माओवादी श्रोत अनुसार पुन नै महासचिवका बलिया दाबेदार
काठमाडौँ/ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन चीनबाट स्वास्थ्य उपचारपछि फर्किए लगत्तै महासचिवको चर्चा सुरु भएको छ । आगामी २७ माघमा बस्ने पार्टीको बैठकले पदाधिकारी टुङ्गो लगाउने तयारी गरेको छ । पुनलाई प्रबल दाबेदार ठानिए पनि अन्यले पनि दाबेदार गरेका छन् । गत शनिवार अध्यक्ष प्रचण्डले एक परिपत्र जारी गरी केन्द्रीय समितिलाई पूर्णतासहित कार्य विभाजन गरिने बताएका थिए ।
चीनबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिए । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ । महासचिवमा मेरो उम्मेदवारी स्वाभाविक नै हो ।’माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ ।माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ । पार्टी पदाधिकारी सर्वसम्मत रूपमा चयन गर्न छलफल भइरहेको माओवादी निकट श्रोत जनाउँछ ।
महासचिवमा नेतृ पम्फा भुसालको पनि दाबी छ । यसै गरी, जनार्दन शर्मा, वर्षमान पुन र देव गुरुङ बलियो दाबेदार हुन् । महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ । शर्मा र पुनबिच प्रतिस्पर्धा चलिरहे अन्त्यमा भुसाल सर्वसम्मत हुने सम्भावना पनि बलियो ठानिएको छ । महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पङ्क्ति विभाजित हुन थालिसकेका छन् । विश्वास पात्रहरू नै महासचिवको दौडमा रहे पछि यसले प्रचण्डलाई समस्या परेको हो ।प्रचण्डले पुन वा शर्मामध्ये एक जनालाई चयन गर्ने स्थितिमा भने पुनको सम्भावना बलियो देखिएको छ ।
एकीकृत माओवादी कालमा सचिव भइसकेकाले वरियतामा शर्माभन्दा पुन नै अगाडि छन् ।पुनकै कारणले पदाधिकारी चयन रोकेर राखेका प्रचण्ड अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन् । पुन उपचारपछि फर्किएको भोलिपल्ट नै प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले पनि उनलाई उपाध्यक्षमा लगेर पुनलाई महासचिवको जिम्मेवारी दिने प्रयास प्रचण्ड गरिरहेको स्रोतको दाबी छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको स्थान सुरक्षित रहे पनि महासचिव दौडबाट बाहिरिने नेताहरूलाई उपाध्यक्षमा लगेर व्यवस्थापन गर्ने प्रचण्डको तयारी छ ।
स्थायी कमिटीमा रहेका नेताहरूले पदाधिकारीको आकाङ्क्षा गरेको हुनाले केन्द्रीय कमिटीबाट पदाधिकारीको सङ्ख्या थप गरेरै भए पनि सर्वसम्मतको प्रयास जुटाउने प्रयास पनि जारी छ ।