१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप शनिवार अमेरिकामा हुदै
मिचिगन । १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) शनिवार अमेरिकामा आयोजना हुदैछ।
मिचिगनको एप्सीलान्टी सिटीमा हुने च्याम्पियनसिपका लागि सहभागि हुने खेलाडी तथा अफिसियल प्रतियोगिता स्थल आइपुगिसकेको स्थानीय इभेन्ट म्यानेजर अमूल गोर्खालीले बताए ।
इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको अघिल्लो दिन रेफ्रि बैठक सम्पन्न भएको छ। यसै गरि सहभागि खेलाडीको वेट लिने र ट्राइसिट ड्र पनि शुक्रवार गरिएको छ।

प्रतियोगिताका संयोजक लव गोर्खालीका अनुसार शनिवार दिनभरी हुने च्याम्पियनसिपका खेलहरु पाँचवटा म्याटमा खेलाइने छ।
स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडीले भाग लिदै छन्।
च्याम्पियनसिपमा अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। अमेरिका भित्र पनि विभिन्न ११ राज्यका खेलाडी मिचिगन आएका छन्।
च्याम्पियनसिप जुनियर र सिनियर दुबै तर्फ विभिन्न तौल समुहमा हुने छ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।


















