एनआरएनहरु सुध्रिदैनन कहिल्यै : लेखनाथ गौतम
लेखनाथ गौतम।
टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा यतिबेला जात्रा चलेको छ। हुन त यो संस्थाबाट नेपाली समुदायले केहि आशा गर्नु भनेको गोरु ब्याउने प्रतिक्षा गरे जस्तै हो। तैपनि लज्जास्पद तरिकाले काम हुँदै गर्दै केहि लेख्नै पर्यो, बोल्ने पर्यो। मैले यो लेखेर यहाँ परिवर्तन होला वा उनीहरुले आफ्ना गलत कर्महरु सच्च्याउलान भने आशा छैन। यो गलत परम्परा धेरै पहिल्यै देखि शुरु भएको हो। यो अझ तिब्र गतिमा जारी रहनेछ। यसको स्खलन अझै तिब्र हुनेछ।
मैले केहि समय देखि यसको उपादेयता समाप्त भएको निष्कर्ष निकालेको छु। यसको उपादेयता किन समाप्त भयो भन्ने कुराको एउटै वाक्यमा उत्तर दिंदा यो संस्था हाँक्नेहरुको क्षमता र संस्थाको आकारमा तालमेल पूर्ण रुपमा क्षतबिक्षत हुनु हो। यसमा लागेका मान्छेहरुको काम गर्ने शैली र यो संस्थाको स्थापनाको उद्धेश्यमा नजर लगाउने हो भने यो निर्णयमा पुग्न धेरै दिमाग खियाउनु पर्दैन। यो अब काम छैन।
किन यस्तो भयो त ?
सबैभन्दा पहिला संस्थाको उद्देस्य अनुरुपको संरचना निर्माण गरिएन। संस्था संचालन गर्न संचालकहरुमा जति भिजन र योजना चाहिन्छ त्यति कार्यान्वयनमा इमान्दारिता आवस्यक पर्छ जुन यो संस्थामा सधै खडेरी नै रह्यो। रसियन ओलिगार्कहरुको गर्भबाट जन्मेको यो संस्था कहिल्यै पनि उनीहरुको पन्जाबाट बाहिर निस्किन सकेन। संस्थापक वा संरक्षकको नाममा एनआरएनलाइ केहि सिमित धनी व्यक्तिहरुको खल्तीमा सिमित गर्न हर प्रयत्नहरु भए। यसलाई स्वतन्त्र संस्थाको रुपमा बिकसित गर्ने इमान्दार प्रयत्न कहिल्यै भएन।
यसलाई स्वतन्त्र बनाउन मात्र प्रयत्न नगरिएको होइन, सबल बनाउन पनि कुनै प्रयत्न गरिएन। बरु धनीहरुको चलखेल गर्ने क्लबको रुपमा परिणत गर्दै लगियो। नक्कली सदस्य बनाएर होस् वा पैसा तिरेर सदस्य बनाएर होस्, निर्बाचन जित्ने हतियारको रुपमा संस्थाको आधार विस्तारलाई दुरुपयोग गरियो। संस्थामा सक्रिय रुपमा यसको बिकासमा योगदान गर्न सक्ने भन्दा आफ्नो लागि भोट हाल्ने कठपुतलीहरुको जमात तयार गरियो।
कुनै पनि संस्था बलियो बनाउन बलियो विधान र त्यसलाई इमान्दरिता पूर्वक पालन गर्ने व्यक्तिहरु आबस्यक पर्छ। तर एनआरएनमा विधान कमजोर तर व्यक्ति बलियो बनाउने कामहरु लगातार गरियो। आइसीसी र एनसीसीबीच संधै कार्यक्षेत्रको विवाद कायम राखियो। विधानमा देखिएका त्रुटीहरु सच्च्याउदै जानु पर्नेमा विधानको प्रयोग मात्र होइन सुधार पनि आफ्नो अनुकुलता वा प्रतिकूलताको कसीमा राखेर गर्ने गरियो। संस्था भन्दा व्यक्ति हावी गराइयो। व्यक्तिको चित्त बुझाउन पद सृजना गर्ने र बांडफांड गर्ने भद्दा तरिकाहरु अपनाइयो।
