अमेरिकामा ‘गौरा पर्व’ सेप्टेम्बर ४ तारिक मनाइदै
मेरिल्याण्ड, अमेरिका। नेपालमा सुदूरपश्चिम क्षेत्रको प्रमुख पर्व ‘गौरा’ यस पटक अमेरिकामा पनि धुमधामका साथ मनाउने तयारी गरिएको छ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाल अमेरिका सांस्कृतिक केन्द्र (हिन्दु बुद्ध मन्दिर)को संयुक्त आयोजनामा गौरा पर्व मनाउन लागिएको हो।
मेरिल्याण्डमा रहेको हिन्दु बुद्ध मन्दिरमा (12231 HARDFORD RD GLEN ARM MD 21057) सेप्टेम्बर ४ तारिक दिउसो चार देखि सात बजे सम्म गौरा मनाउन लागिएको हो। अमेरिकामा सार्वजनिक स्थानमा सामुहिक रुपमा गौरा मनाउन लागिएको पहिलो पटक भएको आयोजकको दावी छ।
‘भाषा, संस्कृति र परम्पराहरु हाम्रा धरोहरहरु हुन । यीनको संरक्षण, संवर्धन र प्रवर्धन हाम्रा प्रमुख कर्तव्यहरु हुन ।’ आयोजकद्वारा जारि विज्ञप्तिमा भनिएको छ, ‘परदेशमा रहेका परदेशीहरु बीचमा सांस्कृतिक रुपमा भाइचारा बढाउने र भावि सन्ततिलाई समेत हस्तान्तरण गर्न सक्ने गरि निरन्तर कार्यक्रम संचालन गर्ने यसको मुख्य उद्देश्य रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहान्छौ।’
कार्यक्रममा नयाँ पुस्ताका लागि समेत जानकारीमूलक हुने भएकाले केटाकेटीहरुलाई समेत लिएर आउन आयोजकले आग्रह गरेको छ।
कार्यक्रमले नेपालको धार्मिक, सांस्कृतिक तथा भाषिक पहिचान तथा आयमको विस्तार र परिचय सर्वव्यापी बनाउने आयोजकको भनाइ छ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहका अनुसार गौराका लागि भिम बिकेलाई संयोजक तोकिएको छ। यस्तै जनक थापाले देउडा तर्फको संयोजन गर्ने छन्। गौरा पछि देउडा प्रस्तुती हुने छ।
संयोजक बिकेका अनुसार नयाँ पुस्तालाई पनि गौरा भनेको के हो भनेर स्पष्ट हुने गरि कार्यक्रम बनाइएको छ। ‘हाम्रो संस्कृतिका बारेमा केही भ्रम पनि छन् विषेश गरि विभेदका सवालमा तिनलाई चिर्नु पनि हाम्रो उद्देश्य हो।’ समाज टाइम्स सम्वादमा बिकेले भनेका छन्।
यसै गरि देउडा गितका संयोजक थापाले सकभर नेपाली पोशाक र टोपीमा कार्यक्रम स्थलमा उपस्थित हुन आग्रह गरेका छन्। गौरा पछि देउडा शुरु हुने थापाको भनाई छ।
नेपालमा परापूर्व कालदेखि नै मनाँउदै आएको गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ ।