एनआरएनए अमेरिका विवाद : “समस्या होइन, समाधान वन्न म विनम्र आग्रह गर्दछु” : गौरी जोशी, महासचिव
ल्यानक्यास्टर। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय कमिटि (आइसीसी)का महासचिव गौरी राज जोशीले अमेरिकामा देखिएको पछिल्लो विवाद आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनु पर्नेमा जोड दिएका छन्।
एनआरएनए अकेरिकामा अहिले जवरजस्त नयाँ विवादले प्रवेस पाएको छ। शुल्क नतिरेको भन्दै आइसीसीको महाधिवेशन अगाडिको एक निर्णयलाई टेकेर अमेरिकाज क्षेत्रीय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा नयाँ तदर्थ कमिटी गठनका लागि सिफारिस गरेका छन्।
कृष्ण लामिछाने तिनै व्यक्ति हुन जो गत वर्ष भएको एनआरएनए अमेरिकाको निर्वाचनमा बुद्दि सुवेदी सँग पराजित भएका थिए। सापकोटाको कदम प्रति आइसीसीको तर्फबाट औंपचारिक रुपमा प्रतक्रिया दिने महासचिव जोशी पहिलो व्यक्ति हुन् । जोशी आफै अमेरिकाका बासिन्दा हुन्।
महाधिवेशन पछि आइसीसीको पहिलो बैठक अप्रिल ३० तारिकमा बस्दै छ। गतराति विज्ञप्ति जारी गर्दै जोशीले भनेका छन्,” अहिले अमेरिकाको विवादपनि आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सवैलाई लचिलो भई सहमतीमा अगाडी वढ्न म अपिल गर्दछु ।”
“एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ हुन्” भन्दै जोशीले,”एनसीसी सम्वद्ध देशको नियम कानुन अनुसार स्थापना भएपनि आईसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने पनि हामीले स्विकारेको सहमति हो ।” भनेका छन्।
उनले समास्या बल्झाउन भन्दा पनि समाधान खोज्न आग्रह गरेका छन्।,” म अमेरिका लगायत विश्वभरका सवै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई वुझेर समस्या होइन, समाधान वन्न म विनम्र आग्रह गर्दछु ।”
जोशीको विज्ञप्तिको पूर्णपाठ
हार्दिक अपिल
गैर आवासिय नेपाली संघ (एनआरएनए) अप्ठ्यारो अवस्थावाट पार पाउने क्रममा छ । एक जुट भएर जांदामात्र एनआरएनए अभियान प्रभावकारी हुन सक्छ भनेरै सहमतिमा नेतृत्व चयन भएको हो । यसमा थुप्रै आलोचना पनि भएका छन् । यो स्वभाविक पनि हो । नयां परिस्थितिमा वनेको आईसीसी नेतृत्व संयमित भएर एनआरएनए अभियानलाई कसरी अझ प्रभावकारी बनाएर लैजान सकिन्छ यसमा लागिपरेको छ ।
नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले सरकार विदेशमा वस्ने नेपालीसंग सहयोगका लागि विभिन्न पहल गरिरहेको अवस्था छ । देशको संकटमा विदेशमा वस्ने नेपालीले सहयोगलाई कसरी परिचालन गर्ने चुनौती हामीसंग छ । यसवाहेक नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारमा जानेलाई सम्मान र सहुलियत, हामीलाई नेपालमा लगानी लैजादाका अप्ठ्याराहरु हटाउनु पर्ने जस्ता मुद्दाहरुलाई प्रथामिकता दिएर उठाउनु पर्ने अवस्था छ ।
यो अवस्थामा एनआरएनए अमेरिकामा नयां परिस्थिति सृजना भएको छ । एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ हुन् । एनसीसी सम्वद्ध देशको नियम कानुन अनुसार स्थापना भएपनि आईसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने पनि हामीले स्विकारेको सहमति हो । अहिले अमेरिकाको विवादपनि आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सवैलाई लचिलो भई सहमतीमा अगाडी वढ्न म अपिल गर्दछु ।
म अमेरिका लगायत विश्वभरका सवै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई वुझेर समस्या होइन, समाधान वन्न म विनम्र आग्रह गर्दछु ।
गौरीराज जोशी
महासचिव
एनआरएनए