काठमाडौंमा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर
काठमाडौं । काठमाडौंमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।
यस अगाडि काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको थियो । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो ।
शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै हुने बताइएको छ । जोर-बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन सिफारिश गरिस गरिएको हो ।