नेजा साधरण सभा : मागेको ‘अन्न’ कहिलेसम्म ?
क्यालिफोर्निया । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५ औं साधारण सभा क्यालिफोर्नियाको सनफ्रान्सिस्को शहरमा सम्पन्न भएको छ । नेजाका ६ मध्ये पाँच पूर्व अध्यक्षसहित दुई तिहाइ सदस्यसमेत अनुपस्थित रहेको साधारण सभामा देखिएका परिदृश्यले भने ‘कुरी–कुरी’ भनेका छन् ।
कुल सदस्य १४४, उपस्थित ३१ मात्र !
नेजामा एक सय ४४ सदस्य छन् । यसमध्ये ३१ सदस्य मात्र साधारण सभामा उपस्थित भएको एक सदस्यले जानकारी दिए । नेजाको कार्यसमिति १७ सदस्यीय छ । त्यसमा १४ सदस्य थपिएर ‘साधारण सभा’ भएको छ । तर, जुलाई २३ मा साधारण सभा सुरु हुनु केही घण्टा अगाडि भौतिक रुपमा बसेको भनिएको कार्यसमिति बैठकमा दश सदस्य मात्र उपस्थित भएको माइन्युट साधारण सदस्यको इमेलमा फरवार्ड गरिएको छ ।
अध्यक्ष विकासराज न्यौपानेको रवैयाप्रति असन्तुष्ट नेजाका तीन पूर्व अध्यक्षहरु आङछिरिङ शेर्पा, गौतम दाहाल र भोला आचार्य क्याल्फिोर्निया सभामा पुगेनन् । उनीहरु न्यौपानेविरुद्ध मोर्चाबन्दीमा छन् । यहाँ हेर्नुहोस् उनीहरु किन गएनन् क्यालिफोर्निया ?
न्यौपानेसँग गत निर्वाचनमा पराजित दुई उमेदवार गोकुल ढकाल र अनुज थापा पनि यस पटकको साधरण सभामा सहभागी भएनन् । पूर्वअध्यक्ष तथा पराजित उम्मेदवारका धेरै समर्थकहरुले पनि सभा ‘इग्नोर’ गरे । पूर्वअध्यक्षहरुलाई ‘देखाइदिने’ भन्दै एक्लै हिडेका अध्यक्ष न्यौपानेलाई दाँतमा ढुङ्गा त्यतिबेला लाग्यो, जतिबेला उनले बनाएका पाँचमध्ये तीन सल्लाहाकार पनि साधारण सभामा उपस्थित भइदिएनन् ।
नेजा अध्यक्ष भन्छन् कर छल्न नगद कारोवार
अमेरिकामा रहेका नेपालीका अधिकांश संस्थामा मुख्य समस्या छ– नेतृत्वमा पहुँच र आर्थिक अपारदर्शिता । यस्ता विकृतिको खबर स्वतन्त्र संप्रेषण गर्ने गैरआवासीय नेपाली पत्रकार हुन् । तर, तिनै पत्रकारको संस्था नेजा भने पछिल्लो कालमा नेतृत्व र आर्थिक अपारदर्शीको खबर बन्दै आएको छ । संस्थाको नेतृत्व पारदर्शि नभएकोमा सदस्यहरुले प्रश्न उठाइरहेका छन् । तर, नेजा अध्यक्ष विकास न्यौपानेको नजर भने पत्रकारको ‘इथिक’ र अमेरिकाको कानुनभन्दा ‘नाफा’को हिसाबमा मात्र परेको आरोप लागेको छ । हेर्नुहोस् यस्तो छ अनियमितताको तथ्य
आफूलाई लागेको आरोपमा झिल्ली हाल्न अध्यक्ष न्यौपानेले साधारणसभामा एउटा ‘हाइकु नाटक’ पनि रचना गरेको सहभागीहरु बताउँछन् । अनियमितताको ‘क्लियरेन्स’ दिन उनले रचेको नाटक ‘तँ कुटे झैँ गर्नु, म रोए झैँ गर्छु’ भन्ने उखानजस्तै थियो । तर, नाटकले दर्शकलाई भन्दा उनैतिर तीर हानेको छ ।
साधारण सभामा एक सदस्यले आम्दानी लुकाएको , नगद करोवार र नक्कली बीलको विषयमा प्रसङ्ग उठाए । जवाफमा अध्यक्ष न्यौपानेले कुनै आर्थिक अनियमितता नगरेको दाबी गरे । भने, ‘मैले दुई चार पैसा भए पनि संस्थामै बचत हुन्छ भनेर नगद कारोवार गरेको छु । यसले कर तिर्ने रकम त जोगियो नि ।’
अमेरिकामा कर छली गर्नु ठूलो अपराध हो । तर, नेजाको साधारणसभाको बन्द सत्रमा कर तिरिनँ भनेर ‘अपराध’ स्वीकारेका अध्यक्ष न्यौपानेलाई कसैले थप प्रश्न गरेन । को थिए त सभामा ? महत्वपूर्ण प्रश्न यो पनि उठेको छ । अमेरिकाकाको कानुनलाई नै चुनौति दिएका नेजा अध्यक्षले पारदर्शिता खोज्नेलाई झोलाबाट बील झिकेर देखाउने पनि बताए । हाइटेकको दुनियाँमा झोलामा बील, त्यो पनि मागेर हेर्नुपर्ने कुरामा नेपालमा लामो समय आर्थिक पत्रकारिता गरेर खारिएका कोषाध्यक्ष प्रभात भट्टराईले पनि साथ दिएका थिए । उनीहरुले चन्दादाताको नाम सार्वजनिक नगर्ने अडानसमेत राखेका थिए ।
सदस्य मात्र रहने बन्द सत्रमा सार्वजनिक गर्न नहुने ती चन्दादाता को हुनसक्छन् ? तिनीहरुसँग कसरी चन्दा लिइएको हुनसक्छ ? र, ती चन्दादाता पनि कर छल्नै चाहनेहरु हुन् त ? अनुत्तरित यी प्रश्नले छिटै निकास पाउनुपर्ने देखिएको छ । नगदमा लिइएको चन्दा ‘अन्तै’ खर्च भइसकेकाले अब नाम सार्जनीक गर्न अप्ठेरो भएको पो हो की ?
अनि स्रोत नखुल्ने वा खुलाउन नचाहने व्यक्ति सँग गोप्य रुपमा चन्दा लिएर पत्रकारको संस्था किन चलाउने ? समाजका विवादित व्यापारीको दानापानी खाएर पत्रकारिता हुन्छ ? पत्रकारका लागि पुरस्कार स्थापना गरिदिनेका विवादित प्रसंङ्गमा अब नेजा आवद्द पत्रकारले कुन मुखले समाचार लेख्ने ?
मागेको ‘अन्न’ नेजामा कहिलेसम्म ?
नेजाको बन्द शत्रमा साधरण सभाका कन्भेनर तथा क्षेत्रीय संयोजक शिव नेपालले प्रसङ्ग उठाए– मागेर कहिलेसम्म नेजाको साधरण सभा र अधिवेशन गर्ने ? यसै पटक साधरण सभाका लागि सहयोग माग्न जाँदा कतिपय ठाँउमा अप्ठेरो महशुश भएको अनुभव पनि उनले सुनाए । अर्का सदस्य सन्दीप बाबु चौधरीले ‘डिक्काउण्ड होटलका’ अवधारणा पनि निकाले। पत्रकारको कार्यक्रम गर्दा व्यापारी सँग सदैव चन्दा कै भर कहिले सम्म पर्ने, पत्रकारलाई नदिदा पनि नहुने दिदा पनि कहिले सम्म भन्नेको शंख्या शहरमा दिन दिनै बढेको छ भन्ने कुरा पनि अन्य केही सदस्यहरुले उठाए। यति गम्भीर विषयमा बन्द सत्रमा गम्भीर छलफल हुनुपर्ने थियो । तर, सुनियो मात्र अनि बेवास्ता गरियो ।
स्वतन्त्र निकाय स्वच्छ हुनुपर्छ भन्ने विषयको बेवास्ता गरेका नेजा कार्यसमिति र सभामा सहभागी सदस्यका अगाडि उभिएर अघिल्लै दिन एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले पनि ‘धारे हात’ लगाएका थिए । उद्घाटन सभाका अतिथि सुवेदीले अमेरिकामा पैसा दिएर समाचार लेखाउने र लिएर लेख्ने गरेको गम्भिर आरोप लगाए । यो भनाईमा मौन बसेका सहभागीहरुले नेपालको प्रस्तावमा पनि गम्भीर छलफल नगर्नु लज्जाजनक भएको एक सदस्यको भनाइ छ । उनले समाज टाइम्ससँग भने, ‘बन्द सत्रले नै सुवेदीको भनाईमा खेद प्रस्ताव पारित गर्नुपर्ने थियो तर मागेर संस्था चलाउन बन्द गरौँ भन्ने नेपालको प्रस्तावमासमेत बेवास्ता गरिनुले सहभागी कस्तो मनोविज्ञानमा थिए भन्ने खुलस्त पारेको छ ।’ यो घटनाले अर्को प्रश्न उठाएको छ–सायद अगुवाहरुलाई नै पोल खुल्ने पो भयो भन्ने डर थियो कि ?
