ग्रामिण सडक निर्माणमा समर्पित थापा रहेनन् ।
काठमाण्डौं । पूर्वी पहाडका कयौं भित्ता फोडेर जनजीवनलाई सहज बनाउन ग्रामिण सडक निर्माण गर्ने जस्तो महान कार्यमा विगत लामो समयदेखि अनवरत रूपमा लागेका एक हस्तीको शनिबार निधन भएको छ ।
दूरदराजका गॅाउबस्तीलाई सडक संजालले जोड्ने राज्यको सोचअनुरूप हाल खोटांगलाई कार्यक्षेत्रको रूपमा तयगरेर अगाडि बढिरहेका विनोदकुमार थापाको आज विहान खोटाङको हलेसीमा अचानक मृत्यु भएको छ ।
एक साता पहिलासम्म उनको स्वास्थ्य अवस्था सामान्य रहेकोमा पॉच दिनअघिबाट देखिएको ज्वरो नियन्त्रणभन्दा बाहिर जादा मृत्यु भएको हुनसक्ने बताइएको छ ।
खोटाङ जिल्लाको छितापोखरीमा वि.सं.२०२३ सालमा जन्मिएका थापा पूर्वी नेपालको धनकुटा, भोजपुर, संखुवासभा, ओखलढुंगा, खोटाङ, उदयपुर लगायतका जिल्लामा सडक निर्माण सम्बन्धी कार्यमा सक्रिय रहदै आएका थिए ।
ग्रामिण भेगमा सडक, पुल लगायत विभिन्न खालका विकास निर्माण सम्बन्धी आयोजनामा आफूले पाएको जिम्मेवारी पुरागर्न जस्तैसुकै कठिन अवस्थामा समेत अविचलित ढंगबाट लागिपरिरहने ५५ वर्षिय विनोदकुमार थापाको स्थानीय स्तरमा सडक बनाउने कार्यदेखि राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणमा समेत योगदान रहेको बरिष्ठ इन्जिनियर राजेश गौतमले बताए ।
सडक विभागको लक्ष्य र योजनामुताविक आफूले पाएको निर्माण सम्बन्धीका कुनैपनि ठेक्कापट्टा जिम्मेवारीवहनका साथ तोकिएको समयमै सम्पन्न गर्न सधै दृढ रहने एक कर्तव्यनिष्ठ ठेकेदारको निधनबाट आफूहरूले असल साथी गुमाउनुपर्दा आफूहरू अत्यन्तै मर्माहित र स्तब्द भएको कुरा निर्माण व्यावसायीहरूले उल्लेख गरेका छन् ।
हाल मोरंगको उर्लाबारीमा बस्दै आएका थापाका दुई छोरा, छोरी र श्रीमती छन् । उनका जेठा छोरा महेश थापा गीतसंगित क्षेत्रमा सक्रिय स्थापित गायक समेत हुन ।