विभिन्न देशका पैसासहित विदेश उड्न लागेका दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ
काठमाडौं । विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।
नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवर्त्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा (Declaration) गरेर मात्र भित्र्याउनु पर्छ ।