नर्थ क्यारोलिनामा नेपाल परेड डे सम्पन्न
कृष्णराज खनाल
नर्थ क्यारोलिना, अमेरिका । नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार नेपाल परेड डे सम्पन्न भएको छ । नर्थ क्यारोलिनामा नेपाल डे परेड गरिएको यो छैटौँ संस्करण हो ।
त्यस अवसरमा नेपाललाई चिनाउने साँस्कृतिक झलक, नेपाली चर्चित लोक गीत र संगीत, पर्चा पम्प्लेट, नेपाली स्टल र मनोरञ्जनका विभिन्न साधनहरुले ससाना बालबालिकादेखि बृद्धबृद्धासम्म रमेका देखिन्थे । सो अवसरमा नेपाली नयाँ वर्ष २०७९ को पनि शुभकामना आदानप्रदान गरिएको थियो ।
नेपालीहरुको बाक्लो वस्ती रहेको मोरिसभिलमा शनिवार बिहान ११ बजेदेखि साँझ चार बजेसम्म सञ्चालन भएको सो परेडमा करिब चार सय नेपालीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अमेरिकाका स्थानीय प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
नर्थ क्यारोलिनास्थित नेपालीहरुको संस्था एनसीएनसी (नेपलिज कमिटी अफ नर्थ क्यारोलिना) को आयोजनामा सम्पन्न सो कार्यक्रममा स्थानीय प्रतिनिधिहरुले नेपालको बारेमा आफूले धेरै कुरा सुनेको र कुनै दिन नेपाल जान मन लागेको बताउँदै नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र अमेरिकाबीच आपसी सम्बन्ध अझ प्रगाढ हुने कुरामा प्रकाश पार्नुभएको थियो ।
त्यस अवसरमा मोरिसभिलका पूर्व नगरप्रमुख मार्क स्टोल्ह्याम, वेक काउन्टीका कमिस्नर सिग हुचिन्सन, नर्थ क्यारोलिनाका सिनेटर विली निकेल, नर्थ क्यारोलिनाका स्टेट सेक्रेटरी इलेन मार्शल र मोरिसभिलका काउन्सिलम्यान स्टिभ राओ आदि वक्ताहरुले नयाँ वर्षको शुभकामना समेत दिँदै कार्यक्रम आयोजना गरेकोमा एनसीएनसीलाई धन्यवाद दिनुभएको थियो ।
आजको परेडमा सहभागिताका लागि आउनुभएका एनआरएनका केन्द्रीय महासचिव डा. केशव पौडेलले यस्ता सांस्कृतिक कार्यक्रमले नेपालसँग जोडिन र यसको प्रवर्धन गर्न सहयोग मिल्ने कुराको जानकारी दिनुभयो । त्यस्तै, एनआरएन अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले एनआरएनको उद्धेश्य पनि नेपाली संस्कृतिको वृद्धि नै हो र यस्ता कार्यक्रमलाई सबैले प्रवर्धन गर्नुपर्छ भन्नुभयो । उहाँले डलरको तरलता घटेकोले नेपालमा डलर खाता खोलेर नेपाल सरकारलाई सहयोग गर्नुपर्ने खाँचो पनि औँल्याउनुभयो । त्यस्तै, एनआरएनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले पनि परेड डेको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाल परेड डेको बारेमा संक्षिप्त चर्चा गर्र्र्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली राजदूतावासका उपप्रमुख कुमारराज खरेलले नेपाल विविध कुराले अग्रणी रहेको बताउनुभयो । उहाँले नेपाल विभिन्न जातजाति, भाषाभाषी र विविधि सांस्कृतिक सम्पदाले धनी रहेको कुराको जानकारी दिनुभएको थियो । कार्यक्रममा कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिटीले आरटीपी क्षेत्रमा ठूलो योगदान दिएको छ भन्नुभयो । उहाँले नर्थ क्यारोलिनामा करिब सात हजार नेपाली रहेको जानकारी पनि दिनुभयो ।
सो अवसरमा सगरमाथा आरोही पत्रकार आङ छिरिङ शेर्पाले सगरमाथा आरोहणको अनुभव सुनाउँदै यो जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण हो भन्नुभयो । यस्तै, युवा नेतृ दिया मूलले पनि आफ्नो मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा कृष्ण नेपाल र सुजन न्यौपानेलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा एनसीएनसीका अध्यक्ष आरपी (रामप्रसाद) पौडेलले कोरोनाका कारण विगत दुइ वर्ष गर्न नसकिएको जानकारी दिँदै यसपटक विगतको भन्दा राम्रो भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले मोरिसभिलमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको मात्र होइन, यसले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो । उहाँले यस्ता साँस्कृतिक कार्यक्रम हाम्रो पहिचान हो भन्नुभयो ।
तृप्ति स्वाँर र योगेन्द्र गौतमले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान बजाइएको थियो ।