उच्च स्तरिय समिति नै अनिर्णित,बदनाम हुदै एनआरएनए
समाचार टिप्पणी
अमेरिका । ‘कुनै समय थियो गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी नेपाल पुग्दा सरकार प्रमुख देखि पार्टी नेताले समय छुट्याउथे । तर जमाना फेरिएको छ अहिले एनआरएनएका पदाधिकारी नेपाल जाँदा प्रहरीले पक्राउ गर्ला की भन्ने डर छ ।’
एनआरएनए अभियानले दुई दशक छुन लाग्दाको उपलब्धी हो यो । ‘विदेशमा सिकेको ज्ञान र शिप तथा आर्जेको पूँजी नेपालमा लगानी गर्ने’ भन्ने मिठो नारा सहित सन् २००३ बाट एनआरएनएको नाममा विदेशमा बस्ने नेपालीको संगठित भएको हो । यो संगठनलाई नेपालको संविधान, ऐन, नियम र कानुनले चिनेको छ ।
तर अब एनआरएनए भन्ना साथ प्रविधिको दुरुपयोग गर्ने, विधान नमान्ने, छलकपट गर्ने, मिलेर बस्न नसक्ने भन्ने पर्न थालेको छ ।
एक पटकको नेपाली सधैंको नेपाली, पैतृक सम्पति माथिको अधिकार र नागरिकताको निरन्तरताको मुद्दाले प्रवासमा पाइला राखेका तर नेपाल भुल्न नसकेकाहरुलाई छोएको थियो ।
पैतृक सम्पति र नागरिकताका मुद्दा बीच बाटोमा छ । संविधानले यी दुबै एजेण्डालाई संबोधन गरेको छ । तर कानुन नबनेकाले कार्यन्वयन हुन सकेको छैन । त्यसको लागि सम्पूर्ण एनआरएनएहरु एक ठाँउमा उभिएर नेपालका राजनैतिक दलका नेतालाई घचघचाउन पर्ने हुन्छ ।
तर विडम्वना एनआरएनएहरु अहिले आफै मिल्न सकेका छैनन । शिप, ज्ञान र लगानी भित्राउदै नेपालको विकासमा कायपलट गर्ने झ्याली पिटेका एनआरएनएका नेताहरु अहिले आफ्नो संगठन चलाउन नसकेर परराष्ट्र मन्त्रालय र अदालत गुहार्न पुगेका छन् ।
विदेशमा कही हङ्गामा भयो भने त्यहाँ एनआरएनएको कार्यक्रम छ भनेर बुझ्दा हुने भइसकेको छ । ‘जहाँ एनआरएनए त्यहाँ लफडा ।’ विदेशमा के ज्ञान सिक्यौ भन्दा प्रविधिको दुरुपयोग कसरी गर्ने, फर्जी मतदाता कसरी बनाउने, आर्थिक अनियमिता कसरी गर्ने भनेर भन्नु पर्ने भएको छ ।
संस्थामा अनुशासनको पराकाष्ट नागेको छ । पदाधिकारीहरु व्यक्तिगत गालि गलौच र मित्था आरोपमा उत्रिएका छन् । अक्टुवरमा हुनु पर्ने निर्वाचन अझै हुन सकेको छैन । प्रतिनिधि छनौटको विवादले रोकिएको निर्वाचनको गाँठो फुकाउने जिम्मा पाएको उच्च स्तरिय समिति आफै अन्यौलमा छ । थप गरिएको समय सकिदा पनि समितिले कुनै निश्कर्ष दिन सकेको छैन ।
जापान एनआरएनएको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले एनआरएनए आइसीसीका र जापान दुबै तर्फका पदाधिकारीलाई अनुसन्धानका लागि पत्र काटेको छ । कुनै पनि समय नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गर्यो भने आश्चर्य नमान्दा हुन्छ ।
एक पक्षले विधान विपरित प्रतिनिधि छनौट गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी गरेको छ । संस्थापन पक्ष सरकारले हस्तक्षेप गर्यो भन्दै अदालत पुगेको छ । परिस्थिति यस्तो छ कि एनआरएनए किन भन्दा विदेशमा बस्ने नेपाली झगडा गर्ने भन्ने सम्म पुगेको छ ।
