप्तान प्रशान्त लक्षम, हरिस राज भट्ट, सुबास बम, निरोज कार्की, युने बुढाथोकी र सिजल राईल समान एक एक गोल गरे ।
नेपालले अब फाइनलमा बुधवार भारत सँग खेल्ने छ।
भारतले सोमबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ गोलले हराएको थियो।
फोटो सबै एन्फा