एनआरएनए निर्वाचन : संस्थापन पक्षमा योग्य मतदाता तीन हजार ९८ मात्र
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षको २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।
संस्थापन पक्षको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो ।
करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।
संस्थापन पक्षले गर्न लागेको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदैछ ।
संस्थापन पक्षको चुनावलाई चुनौति दिदै अर्को पक्षले पनि छुट्टै निर्वाचनको तयारी गरेको छ । त्यसको नेतृत्व प्रमुख संरक्षक शेष घलेले गरेका छन् ।