अमेरिकाको एनआरएनएमा पुस्त्यौती विवाद छ । उच्च पदाधिकारी नै सार्वजनिक कार्यक्रममा हुलहुज्जत गर्दै हातहालाहालको स्थितिमा पुगेको इतिहास छ । पछिल्लो पटक अकालमा निधन भएका एक युवाको नाममा गोफण्डबाट उठाइएको आर्थिक सहयोग आठ महिना वितिसक्दा पनि सरोकारवाला परिवारले नपाएको भन्दै आक्रोस पोखेका छन् । मानविय संवेदनाको सहयोगमा एनआरएनए अमेरिका चुकेको छ ।
बेल्जियममा एनआरएनएको कार्यक्रममा नेपाली बीच आपसमा कुटाकुट हुदाँ स्थानीय प्रहरीले हस्तक्षेप गर्नु परेको घटना सेलाएको छैन । विधानलाई मिले सम्म सबैले आफुखुसी व्याख्या गर्ने गरिएको छ ।
एनआरएनए विधानले राजनैतिक दलको समर्थनमा उमेदवार हुन नपाउने, प्यानल वा टिम बनाएर चुनावी प्रतिस्पर्धामा उत्रन नपाउने भनेको छ । तर कुनै पनि गुटबाट त्यसको पालना भएको छैन । विधानले विद्यार्थीलाई सदस्य बनाउन नपाउने भनेको छ तर विद्यार्थी सदस्य नभएको मुलुक नै छैन् ।
नेपालमा लगानी भित्राउने भनिएको छ तर कहाँ कसरी सकेसम्म करछुट लिने भन्नेमा पदाधिकारीको जोड छ । एकाध पदाधिकारीले नेपाल भित्राएको लगानी पनि विवादरहित हुन सकेको छैन । एनआरएनए यसरी दिनदिनै दुर्घन्धित हुनुमा तिनै एकाध व्यापारी घरानाको स्वार्थले काम गरेको छ ।
बाहिर अमेरिका, बेलायत, अष्ट्रेलिया जापान जहाँ जहाँको विवाद भनिए पनि खासमा संस्थापन अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने र शेष घले बिचमा लिगेसी कसले लिने भन्ने होडले काम गरेको छ ।
नेपालको संविधानले दुई बर्ष बाहिर बसेको नेपालीलाई एनआरएनए मानेको छ । महतो दशक भन्दा बढी समय देखि नेपालमा नै छन् । त्यसो त कुनै समय जापान बसेको तर पछि नेपालमा वडा अध्यक्ष भएका व्यक्तिले पनि हायत होटलमा लाइन नै बसेर भोट हालेका थिए । सदस्यको अध्यावधिक सही रुपमा हुनै सकेको छैन ।
अर्को तर्फ वर्तमान कार्यसमिति र त्यसमा पनि अध्यक्ष कुमार पन्तको असमक्षमताले पनि एनआरएनए यो हद सम्मको संकटमा पुग्न मद्दत गरेको प्रष्ट छ । नेतृत्वले सही समयमा सही निर्णय गर्न सकेन भने के हुन्छ एनआरएनएलाई हेरे हुन्छ भन्ने भएको छ ।
एनआरएनए यति ठूलो दलदलमा फसेको छ कि अव यो संस्था किन भन्ने अवस्थामा पुगेको छ । यसरी सिङ्गो संस्था बदनाम हुदै गर्दा, संस्थामा देखिएका विवादलाई सल्टाएर निकासको बाटो देखाउनका लागि जिम्मेवारी पाएको उच्च स्तरीय सिमित आफै विवादमा फसेको छ ।
विवाद मिलाउन गठन गरिएको समिति आफैले नयाँ विवाद सृजना गरेको भन्दै एउटा समुह समिति माथि खनिन थालेको छ । उता उच्च स्तरिय समितिले काम जारी नै राखेको भन्दै गर्दा फेरि चुनावी प्रक्रिया अगाडि बडाएर निर्वाचन समितिले आफुलाई अपरिपक्क बनाएको छ ।
प्रतिनिधि विवादका कारण पटक पटकको लागि तोकिएको निर्वाचन हुन नसके पछि एनआरएनएका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्च स्तरिय समिति गठन भएको थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतो सहित वर्तमान अध्यक्ष कुमार पन्त र सबै पूर्व अध्यक्ष रहेको समितिले भ्याद थपिएको समय सकिदा पनि कुनै निर्णय दिन सकेको छैन ।
यसरी एनआरएनएका सबै नेता भएको समिति अनिर्णित हुदा एनआरएनए अभियान भने झन झन बदनाम भएको छ ।