‘आमा खोइ?’ भन्ने प्रश्न, जसको उत्तर कहिल्यै आएन
रमा पाठक
म छ वर्षकी थिएँ। काठमाडौँको भानुभक्त मेमोरियल स्कुलमा यूकेजीमा पढ्दै थिएँ। मंसिर महिनाको समय थियो। विद्यालयको अन्तिम परीक्षा सकिएको थियो। अब म, मेरी दिदी र मेरा माइलो बुबाका छोरा दाजुसँग स्याङ्जास्थित घर फर्किने तयारीमा थियौँ। तर त्यही बेला आएको एउटा खबरले हाम्रो जीवन सधैँका लागि बदलिदियो।
मेरी आमाको निधनको खबरले बुबालाई स्तब्ध बनायो। मेरी आमा राधाले बुटवलको अस्पतालमा अन्तिम सास लिनुभएको रहेछ। हामी चार दिदीबहिनी थियौँ। म माइली छोरी थिएँ। मेरी साइँली बहिनी देवी त्यतिबेला तीन वर्षकी थिइन् भने कान्छी बहिनी सृजना जन्मिएको जम्मा पच्चीस दिन मात्र भएको थियो।
आमाको निधनले हाम्रो परिवारमा यस्तो रिक्तता सिर्जना गर्यो, जसको गहिराइ बुझ्ने उमेरमा म थिइनँ। मलाई यति मात्र थाहा थियो, मेरी आमा मसँग हुनुहुन्नथ्यो। सानो उमेरमा आमाको मृत्यु हुनुको अर्थ के हो भन्ने मलाई थाहा थिएन। स्याङ्जाको घर पुगेपछि आमालाई नदेख्दा पनि उहाँ अब कहिल्यै फर्केर आउनुहुन्न भन्ने सोच्न सकिनँ।
मेरो बालमनले त आमालाई घाँस काट्न जानुभएको ठानेको थियो। साँझ परेपछि घर फर्कनुहुन्छ होला भन्ने लाग्थ्यो। स्याङ्जाको त्यो घर, आँगनमा लिपिएको रातो माटो र धुरीबाट निस्कने धुवाँ सबै उस्तै थिए।
घरको वातावरण पनि उही थियो। फरक यति मात्र थियो, त्यहाँ आमा हुनुहुन्नथ्यो। मैले घरभरि आँखा डुलाएँ। भान्छामा हेरेँ, आँगनमा खोजेँ, बारीको कान्लातिर नियालेँ। तर आमा कतै देखिनुभएन।
घरका अरू मानिसहरू आफ्नै दुःखमा डुबेका थिए। मेरी दिदी घर पुग्नासाथ रुन थाल्नुभएको थियो। तर म उहाँको आँसुको अर्थ बुझ्न सक्दिनथेँ। साथीहरू र काका काकीका छोराछोरी भेटेपछि म उनीहरूसँग खेल्न थालेँ।
बालापन साँच्चै कति निष्पाप हुँदो रहेछ! मृत्यु भन्ने कुरा नै नबुझेको त्यो उमेरमा मलाई लाग्थ्यो, मान्छे घाँस काट्न गएको छ भने बेलुका अवश्य फर्किन्छ। तर साँझ पर्दै जाँदा आमाको खोजीले मेरो मनमा ठाउँ बनाउन थाल्यो। म आमाको काख खोज्न थालेँ। आमाको न्यानो स्पर्श, मायालु बोली र परिचित अनुहारको प्रतीक्षा गर्न थालेँ।
उहाँ नआउँदा मनमा प्रश्न उठ्थ्यो, आखिर आमा कहाँ जानुभएको होला? मैले सोध्न थालेँ, “आमा खोइ त? घाँस काट्न जानुभएको, किन आउनुभएन?” मेरो प्रश्न सुन्नासाथ दिदी फेरि रुन थाल्नुभयो। मेरी माइली आमा र कान्छी आमा पनि रुन थाल्नुभयो।
उहाँहरू मेरा काका काकीका श्रीमतीहरू हुनुहुन्थ्यो। तर कसैले पनि मलाई आमाको मृत्युको वास्तविक अर्थ बुझाउन सकेनन्। मलाई सम्झाउन उहाँहरूले भन्नुभयो, “आमा भोलि आउनुहुन्छ।” ‘भोलि’ भन्ने एउटा शब्दले मलाई कति दिनसम्म आशामा राख्यो, त्यसको हिसाब छैन।