आफ्नै हात जगन्नाथ
फरकमत राख्ने सदस्यहरुको अघोषित बहिस्कारपछि मनमौजीमा रहेका टेक्सासमा व्यापारीसमेत रहेका नेजा अध्यक्ष न्यौपानेलाई आफ्नो हात जगन्नाथ भयो । उनलाई पहिलो फाइदा गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए)सँग दुई हजार डलर मागेर स्थापित पुरस्कारमा भयो।
‘नेजा–एनआरएनए’ नामक पहिलो पुरस्कार गिरिश पोखेरेल र विजय घिमिरेलाई दिइएको छ । पोखरेल नेजाका संस्थापक अध्यक्ष तथा अहिले पनि सल्लाहाकार हुन् । नेजाका ६ पूर्व अध्यक्षमध्येमा यस पटक साधरण सभामा उपस्थित हुने उनी एक मात्र हुन् । नेजामा अहिले पोखरेल नबोल्दासम्म ‘पात’ पनि हल्लिँदैन भन्ने गरिएको छ । अर्का पुरस्कृत घिमिरे भने अध्यक्ष न्यौपानेको अनलाइन पत्रिकाको प्रधान सम्पादक तथा नेजाका अर्का सल्लाहाकार सञ्जय घिमिरेका दाजु हुन् ।
नेजाले स्थापना गरेको पुरस्कार कम्तिमा पनि कार्य समितिका र सल्लाहाकारहरुले नलिने भन्ने भद्र सहमति यसअघि नै भएको थियो । आफैँले खोलेको संस्था, आफैँ पदमा रहेको समयमा, आफैँलेस्थापना गरेको पुरस्कार लिने र दिनेबारे दुवैको विवेक शून्य भएको एक सदस्यले बताए । अग्रजलाई सम्मान गर्नु पर्छ। तर सम्मान र पुरस्कार फरक पनि हुन् । तर, अध्यक्ष न्यौपानेले ‘गुन तिरेको’को चर्चा छ । भलै पुरस्कार थाप्दै गर्दा पोखरेलले ‘मैले त अप्ठेरो मानेको हो । तर, छनौट समितिले दिएकोले लिएँ’ भन्दै पुरस्कार ग्रहण गरेको र बन्दसत्रका बेला रकम नलिने घोषणा गरेको बताइएको छ । घिमिरे भने पुरस्कारबारे मौन छन् ।
लेटरहेड काण्डः जानकारी भयो पास भयो कि भएन ?
