दुई प्रहरी महानिरिक्षक सिंह र अर्याल एकै साथ आए अमेरिका
गणेश थापा ।
क्यालिफोर्निया। अमेरिकाको न्यूयोर्कमा आयोजना हुनलागेको ‘संयुक्त राष्ट्रसंघ’ प्रमुख प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मंगलवार अपरान्ह अमेरिका आइपुगेका छन् ।
आइजीपीद्वय केही समयअघि न्यूयोर्कस्थित जोनएफ केनेडी अन्तर्राष्ट्रीय विमानस्थलमा ओर्लिएका छन् ।
यही भदौ १५ गतेदेखि १७ गतेसम्म संचालन हुने उक्त सम्मेलनमा सहभागी विश्वका विभिन्न देशका प्रहरी प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूमाझ आइजीपीद्वयले नेपालको तर्फबाट आफ्नो धारणा प्रस्तुत गर्नुकासाथै छलफल, भेटघाट र विचारविमर्श गर्ने बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त सम्मेलनमा मुख्यगरी ‘संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली सेवा प्रदायक र केन्द्र बिन्दुको रूपमा संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालन बारेमा छलफल हुने छ।
यस्तै संयुक्त राष्ट्र प्रहरी भित्र लैङ्गिक समानतालाई अगाडि बढाउन स्वैच्छिक कम्प्याक्टको सुरुवात सहित क्षमताहरू सुदृढ गरेर संयुक्त राष्ट्र प्रहरीको कार्यसम्पादन अभिवृद्धि गर्न, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा प्रक्रियाका बारेमा पनि छलफल हुने छ।
इन्टरपोलको सदस्य मुलुक नेपालबाट संयुक्त राष्ट्रसंघले आयोजना गरेको सो सम्मेलनमा सहभागी हुन आएका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरूले त्यसअवसरमा समकक्षीहरूसामु द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
आइजीपीद्वयका साथमा प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत नेपालको तर्फबाट प्रतिनिधिको रूपमा सहभागी छन् ।