मेरो बालमनले त्यो कुरालाई सत्य ठान्यो। आमा आज आउनुभएन भने भोलि आउनुहुन्छ। भोलि पनि आउनुभएन भने पर्सि आउनुहोला। आमाको प्रतीक्षा गर्न मलाई कसैले सिकाउनुपरेन। त्यो त मेरो मनले आफैँ सिकेको थियो। भोलिपल्ट बिहान उठेँ। आमा अझै आउनुभएको थिएन।
मैले फेरि सोधेँ, “आमा खोइ त? अझै घाँस काटेर आउनुभएन?” त्यसपछि गाउँभरि सुनिने कुरा मेरो कानमा पर्न थाले। साथीहरू, छिमेकीहरू र ओल्लोघर पल्लोघरका मानिसहरू भन्न थाले, “तेरी आमा त बित्नुभयो। मर्नुभयो।” म अचम्ममा पर्थें। आमा मर्नुभयो भने उहाँ कहाँ जानुभयो? म उहाँलाई कहाँ खोज्न जाऊँ? उहाँ कहिले फर्कनुहुन्छ? म यी प्रश्न गर्थें, तर कसैले पनि मेरो बालमनले बुझ्ने गरी जवाफ दिँदैनथ्यो।
आमाको काख खोज्दाखोज्दै हाम्रो बिदा सकियो। हामी फेरि काठमाडौँ फर्कियौँ। तर मेरो मनमा एउटा प्रश्न निरन्तर घुमिरह्यो, आमा खोइ? आमा खोइ? दिन बित्दै गए, रातहरू पनि बित्दै गए। तर आमाको खोजी भने मेरो मनभित्र चलिरह्यो। बुबा धेरै कुरा भन्नुहुन्नथ्यो।
गाउँमा मानिसहरू हामीलाई देखेर भन्थे, “बिचरा टुहुरा! यति साना केटाकेटी छोडेर राधा सधैँका लागि बिदा भइन्।” ‘टुहुरा’ भन्ने शब्द मेरो कानमा तातो तेल खन्याएझैँ लाग्थ्यो। त्यसको अर्थ त्यतिबेला पूरै बुझ्दिनथेँ, तर त्यो शब्दले मन दुखाउँथ्यो।
बिस्तारै महसुस गर्न थालेँ, आमाबिना भएका बालबालिकालाई समाजले टुहुरा भनेर चिनाउँदो रहेछ। उनीहरूको पीडा बुझ्नुभन्दा पहिले नै उनीहरूलाई एउटा नामको भारी बोकाइँदो रहेछ। आमाको निधनले केवल एउटी आमालाई खोसेन, हाम्रो परिवारको जीवनलाई पनि नयाँ दिशामा धकेलिदियो। हामी चार दिदीबहिनी एकै ठाउँमा बसेर हुर्किन पाएनौँ।
परिस्थितिले हामीलाई फरक फरक ठाउँमा बस्नुपर्ने बनायो। मानौँ, घरको अंशबन्डा गरेझैँ हामीलाई पनि अलग अलग जिम्मेवारीमा बाँडियो। जन्मिएको जम्मा पच्चीस दिनकी कान्छी बहिनी सृजनालाई बुटवलकी सानीआमाले आफ्नो जिम्मामा लिनुभयो। आमाको दूधसमेत राम्ररी खान नपाएकी ती नानीलाई बचाउन र हुर्काउनुपर्ने जिम्मेवारी उहाँले स्वीकार गर्नुभयो।
सानीआमाले भन्नुभयो, “यसलाई म पाल्छु।” त्यो निर्णयभित्र कति माया, कति जिम्मेवारी र कति त्याग लुकेको थियो होला! एकातिर आमाले छोडेर जानुभएको पच्चीस दिनकी शिशुको जीवन जोगाउनुपर्ने बाध्यता, अर्कोतिर दिदीबहिनी छुट्टिनुको पीडा।