एनआरएन एनसीसी अमेरिका शुरुका केहि बर्ष शान्त रह्यो। २०१५ देखि यसमा बिबादको शुरुवात भयो। नक्कली सदस्य निर्माण गरी चुनाव जित्ने र संस्था कब्जा गर्ने रणनीति अख्तियार गरियो। संस्था पेन ड्राइभ वा झोलामा बोकेर हिड्ने गरियो। मुद्दा मुखी हुनुपर्ने संस्था चुनाव मुखी भयो। साम, दाम, दण्ड, भेद गरेर पनि चुनाव जित्नै पर्ने मानसिकताको विकास भयो। त्यसको लागि नेपालका पार्टीहरु, नेपालका नेताहरुको प्रयोग गरियो।
संस्थाको आधारभूत संरचना निर्माण, विधान निर्माण, परिवर्तित परिस्थिति अनुरुपका मुद्दाहरुको पहिचान जस्ता कुराहरुमा कुनै दिन छलफल भएन। सम्मेलन वा अधिवेशनको बेलामा पनि मदिरा पिउने र एक अर्का माथि रिसइबी साँध्ने अबसरको रुपमा प्रयोग गरियो। नितान्त ब्यक्तिगत महत्वाकांक्षा र कुण्ठा शान्त पार्ने संस्थालाई बन्दि बनाइयो। संस्थालाई आफ्नै औंठामा नचाउन मनोनयन र आर्थिक गतिबिधि जस्ता कुराहरुमा पनि सिन्डिकेट प्रथा लागु गरियो।
अहिलेको अवस्था
यतिबेला फेरी नयाँ फण्डा शुरु गरिएको छ। पराजित व्यक्तिको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको प्रचार गरिएको छ। जुन विधान विपरित मात्र होइन लाजमर्दो पनि छ। अस्ति भर्खर हारेका व्यक्तिहरु फेरी कोठे बैठकबाट अध्यक्ष चुनिनु आफैमा खराब काम हो। पराजित व्यक्तिहरु थान्का लागेर संस्थाको हितमा सक्रिय हुनुपर्नेमा पदको लागि मरिहत्ते गर्दै अर्को समिति गठन गर्नु उपहासयोग्य छ। यसले समाजमा मुख देखाउन लाज मान्नु पर्ने अवस्था भएका एनआरएनका अगुवाहरुलाई यसको सदस्य हुँ भन्न पनि लाज मान्नु पर्ने अबस्थामा पुर्याइदिएको छ। यी कुनै मान्छे सुध्रिदैनन भन्ने अब पक्का भएको छ।
अर्को तिर वर्तमान अध्यक्ष पनि असफल भएका छन्। उनले यस बिचमा गरेका काम र गतिविधिहरु एउटा गुटको पक्षपोशण गर्ने खालका भए। उनले आइसीसीसंगको सम्वन्ध बलियो पार्न सकेनन। आइसीसीलाई तिर्नु पर्ने शुल्क नतिरेर अटेरी गरिरहे। समस्यामा गम्भीर छलफल नगर्ने, गुटलाई प्राथमिकता दिने जस्ता कामले एनआरएन अमेरिका कोमामा पुर्याउन भूमिका खेले। यसले एनआरएन अमेरिका फेरी उठ्ने गाह्रो हुने गरी लडेको छ। अब यसलाई भगवानले पनि बचाउन गाह्रो छ।
त्यसो त यहि रुपमा यसलाई बचाउन जरुरी पनि छैन। काले काले मिलेर खाउँ भाले भएको यो संस्थामा काले काले नै नमिले पछि कसरी भुँडी भर्लान ? आम नेपाली समुदायलाई त यो कुकुर ब्याउनु र तुहुनुमा फरक नभए जस्तै हो किन भने यिनै मानिसहरुको हातमा संस्था रह्यो भने यसले नेपाली समाजलाई केहि दिंदैन। दिन्छ त खालि गालि गर्न उर्जा खर्च गर्नु पर्ने बाध्यता !
अब हामी सबै नेपालीहरु नयाँ एनआरएन निर्माणमा लागौं। यी सबै पक्षहरुलाई समाजमा अनुमोदन नगरौ। यिनलाई स्थानीय संस्थाहरुमा पहिचान( रिकग्नाइज) नगरौं। खादा ओढाउने, एनआरएनको पदिय हैसियतमा निम्ता गर्न बन्द गरौँ। यहि अबस्थाको एनआरएन नेपाली समुदायको लागि विषबृक्ष साबित भएको छ। विषबृक्ष नभएकै राम्रो।
अस्तु :