अमेरिकामा यस वर्ष औसत ट्याक्स रिटर्न ३३ सय डलरभन्दा बढी
वासिङ्टन / अमेरिकामा सन् २०२६ को ट्याक्स रिटर्न रकम औसत ३३ सय डलरभन्दा बढी हुने जनाइएको छ ।
अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) का अनुसार, औसत ट्याक्स रिटर्न रकम अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढेको छ भने अमेरिकी करदातालाई वितरण गरिएको कुल रकम २० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
आईआरएसले बिहिवार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, सन् २०२६ को आर्थिक वर्षमा सरकारले करबाट कीर्तिमानी ५.६ ट्रिलियन डलर संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ५ प्रतिशत बढी हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागू गरेको वर्किङ फ्यामिलिज ट्याक्स कट्स कार्यक्रमपछि करदाताले बढी रकम फिर्ता पाएको र कर प्रणालीमा सुधार आएको आईआरएसको दाबी छ।
आईआरएसका अनुसार, सन् २०२६ मा कर दाखिला गर्ने अवधिमा कर फिर्ताका लागि दाबी गरिएको कुल रकम अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेको थियो। विद्युतीय माध्यमबाट कर दाखिला गरेका करदातामध्ये करिब ९० प्रतिशतले २१ दिनभन्दा कम समयमा रकम फिर्ता पाएका थिए।
कर दर घटेको आईआरएसको दाबी
आईआरएसले सन् २०२५ को कर वर्षका लागि सन् २०२६ को मध्य जुलाईसम्म दाखिला भएका व्यक्तिगत आयकर विवरणका आधारमा सबै आय समूहमा औसत संघीय आयकर दर घटेको जनाएको छ।
विज्ञप्तिअनुसार, समग्र औसत संघीय आयकर दर १२.६ प्रतिशतमा झरेको छ। यो सन् २०२५ को तुलनामा ४ प्रतिशतले कम हो। यसलाई ट्रम्प प्रशासनले लागू गरेको कर कटौती कानुनबाट अमेरिकी नागरिकले लाभ पाएको प्रमाणका रूपमा आईआरएसले प्रस्तुत गरेको छ।
आईआरएसका प्रमुख कार्यकारी अधिकृत फ्र्याङ्क जे. बिसिग्नानोले राष्ट्रपति ट्रम्पको नेतृत्वमा कामदार परिवारले ऐतिहासिक रूपमा बढी कर फिर्ता पाएको बताएका छन्।
उनका अनुसार, करदातालाई सहज सेवा उपलब्ध गराउने, कर संकलन प्रभावकारी बनाउने र व्यक्तिगत विवरणको गोपनीयता सुरक्षित राख्ने उद्देश्यले आईआरएसले डिजिटल सेवाको विस्तार गरिरहेको छ।
कर ठगीबाट ३८ अर्ब डलर जोगाएको दाबी
आईआरएसले सन् २०२६ को आर्थिक वर्षमा पहिचान चोरी गरेर कर फिर्ता लिने ठगीबाट करिब ३८ अर्ब डलर बराबरको कर राजस्व जोगाएको जनाएको छ।
करसम्बन्धी ठगी पत्ता लगाउन र नियन्त्रण गर्न आईआरएसले राज्यका कर निकाय तथा निजी क्षेत्रका संस्था र कम्पनीसँग सहकार्य गरिरहेको छ। करदाताको व्यक्तिगत तथा वित्तीय विवरण सुरक्षित राख्न र ठगीसम्बन्धी उजुरी प्रक्रिया सहज बनाउन पनि नयाँ व्यवस्था लागू गरिएको विज्ञप्तिमा उल्लेख छ।
अब करदाताले आईआरएसको वेबसाइटमार्फत सम्भावित कर ठगी, कर छल्ने गतिविधि र अन्य गैरकानुनी कामबारे गोप्य रूपमा जानकारी दिन सक्नेछन्।
बालबालिकाका लागि ‘ट्रम्प अकाउन्ट’
ट्रम्प प्रशासनले अघि सारेको वर्किङ फ्यामिलिज ट्याक्स कट्स कानुनअन्तर्गत १८ वर्षमुनिका बालबालिकाका लागि दीर्घकालीन बचत तथा लगानी खाता खोल्ने ‘ट्रम्प अकाउन्ट’ कार्यक्रम पनि समावेश गरिएको छ।
आईआरएसका अनुसार, करिब ७ करोड बालबालिकाका लागि यस्ता खाता खोलिएका छन्। तीमध्ये २ करोड ७० लाख खातामा परिवार, आफन्त, दाताहरू तथा अमेरिकी सरकारबाट रकम जम्मा भइसकेको छ।
सन् २०२५ जनवरी १ देखि सन् २०२८ डिसेम्बर ३१ सम्म जन्मिएका प्रत्येक योग्य बालबालिकाको खातामा अमेरिकी सरकारले १ हजार डलर योगदान गर्ने व्यवस्था रहेको आईआरएसले जनाएको छ।
आईआरएसले यस कार्यक्रमलाई बालबालिकाको भविष्यका लागि बचत निर्माण गर्ने र उनीहरूलाई दीर्घकालीन आर्थिक आधार उपलब्ध गराउने महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गरेको छ।
