सन् २०२१ मा भर्जिनियामा सम्पन्न अधिवेशनमा एउटा तात्तातो विषय उठ्यो– नेजाको लेटरहेड काण्ड । यो विषयले निर्वाचन समिकरण नै प्रभावित पारेको थियो । विषय थियो, सन् २०१८ मा सियाटलमा भएको अधिवेशनमा नेपालबाट अतिथि बोलउने क्रममा नेजाको लेटरहेड दुरुपयोग गर्दै असम्बन्धित व्यक्तिलाई पनि भिषाका लागि पत्र पठाइएको भन्नेबारे । यो विषय तत्कालिन कार्यबाहक तथा हालका अध्यक्ष न्यौपानेले उठाएका थिए ।
अधिवेशनमा प्रमुख अतिथि भएर आएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई काठमाडौं स्थित अमेरिकी दुतावासका कर्मचारीले भनेको हवाला दिँदै न्यौपानेले विषय उठाएका थिए । यो गम्भीर विषयमा बन्दसत्रले तारा बरालको संयोजकत्वमा छानबिन समिति बनायो । दश महिना लगाएर पठाइएको प्रतिवेदन ‘कर्मकाण्डी’ मात्र रहेको भन्दै क्यालिफोर्निया साधारणसभाको बन्द सत्रमा सदस्य ईश्वरी न्यौपाने प्रश्न उठाएका थिए । उनको भनाइ थियो, ‘छानबिन अपूर्ण छ, हामीलाई जानकारी भयो तर स्वामित्व लिन सकिँदैन ।’ तर, आरोपितलाई चोख्याउने नियतको प्रतिवेदनबारे बन्द सत्रमा अलमलाएर विषयान्तर गरिएको अर्का एक सहभागीले बताए । ती सहभागीले समाज टाइम्ससँग भने, ‘छानबिन समितिका कोही थिएनन्, पदाधिकारीले यो विषयमा जवाफ नै दिनतर्फभन्दा विषयान्तरतिर लागेर गुपचुप भए ।’
यो प्रकरणमा महासंघका अध्यक्ष पोखरेल गलत छन्, नेजा अध्यक्ष न्यौपाने वा तत्कालिन पदाधिकारी मध्ये एक जना गलत हुनु पर्ने हो । तर प्रतिवेदन सबै कुरामा मौन छ।
याक एण्ड यतिमा जन्मेको एनआरएनए आइसीसीलाई नेजाको मान्यता ?
जगजायर छ, गैरआवासीय नेपाली संघ अहिले केन्द्रदेखि नै चिरिएको छ । पूर्व अध्यक्ष शेष घलेले काठमाडौंको याक एण्ड यति होटलमा विनोद कुँवरको अध्यक्षतामा एनआरएनए आइसीसी समिति बनाएका थिए । त्यो समितिको सचिव हुन् कलिङ काठमाडौ अभियानमा रहेका पत्रकार कृष्ण केसी । यो समितिलाई नेपाल सरकारले भने मान्यता दिएको छैन । तर नेजाले कुँवर नेतृत्वको समितिलाई मान्यता दियो । सो समितिका सचिव केसीलाई नेजाले साधारण सभा उद्घाटनमा एनआरएनए आइसीसीको सचिव भनेर बक्ता बनाएको थियो ।
यता, सरकारले आधिकारिक मान्यता दिएको आइसीसीका एक अध्यक्ष, दुई महासचिव र तीन सचिव अमेरिकामै छन् । उनीहरु कोही पनि नेजाको साधारणसभामा देखिएनन् ।
कलिङ काठमाडौं भन्दै याक एण्ड यति होटलमा भाषण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी पनि पुगेका थिए । अन्तिम अवस्थामा घलेलाई छोडेर हिमालयन होटलमा बुर्कुसी मारेका थिए सुवेदी । तर, तिनै सुवेदीले घलेले बनाएको एनआरएनए आइसीसी समितिको सचिवका हैसियतमा नेजाको साधारण सभामा केसीसँग मञ्च शेयर गरे ।
पत्रकारले सबैलई समान व्यवहार गरे कि त भन्न सकिने अवस्था पनि नेजाले राखेन । उद्घाटन समारोहमा बुद्धि सुवेदी नेतृत्वको एआरएनए अमेरिका समिति अवैधानिक भन्दै बनाइएको अर्को समितिका उपाध्यक्ष पूर्ण बानियाँ पनि सहभागी भएका थिए । तर, बानियाँलाई सामाजिक अभियान्ता मात्र भनियो । अहिले नेजा सदस्यहरुले प्रश्न गरेका छन्, ‘कुनै पनि संस्थालई आधिकारिकता दिने पत्रकारको संस्था हो र ?’
