एनआरएनएलाई मात्र होइन नेपाल भित्रने सबै पर्यटकलाई फ्री भिषाबारे छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा
ल्यानक्यास्टर । अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीका मात्र नभइ नेपाल भित्रने सबै पर्यटकका लागि भिषा शुल्क नलिनेबारेमा छलफल भइरहेको बनाएका छन् ।
नेपालमा डलर खाता खोल्न एनआरएनएहरुलाई दिइएका सुविधाबारे आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले भिषा निशुल्कबारेमा बताएका हुन् ।
कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिदै मन्त्री शर्माले भने, “फ्रिभिषाको कुरा छ तपाईहरु (एनआरएनए)लाई मात्र होइन की नेपाल आउने पर्यटकहरु सबैलाई फ्रिभिषा दिने की अवथा कति सहुलियत दिने भन्नेमा हामी छलफल गर्दै छौं, केही दिन पछि हामी निर्णय गर्दैछौ त्यसमा तपाईहरुलाई दिन हामीलाई के आपत्ति छ र ? निर्णय भएको छैन दिन सक्छौं ।”
सहभागिले आफ्नै जन्मभूमिमा जाँदा भिषा शुल्क तिर्नु पर्ने प्रावधान बारेमा गुनासो गरेका थिए ।
मन्त्री शर्माले एनआरएनएहरुका लागि सेयर लगानीमा पनि आइपिओ छुट्टाउने बारेमा छलफल भइरहेको बताए ।
मन्त्री शर्माले एनआरएनएको लगानी सुरक्षित हुने दावी पनि गरे। “भविश्यमा कुनै ऐन कानुन परिवर्तन भएर हाम्रो लागानी के हुन्छ भन्ने लागेको होला त्यस्तो सोच्न पार्दैन तपाईहरु ढुक्क हुनुस ।” मन्त्री शर्माले भने ।
शर्माले विश्वभरी एनआरएनएलाई ढुक्क भएर नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गर्न पनि आग्रह गरे। मन्त्री शर्माले नेपालको ढुकुटी रित्तिएर एनआरएनए सँग डलर मागिएको भन्ने अर्थमा कुरा नबुझ्न पनि आग्रह गरे ।
“यो डलर खाताको प्रसंङ्ग रुस र युक्रेनको युद्द हुन्छ र तेलको मूल्य बृद्दि हुन्छ भनेर गरिएको थिएन, यो यहाँहरुलाई सुविधा उपलब्ध गराउने, यहाँहरुको हकलाई संरक्षित गर्ने, त्यहाँ बचतमा रहेको पैसा, निष्क्रिय पैसा, नेपालमा लगानी गरेर यहाँहरुलाई नै फाइदा गरिदिने उद्देश्यले रुस युक्रेन युद्द हुन अगाडि नै हामीले शुरु गरेका हौं।” शर्माले भने ।
मन्त्री शर्माले ६ महिनाका लागि पुग्ने विदेश मुद्रा नेपालमा रहेको बताए । “राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ । अहिले पेट्रोलको मूल्यबृद्दि हुदाँ महिनामा हजारौ डलर बाहिर पठाउन परेको छ त्यसमा सहयोग हुन्छ भन्ने हो, तपाइहरुको डलरले नेपालमा लगानी गर्न हुन्छ भनेर योजना ल्याएका हौं।”
मन्त्री शर्माले अब विदेशबाट नै खाता खोल्न कुनै झनझट नहुने बताए। उनले भोलिका दिनमा आफ्नो रकम जुनसुकै समयमा पनि फिर्ता लैनान मिल्ने गरि कानुन बनाइएको बताए।
मन्त्री शर्माले एक लाख‘एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिन विश्वास आफुहरुले लिएको बताए । उनले एनआरएनएको दश अर्ब परियोजनालाई ५० अर्ब पुर्याउन आग्रह गरे । त्यसो भएमा सरकारले पनि बीस प्रतिशत सम्म लगानी गर्ने बताए ।
यस्तै मन्त्री शर्माले आफुबसेको देशमा नेपाली उत्पादनको विक्रिवितरणमा पनि सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा अर्थ सचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंककी कायममुकाम गभर्नर डा नीलम ढुंगानाले नेपालमा डलर खाता खोल्दा कुनै झन्झट नहुने गरि व्यवस्था मिलाइएको र लागनीका लागि ढुक्क हुन आग्रह गरे ।
यस्तै एनआरएनएका अध्यक्ष कुल आचार्यले सबै एनआरएनलाई सरकारले दिएको अवसरको सदुपयोग गर्न आग्रह गरे । आचार्यले सरकारले विदेशमा रहेका नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएको भन्दै आभार व्यक्त गरे ।
उनले गैरआवासीय नेपाली नागरिकताका लागि छिटो व्यवस्था गरिदिन पनि आग्रह गरे। कार्यक्रममा
संघका अन्य दुई अध्यक्ष रबिना थापा र डा बद्री केसीले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न बैकका प्रतिनिधिहरुले डलर खाता खोल्दा कुनै झन्झट नहुने, राम्रो व्याज पाइन, अनलाइनबाट सबै काम हुने बारेमा आश्वस्त पारेका थिए ।