एनआरएनए आइसीसी बैठक : शर्त सहित सिईयो नियुक्ति अनुमोदन, शेष घले पक्षसँग वार्ता गर्न समिति गठन

पेन्सिलभेनिया,अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकारी निर्देशक (सिईयो) नियुक्ति विषयले तत्कालका लागि पार पाएको छ।
आइसीसीको पदाधिकारीको आइतवार सम्पन्न बैठकले शर्त सहित सिईयो नियुक्ति सम्वन्धि निर्णयको अनुमोदन गरेको छ। तलव सुविधाका बारेमा सिईयो नियुक्ति विवादमा परेको थियो। सोही कारण महासचिवको प्रस्ताव सर्वसम्वत पारित हुन नसकेको जनाइएको छ।
एनआरएनएको कर्मचारी नियमवाली भन्दा बाहिर गएर तीन अध्यक्ष र दुई महासचिवको मिलोमतोमा सिईयो नियुक्ति गरेको भन्दै केही पदाधिकारीले सार्वजनिक रुपमा नै आपत्ति प्रकट गर्दै आएका थिए।
बैठकमा सहभागि एक पदाधिकारीका अनुसार सो विषयले बैठकमा केही समय चर्का चर्की नै भएको थियो।
ति पदाधिकारीका अनुसार महासचिव गौरी जोशीले बैठकको शुरुमा नै सिईयो नियुक्ति सम्वन्धी प्रस्ताव पेश गरेका थिए। तर नियम अनुसार नभएको भन्दै महासचिवको प्रस्तावमा आपत्ति प्रकट गरिएको थियो।
‘विधि, विधान र प्रक्रिया अनुसार नै संस्था चल्नु पर्छ, नियुक्त भएको व्यक्ति खराव होइन तर जुन प्रक्रिया अनुसार नियुक्ति गरिएको हो त्यो गलत छ, नियमावली भन्दा बाहिर गएर गरिएको छ।’ भन्दै केही पदाधिकारीले महासचिवको प्रस्तावको विरोध गरेका थिए।
उनीहरुले नियमावलीमा तोकिए भन्दा अयन्त्र तलव दिनु गैरकानुनी हुने, पहिला नियमावली संसोधन गरेर मात्र नियुक्ति गर्नु पर्नेमा उल्टो काम भएको, जवर्जस्ति निर्णय लाद्न खोजियो भन्दै आपत्ति प्रकट गरेका थिए। केही पदाधिकारीले गम्भिर त्रुटि भएको र त्यसलाई सच्याउन पनि माग गरेका थिए। जसका कारण बैठकमा चर्काचर्की भएको थियो।
त्यस पछि बैठकले सिईयो नियुक्ति सम्वन्धि प्रस्तावलाई शर्त सहित पारित गरेको हो। शर्तको रुपमा तलव सुविधाका बारेमा विज्ञको राय अनुसार गर्ने गरि निर्णय भएको छ।
‘सिइयोको नियुक्ति अनुमोदन भयो, तर तलव सुविधको बारेमा विज्ञटोली हायर गरेर उनीहरुको सुझाव अनुसार अगाडि बढ्ने भन्ने भयो।’ समाज टाइम्स सँगको कुराकानीमा महासचिव जोशीले भने।
जोशिका अनुसार बैठकले शेष घले समुह सँग वार्ता गर्न ११ सदस्यी टोली पनि गठन गरेको छ। जसको संयोजकमा उपाध्यक्ष डीबी क्षेत्री छन्। समितिको सदस्यहरुमा महासचिवद्वय डाक्टर केशव पौडेल र गौरी जोशि सहित गंगाधर गौतम,ओम गुरुङ, नारायण आचार्य,राजन त्रिपाठी,अविमन्यु बस्नेत,देवी बस्नेत, यज्ञ सुवेदी,चिन्तामणि सापकोटा र फनिन्द्र पन्त छन्।
अर्का महासचिव डाक्टर पौडेलका अनुसार बैठकले आगामि अक्टोबर ९ र १० तारिक काठमाडौंमा विधान अधिवेशन तथा बार्षिक साधरण सभामा गर्ने निर्णय गरेको छ। सो साधरण सभामा विधान संसोधन पनि हुने छ।
पौडेलले सिईयो नियुक्तिमा कुनै समस्या नभएको र आफुहरुले कुनै गल्ति नगरेको बताए। ‘कर्मचारी नियुक्ति सम्वन्धि नियमावलीमा आवश्यक परेमा संसोधन गर्ने, त्यसको जिम्मा महासचिवलाई दिने, निर्णय भएको छ।’ महासचिव डा. पौडेलले समाज टाइम्स सँग भने,’महङ्गी भत्ताका बारेमा केही साथिहरुको असन्तुष्टि हो, चार पाँच वर्ष अगाडि रहेको भत्ता अहिले पनि कायम गर्नु न्याय संगत हुदैन, त्यो मिलाएर अगाडि बढ्ने हो।’
बैठकमा सहभागि एक पदाधिकारीका अनुसार महासचिव जोशिले भने सिईयो नियुक्तिमा नियमावली विपरित भएको वियषमा माफि मागेका थिए।
‘म बाट गल्ति भयो माफ दिनुस यस पटक काम गर्दा त्रुटी भयो भने अब यस्तो हुदैन यसलाई मानेर जाँउ भन्ने प्रस्ताव गरे।’ ति पदाधिकारीले भने।
यसै गरि वार्ता कमिटी गठनमा पनि सरसल्लाह नभएको भन्दै केही सदस्यले आपत्ति जनाएका थिए। महासचिव जोशिले शेष घले समुह सँग वार्ता गर्ने कमिटी गठन भएको नाम पढ्न शुरु गरे पछि सल्लाह नगरि बाचन गरिएको भन्दै केही पदाधिकारिले आपत्ति जनाएका थिए।
त्यस बारेमा स्पष्टिकरण दिन अध्यक्ष कुल आचार्य नै आउनु परेको थियो। ‘हामीले महासचिवहरुलाई सबैलाई सल्लाह गरि नाम मिलाउनु होला भनेका थियौ तर गौरीजीले हतारमा आजै पढ्नु भयो, अब नाम आएका साथिहरुको अनुमोदन गरौ तर छुटेलाई पनि समेटौ ‘ अध्यक्ष आर्चयले आफ्नो भनाइ राख्न पाउदा नपाउदै महासचिव जोशी पनि झोक्किएका थिए।
जोशिले अध्यक्षहरुले पटक पटक नियम मिचेको र आफु सँग त्यसको लिष्ट नै रहेको भन्दै ‘पोल’ खोलिदिने धम्की दिएका थिए। ‘अध्यक्षहरुले पटक पटक नियम मिच्न पाउने अहिले मलाई मात्र भन्ने, तपाईहरुले गल्ति गर्नु भएको छ अनि मलाई मात्र खेद्ने।? महासचिव जोशि जंगिए पछि एक छिन बैठकमा सन्नाटा छाएको थियो।
‘अध्यक्षहरु काम गर्न नसक्ने, हरेक कुरा अड्काएर राख्ने, निर्णय गर्न नसक्ने अनि महासचिवले फटाफट काम गर्न थाले पछि आरोप लगाउने ?’ जोशिले प्रश्न गरेका थिए।
बोल्न नपाएको शंखर खड्काको गुनासो
बैठकमा सचिव शंखर खड्काले आफुले बोल्न नपाएको भन्दै पटक पटक गुनासो गरेका थिए। अध्यक्ष आचार्यले बोले पछि उनलाई पनि पालो दिइएको थियो। ‘समर्थन गर्नेलाई बोल्न दिने विरोध गर्नेलाई बोल्नै नदिने गरियो।’ भन्दै खड्काले आपत्ति जनाएका थिए।
‘आमा फाउण्डेशन जसरी एनआरएन चलाउन पाउनु हुन्न, त्यो हो भने फाउण्डेशन चलाउनु।’ भन्दै खड्का महासचिव जोशी माथि खनिएका थिए।
उपाध्यक्ष रोशन थापा, राजन त्रिपाठी र प्रमोद सिटौलाले पनि विधि विधान अनुसार संस्था चल्नु पर्नेमा जोड दिए।
सहभागि ति सदस्यका अनुसार बैठकमा अध्यक्ष आचार्यले सहभागिलाई सभ्य हुन आग्रह गरेका थिए। ‘फरक विचारलाई असभ्य भन्ने ? तपाईले भाषा सच्याउनुस।’ भन्दै सचिव त्रिपाठीले आपत्ति प्रकट गरेका थिए।
बैठकमा सल्लाहाकार र संरक्षक मनोनयनका बारेमा कुनै प्रसंग नै नउठेको बताइएको छ।