खाल्डोमा गाडिएको अवस्थामा महिलाको शव फेला
इलाम । इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलिया सहित जाहेरी गरेको थियो ।
परिवारको जाहेरीको आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौ ।’
करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु
मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योगमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । क्रसर उद्योगमा गिट्टी र बालुवा धुने पानी तान्नलाई मोटर चलाउने क्रममा करेन्ट लाग्दा केराबारी–८ का २३ वर्षीय टंक लिम्बूको मृत्यु भएको हो ।
लिम्बू सोही क्रसरका कार्यरत रहेका थिए । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लैजाने क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रसरको लापरबाहीका कारण लिम्बूको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
आफन्तले मृतकका छोरीलाई भरणपोषण तथा पठनपाठनको व्यवस्था गरिनुपर्ने, परिवारलाई किरिया खर्च र उचित क्षतिपूर्ति दिनुपर्ने तथा लापरवाहिपूर्ण तरिकाले सञ्चालन गरिएको क्रसर उद्योगमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर शव बुझ्न मानिरहेका छैनन् ।