परिवारका लागि त्यो सजिलो समय थिएन। कान्छी बहिनीको नाभीसमेत राम्ररी सुकेको थिएन। आमाको काखबाट उनी सिधै सानीआमाको काखमा पुगिन्। उनले आफ्नी जन्मदिने आमाको अनुहार चिन्नसमेत पाइनन्। उनको जीवनमा आमाको सम्झना कुनै दृश्य वा आवाजका रूपमा रहेन। आमा त उनका लागि अरूले सुनाउने एउटा कथा मात्र बनिन्। यसरी एउटै आमाको गर्भबाट जन्मिएका हामी चार दिदीबहिनी चारैतिर छरियौँ।
मेरी ठूली दिदी स्याङ्जामा हजुरबुबा र हजुरआमासँग बस्नुभयो। म र मेरी साइँली बहिनी देवी काठमाडौँमा बुबासँग रह्यौँ। कान्छी बहिनी सृजना बुटवलमा सानीआमासँग हुर्किइन्। हामी सबैको बाल्यकाल फरक ठाउँमा बिते पनि आमाको अभाव भने हाम्रो साझा नियति बन्यो।
काठमाडौँको बसाइ आफैँमा अर्को संघर्ष थियो। बुबा, म र तीन वर्षकी मेरी बहिनी देवी मात्र थियौँ। बुबाले हाम्रो हात समातेर भानुभक्त मेमोरियल स्कुलसम्म पुर्याउनुहुन्थ्यो। म कक्षा एकमा पढ्थेँ भने मेरी बहिनी एलकेजीमा। बहिनी सानै भएकाले विद्यालयले सुरुमा भर्ना लिन मानेन। तर बुबाले प्रधानाध्यापकलाई घरमा हेरचाह गर्ने कोही नभएको र उनकी आमाको मृत्यु भइसकेको कुरा बताएपछि विद्यालयले भर्ना गरिदियो।
बुबाका लागि त्यो केवल छोरीलाई स्कुल भर्ना गराउने कुरा थिएन। त्यो हाम्रो भविष्य सुरक्षित बनाउने संघर्षको एउटा महत्त्वपूर्ण कदम थियो। बुबाले हामीलाई माया गर्नुहुन्थ्यो। तर उहाँको माया र त्यागको गहिराइ महसुस गर्न सक्ने उमेर र परिस्थिति हाम्रो थिएन।
बिहान हामीलाई विद्यालयमा पुर्याएपछि उहाँ काममा जानुहुन्थ्यो र राति करिब दस बजे मात्र घर फर्कनुहुन्थ्यो। त्यसपछि खाना पकाएर हामीलाई खुवाउने प्रयास गर्नुहुन्थ्यो। तर उहाँ घर आइपुग्दासम्म हामी भोक र थकानले निदाइसकेका हुन्थ्यौँ। बुबाको बाध्यता थियो।
उहाँ एक्लैले घर र काम दुवै सम्हाल्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो। श्रीमती गुमाएको पीडा एकातिर थियो, साना छोरीहरूको भविष्यको जिम्मेवारी अर्कोतिर। उहाँले आफ्नो दुःखलाई मनभित्रै दबाएर हाम्रो जीवनलाई अघि बढाउने प्रयास गर्नुभयो। तर त्यो संघर्षको वास्तविकता बुझ्ने उमेर हामीसँग थिएन।
विद्यालयमा साथीहरू ‘ममी’ भन्थे, हामी ‘आमा’ भन्थ्यौँ। हाम्रो बोली सुनेर कतिपय साथीहरूले हामीलाई ‘पाखे’ भनेर जिस्क्याउँथे। त्यो सानो घटनाजस्तो देखिए पनि बालमनमा त्यसले गहिरो चोट पुर्याउँथ्यो। भाषाका आधारमा गरिने भेदभाव र गाउँ तथा सहरबीचको विभाजनले सानै उमेरमा आफू अरूभन्दा फरक भएको अनुभूति गराउन थालेको थियो।
हामीलाई पनि अरू बच्चाजस्तै आमाको कुरा गर्न, आमाको काखमा बस्न र आमासँग विद्यालयका अनुभव सुनाउन मन लाग्थ्यो। तर हाम्रो जीवनमा त्यो सामान्य खुसीसमेत अधुरो रह्यो। उता, मेरी ठूली दिदी स्याङ्जाको वालिङस्थित विद्यालयमा पढ्दै हुनुहुन्थ्यो।