उद्घाटन समारोह एनआरएनए अमेरिकाको कब्जामा
अघिल्लो वर्ष नेजाको चुनावी साधारण सभामा अतिथि भएर भर्जिनिया पुगेका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको दौडधुप चाख लग्दै थियो । त्यतिबेला पत्रकारमाझ कुरा सुनिएको थियो, ‘छेऊका होटलमा बसेर स्वतन्त्र संस्थामा हस्तक्षेप नगर, सक्छौ भने मैदानमा आऊ ।’ यसो भनिरहनेहरु पछि तिनै ‘छेउका होटल’बाट निर्देशित भएकाले नेजाको अहिलेको ‘टिम’ बनेका थियो । उतिबेला ‘छेउका होटल’ भएका सुवेदी यसपालीको साधारणसभामा अतिथि हुन् कि आयोजक भन्ने भ्रम हुने गरि सक्रिय बने ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी तीन उपाध्यक्ष, सचिव, क्षेत्रिय संयोजक, च्याप्टर सभापति लगायतको दलबलसहित नेजाका सदस्य पुग्नुअघि नै क्यालिफोर्निया पुगे । साधरण सभा भव्यरुपमा सफल पारौ भन्दै अघिल्लै दिनदेखि प्रचारमासमेत थिए । जुलाई पहिलो साता नर्थ क्यारोलिनामा भएको एनआरएनए अमेरिकाको साधारण सभामासमेत सायदै उनी त्यत्ति सक्रिय भएका हुँदा हुन् । तर, नर्थ क्यारोलिनामा एनआरएनएको साधारण सभामा मान्छे जुटाउन हम्मे हम्मे परेको बेला नेजाका अध्यक्ष न्यौपाने भने अनुपस्थित थिए ।
नेजा साधारण सभामा सुवेदीका दलबल सबैले बोल्ने मौका पाए । एनआरएनए पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा भने स्रोता मात्र भएर फर्किए । उनी लामो समयदेखि नेजाको सदस्यसमेत छन् । क्यालिफोर्नियामा सामाजिक क्षेत्रमा उनको राम्रै छवी छ । तर, सामाजिक क्षेत्रमा उनी भन्दा कम हैसियतकालाई पनि नेजाले माइक दिएर पट्यारलाग्दो भाषण सुनाइरह्यो ।
केक काटेर फर्किए उपाध्यक्ष
नेजा सदस्यभन्दा अगाडि नै लस्कर लागेको एनआरएनएको टोलीका मुख्य पात्रमा उपाध्यक्ष सुमन थापा पनि थिए । टेक्सासबाट लमो दुरी छिचोल्दै क्यालिफोर्निया पुगेका थापाले नेजा सदस्य र एनआरएनए पदाधिकारीसँगै केक काटेर जन्मदिन पनि मनाए । तर साधरण सभाको उद्घाटन नहुँदै उनी टेक्सास फर्किए ।
प्राप्त जानकारी अनुसार उल्टो सूचनाका कारण थापाले नेजाको आसन ग्रहण र भाषणको अवसर मिस गरेका हुन् । भएको के रहेछ भने, उनलाई जुलाई २३ को विहान नेजाको साधरण सभा उद्घाटन हुने खबर रहेछ । त्यही अनुसार घरमा पनि बर्थडे पार्टीका लागि पाहुना बोलाएर टेक्सास हिडेछन् । तर, उद्घाटन सुरु हुने र घरको कार्यक्रम एउटै समयमा परेपछि उनी शनिवार विहानै टेक्सास फर्किएछन् ।
थापाका लेखापढी सहायकमा नेजाकै एक पदाधिकारी अहिले क्रियाशिल छन्। आफ्नै कार्यक्रमको सूचना मालिक सामु ती लेखनदासले कसरी पुर्याए भनेर पनि अहिले ठट्टा हुने गरेको छ।
दुई दिने सभामा एक दिन ‘वाइनबारी’
व्यानरमा नेजाको दुई दिने साधारण सभा भनिएको छ । तर, शनिवार नै उद्घाटन र बन्द सत्र सकेर फुर्सदिल भएका सभामा सहभागी पत्रकारले एक दिन पुरै एनआरएनए पादधिकारीसँग घुमेर विताए । उनीहरु आइतवार संयुक्त रुपमा क्याल्फिोर्नियास्थित वाइन बनाउने अंगुरबारी घुमेर साधरण सभाको मैजारो गरेका थिए । एक सदस्यले हाँसो गरे, ‘साधरण सभाको उपल्ब्धी यो पो हो त, कम्तिमा वाइन बनाउने अंगुर कस्तो हुन्छ भन्ने त प्रत्यक्ष देखियो ।’ त्यो पनि एनआरएनएका पदाधिकारी सँग ।