विप्रेषणमार्फत १४ वर्षमा भित्रियो ८४ खर्ब ६६ अर्ब रुपैयाँ
विदेशबाट फर्केका युवाहरूको पुँजी, सीप र प्रविधिको प्रयोग गरी मुलुकमा स्वरोजगार वा उद्यमशीलता प्रवर्द्धनमा सरकारले ध्यान दिनु आवश्यक छः श्रम सचिव
काठमाडौं। नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विप्रेषण बन्दै आएको छ। सोही क्रममा पछिल्लो १४ वर्षमा ( आव २०६५/६६ देखि २०७८/७९ सम्म) ८४ खर्ब ६६ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको छ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको विप्रेषण आप्रवाहले बढ्दै गएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। विप्रेषणको तथ्याङ्कहरूलाई हेर्दा आजभन्दा १२/१३ वर्ष अघि विप्रेषण डेढ देखि साढे दुई अर्बमा सीमित थियो तर पछिल्लो समय तुलनात्मक रुपमा वृद्धिलाई हेर्दा शतप्रतिशत भन्दा बढी रहेको छ।
वैदेशिक रोजगार बोर्डका बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार रेमिटेन्स बढे पनि विगतमा मुलुकको अर्थतन्त्र र हालको अर्थतन्त्रलाई हेर्न हो भने रेमिटेन्स आप्रवाह समानान्तर छ भन्न सकिन्छ। विश्वबजार र नेपालको बजारमा हेर्ने हो भने आजको मुद्रास्फिति, मुद्रा सञ्चिति, मुद्राको मूल्यांकन लगायतका सबै बढेको छ त्यसैले गर्दा रेमिटेन्सको आकारमा वृद्धि भए पनि आजको अर्थतन्त्रलाई हेर्ने हो भने त्यसमा धेरै वद्धि भएको मान्न नसकिने उहाँको भनाई छ।
पछिल्लो चार आर्थिक वर्षमा मात्रै करिब ४० खर्ब रुपैयाँ विप्रेषण भित्रेको छ। गत आवमा नौ खर्ब ८६ अर्ब रुपैयाँ, आव २०७७/७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ र आव २०७५/७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ विप्रेषण मुलुकमा भित्रिएको थियो।
यसैबीच १४ वर्षको अवधिमा ५० लाख आठ सय ३३ जना ( पुन: श्रम स्वीकृति बाहेक ) वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। जसमा ४७ लाख १४ हजार पाँच सय ९१ जना पुरुष र दुई लाख ८६ हजार दुई सय ४२ जना महिला रहेका छन्। उनीहरूले रेमिटेन्स प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। श्रम स्वीकृति लिदैमा सम्पूर्ण युवाहरू विदेश गएको मान्न सकिदैन तर श्रम स्वीकृति लिएका मध्ये करिब ८० प्रतिशत भन्दा बढी युवाहरू विदेश जाने गरेको बोर्डले जनाएको छ।
काठमाडौँमा आयोजिक एक औपचारिक कार्यक्रममा बोल्दै अर्थतन्त्रको एउटा खम्बाको रुपमा देखिएको रेमिटेन्स आप्रवाहलाई व्यवस्थित बनाउनु अहिलेको आवश्यकता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो। सचिव अर्यालले रेमिटेन्स आप्रवाह गर्ने युवाहरूको पुँजी, सीप र प्रविधिको स्वदेशमा नै उपयोग गर्नुपर्ने बताउनुभयो। ‘विदेशबाट फर्केका युवाहरूको पुँजी, सीप र प्रविधिको प्रयोग गरी मुलुकमा स्वरोजगार वा उद्यमशीलता प्रवर्द्धनमा सरकारले ध्यान दिनु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यसो भएमा गर्दा उनीहरूले मुलुक मै रहेका अन्य युवाहरूलाई रोजगारी दिन सक्छन्। युवाहरू मुलुकमा नै बस्दा अर्थतन्त्रमा योगदान समेत पुग्छ।’
यसका लागि मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुन: एकीकरण कार्यक्रम कार्यान्वयन गर्न लागेको उहाँले बताउनुभयो। यस्तै, श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो। ‘वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने क्रममा विदेश जाने युवाहरू दक्ष बनाउनु आवश्यक छ, यसका लागि उनीहरूलाई आवश्यक तालिम दिनु पर्छ,’ उहाँले भन्नुभयो,‘ सीप भएका युवाहरू दक्ष कामदार भित्र पर्ने हुँदा यसले विप्रेषण आप्रवाहमा समेत राम्रो प्रभाव पार्छ। ’
अर्थविद् डा. चन्द्रमणि अधिकारीले विप्रेषण आप्रवाह समग्रलाई एकै स्थानमा हेर्दा बढी देखिए पनि त्यो धेरै नभएको बताउनुभयो। ‘अदक्ष कामदार जाँदा रेमिटेन्स बढ्न सकेको छैन यो धेरै युवाहरूको थोरै थोरै रकम धेरै देखिएको हो,’ अर्थविद् अधिकारीको भनाई छ।
यस्तै, कोभिड १९ का कारण वैदेशिक रोजगार अन्यौलमा पर्दा विप्रेषणको अवस्था कस्तो होला भन्ने चिन्ता सबैमा रहेको थियो। तर, कोभिडमा पनि विप्रेषण आप्रवाह निरन्तर भयो भने सुरुवाती समयमा बढेको थियो।
आवरण चित्रः सिङ्गापुरकी कलाकार ज्यासमिन ओरोसाको चित्र “द लङ्ग रोड अहेड”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार