निर्वाचन आयोगद्वारा दल दर्ताको आह्वान,गठबन्धनले एकै चिन्हबाट चुनाव लड्न पाउने
काठमाडौं । निर्वाचन आयोगले गठबन्धन दलहरूले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउने मौका दिएको छ ।
आयोगले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनका लागि दल दर्ताको निवेदन दिने बेला मै ऐन बमोजिमको ढाँचामा पेश गर्नुपर्ने जनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
सो ऐन बमोजिमको सुविधा आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरूले प्रयोग गर्न सक्ने गरी निर्वाचन आयोगले सूचना निकालेको छ ।