ओहायोमा सम्पन्न ‘एनआरएनए कप २०२६’ भलिवलको उपाधि नर्थ होराइजन न्यूयोर्कलाई
कोलम्बस, ओहायो / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत ओहायो च्याप्टरद्वारा आयोजित एनआरएनए कप २०२६ भलिवल प्रतियोगिताको उपाधि नर्थ होराइजन न्यूयोर्कले जितेको छ ।
ओहायोको कोलम्बसमा नोभेम्बर ६ र ७ तारिख भएको प्रतियोगिताको फाइनलमा नर्थ होराइजनले बाग्लुङ् स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउदै उपाधि जितेको हो ।
ओहायो च्याप्टरको इतिहासमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा विभिन्न राज्यका गरि ८ टिमले भाग लिएका थिए ।
एनआरएनए एनसीसी यूएसए ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाका अनुसार नर्थ होराइजन न्यूयोर्कले उपाधि सँगै दश हजार अमेरिकी डलर नगद हात पार्यो ।
यस्तै दोस्रो भएको बागलुङ स्पोर्ट्स क्लबले ६ हजार र तेस्रो भएको ह्यारिसबर्ग गोर्खाले चार हजार अमेरिकी डलर नगद पुरस्कारसहित ट्रफी तथा मेडल प्राप्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सेटर, इमर्जिङ प्लेयर तथा मोस्ट भ्यालुएबल प्लेयर गरी पाँच विशेष विधामा समेत ट्रफी तथा सम्मान प्रदान गरिएको थियो।
एनआरएन ओहायोका सचिव प्रतियोगताका संयोजक विज्ञान भट्टराईले प्रतियोगिता अत्यन्तै अनुशासित, प्रतिस्पर्धात्मक तथा उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको बताए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा एनआरएनए एनसीसी अमेरिका अध्यक्ष सत्येन्द्र साह, महिला उपाध्यक्ष सुनीता खत्री, कोषाध्यक्ष रविन्द्र उप्रेती, आरसीसी मिडवेस्टका चेयर दीपेश गौतम, न्युयोर्क च्याप्टरका अध्यक्ष सत्यराज पाण्डेय तथा इलिनोइस च्याप्टरका अध्यक्ष सुरेन्द्र चौधरी लगायत एनआरएनए अभियन्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष विजय बुढाले खेलकुद शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्फूर्ति, अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामुदायिक एकता अभिवृद्धिका लागि समेत अत्यन्त महत्त्वपूर्ण माध्यम भएको बताए ।
उनले खेलकुदले पुरस्कार र पदक जित्ने अवसर मात्र प्रदान नगरी व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, स्वस्थ जीवनशैली अपनाउन तथा खेल क्षेत्रमै उज्ज्वल भविष्य निर्माण गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

विशेषगरी अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरूलाई खेलकुदको माध्यमबाट एउटै स्थानमा भेला गराई आपसी भेटघाट, चिनजान, आत्मीयता आदानप्रदान तथा भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले बताए ।
अध्यक्ष बुढाले यस्ता खेलकुद प्रतियोगिताले नेपाली समुदायका युवाहरूलाई खेलप्रति आकर्षित गर्नुका साथै नयाँ पुस्तामा खेलकुदप्रतिको रुचि, क्षमता र नेतृत्व विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष बुढाले अमेरिकाका विभिन्न राज्यमा रहेका सबै एनआरएनए च्याप्टरका अध्यक्षहरु प्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरे । ‘उहाँहरूको आर्थिक सहयोग, नैतिक समर्थन, विश्वास तथा आत्मीयताले ओहायोमा पहिलो पटक आयोजना गरिएको ऐतिहासिक एनआरएनए कपलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुगेको छ ।’ अध्यक्ष बुढाले भने ।
उनले एनआरएनए एनसीसी यूएसएका केन्द्रीय नेतृत्व, पदाधिकारीहरू, बोर्ड सदस्यहरू, आरसीसी मिडवेस्टका नेतृत्व तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरूप्रति पनि उहाँले विशेष धन्यवाद ज्ञापन गरे ।
प्रतियोगितालाई सफल बनाउन आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने ओहायो तथा ओहायोभन्दा बाहिर रहेका विभिन्न व्यवसायी साथीहरू, प्रायोजकहरू, रेस्टुरेन्ट सञ्चालकहरू, सामाजिक अभियन्ताहरू तथा सम्पूर्ण नेपाली समुदायप्रति समेत अध्यक्ष बुढाले हार्दिक आभार व्यक्त गरे ।


















