अमेरिकामा सम्पन्न ‘बाना कप’ फुटबलको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई
बाल्टिमोर । ‘बाना कप’ फुटबलको उपाधि बाल्टिमोर एथलेटिक क्बल (बिएसी) ले जितेको छ ।
आइतवार साँझ सम्पन्न फाइनलमा आयोजक बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) लाई ट्राइब्रेकरमा ४-३ गोलले हराउदै बिएसीले उपाधि जितेको हो।
अमेरिकाको मेरिल्याण्ड राज्यको टिमोनियम फल्स रोड स्थित मीडोवुड क्षेत्रीय पार्कको फिल्डमा भएको खेलको निर्धारित र अतिरिक्त समय गोल विहिन बने पछि ट्राइब्रेकरमा पुगेको थियो।
ट्राइब्रेकरमा कुनै समय ३-३ गोलको अवस्थामा रहेको समयमा सुमन राईले आफ्नो जिम्मेवारी परिपक्क रुपमा पुरा गरे। सुमनको प्रहार गोलमा परिणत भए पछि बिएसीका अन्य खेलाडी र समर्थकले जितको खुशी मनाएका थिए।
दुई दिन लगाएर भएको प्रतियोगिता कुल आठ टिमले भाग लिएका थिए। मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको क्लबले प्रतियोगितामा भाग लिएका थिए। शनिवार समुह चरणका खेल भएका थिए। आइतवार सेमीफाइनल र फाइनलका खेल भए ।
सेमीफाइनलमा बानाले सुदुर पश्चिमलाई तथा बिएसीले हिमालयन एफसीलाई हराउदै उपाधिका लागि आमने सामन्ने भएका थिए।
लगातारको खेलले फाइनलमा दुबै टिमका खेलाडी केही शिथिल देखिएका थिए। खेलको शुरु देखि नै बिएसी जितको हकदार देखिएको थियो। निर्धारित समयको खेल अधिकांस समय बिएसीले नियन्त्रणमा लिए पनि स्कोरिङ्गमा भने चुक्दै आयो।
निर्धारित समयको खेल ४०-४० मिनेट खेलाइएको थियो। निर्धारित समयको दोस्रो हाफमा बिएसीका गोलरक्षक सौरभ भट्ट फुर्सदिला बनेका थिए। त्यसको उल्टो बानाका गोररक्षक उत्सब घिमिरे व्यस्त बने।
अतिरिक्त समयको खेल पाँच पाँच मिनेट खेलाइएको थियो । त्यो समयमा पनि दुबै टिम खासै आक्रमक बन्न सकेनन्। ट्राइब्रेकरमा बानाका एलेक्स बस्नेतको प्रहार गोलमा परिणत भयो। त्यस पछि आएका बिएसीका कप्तान विवेक तामाङ्गले पनि निसाना चुकाएन्। विवेकले लेफ्ट कर्नर तर्फ गरेको प्रहारलाई बानाका गोल रक्षक उत्सवले रोक्ने प्रयास त गरेका थिए तर सफल भएनन्।
त्यस पछि बानाका सम्राट बस्नेतको प्रहार गोलमा परिणत हुदा, बिएसीका कुशल गिरिको प्रहारलाई बानाका गोल रक्षक उत्सवले बचाउदै जितको आशा जिवित नै राखेका थिए। तर त्यस पछि बानाका पिउस घिमिरेको प्रहारले मात्र न्याय गर्न सक्यो। प्रयत्न तिमिल्सिना र सुमेश आचार्यको प्रहार पोष्ट भन्दा बाहिरिएको थियो।
बिएसीका प्रज्ञान काफ्ले र प्रविण बस्नेतले पनि आ आफ्नो जिम्मेवारी पुरा गरे र बिएसीले खेल ४-३ ले जित्यो । उपाधि दिलाउन नसके पनि बाना उत्सबले उत्कृष्ट गोल रक्षकको उपाधि पाए।
बिएसीका सुमन राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि जितेका बिएसीका प्रविण बस्नेत फाइनलको म्यान अफ दि म्याच पनि घोषित भए। प्रविणले कुल चार गोल गरेका थिए।
उपाधि सँगै बिएसीले २५ सय ५५ अमेरिकी डलर र ट्रफि पायो । उपविजेता बानाले १५ सय ५५ डलर घरमा राख्यो ।