उहाँले कक्षा दसको पढाइ पूरा गर्न नपाउँदै विवाह गर्नुपर्यो। बुबा, हजुरबुबा र हजुरआमाको सहमतिमा बुटवलमा उहाँको विवाह गरियो। छोरीको विवाह चाँडै गरेर घरको जिम्मेवारी कम हुन्छ भन्ने सोच त्यतिबेलाको समाजमा अझै जीवित थियो। दिदीको जीवनले पनि बाल्यकालमै एउटा ठूलो मोड लिनुपर्यो। यसरी समय बित्दै गयो।
आमाले संसार छोडेको पाँच वर्ष भइसकेको थियो। त्यसपछि बुबाले अर्को विवाह गर्नुभयो र हाम्रो घरमा सानीममी आउनुभयो। उहाँलाई ‘आमा’ भन्न मेरो जिब्रोले मान्दैनथ्यो। किनभने मेरो बालमनमा मेरी आफ्नै आमा अझै घाँस काट्न जानुभएको थियो र कुनै दिन फर्केर आउनुहुनेछ भन्ने विश्वासको अवशेष बाँकी थियो।
नयाँ आमासँगको सम्बन्धलाई बुझ्न मलाई समय लाग्यो। उहाँ पनि आफ्नै जिम्मेवारी, अपेक्षा र परिस्थितिसहित हाम्रो घरमा आउनुभएको थियो। घर सम्हाल्नु, परिवारका सदस्यहरूको हेरचाह गर्नु र दैनिक जीवन चलाउनु सजिलो काम थिएन।
उहाँले पनि आफ्नो तर्फबाट घरलाई व्यवस्थित बनाउने र परिवारलाई अघि बढाउने प्रयास गर्नुभयो। तर आमाको अभावमा हुर्किरहेका हामी बालबालिकाको मनमा वर्षौँदेखि जमेको रिक्तता उहाँको आगमनसँगै हराउन सक्ने कुरा थिएन।
कहिलेकाहीँ उहाँको व्यवहार वा गालीले मेरो मन दुख्थ्यो। आफ्नै आमाले गाली गर्दा क्षणभरमै बिर्सन सकिने रहेछ, तर सानीममीले गाली गर्दा भने त्यही कुरा मनमा लामो समयसम्म रहिरहन्थ्यो। गाली उस्तै भए पनि त्यसलाई महसुस गर्ने मन र परिस्थिति फरक रहेछन्।
आफ्नी आमाको गालीभित्र पनि माया र अपनत्व महसुस हुँदो रहेछ, तर आमाको अभावमा हुर्किएको बालमनले त्यही अपनत्व अरूको व्यवहारमा खोज्दा खोज्दै धेरै कुरा मनभित्रै राख्दो रहेछ। त्यतिबेला मैले उहाँका व्यवहारलाई बुझ्ने परिपक्वता हासिल गरेकी थिइनँ।
बालमनले आफूले भोगेको व्यवहारलाई आफ्नै सीमित बुझाइबाट व्याख्या गर्दो रहेछ। त्यसैले केही शब्द र व्यवहारले लामो समयसम्म मन दुखाइरहन्थे। आज फर्केर हेर्दा भने सम्बन्धमा माया र जिम्मेवारीका साथै अप्ठ्यारा क्षण पनि हुन्छन् भन्ने बुझ्छु। सानीममीका सबै व्यवहारले मलाई दुःख मात्र दिएका थिए भन्नु उचित हुँदैन। उहाँले हाम्रो दैनिक जीवनका धेरै जिम्मेवारी सम्हाल्नुभयो, हामीलाई खाना पकाएर खुवाउनुभयो र परिवारलाई अघि बढाउन आफ्नो भूमिका निर्वाह गर्नुभयो।
समयसँगै मैले बिस्तारै बुझ्न थालेँ, मेरी आफ्नै आमा अब फर्केर आउनुहुन्न। उहाँ घाँस काट्न जानुभएको होइन। उहाँ बित्नुभएको रहेछ। बित्नु भनेको सधैँका लागि टाढा हुनु रहेछ। त्यो सत्य स्वीकार्न मेरो बालमनलाई धेरै समय लाग्यो।
आमाको अनुपस्थितिलाई शब्दले बुझ्न सकिए पनि मनले स्वीकार गर्न सजिलो थिएन। आमाको निधनपछि हाम्रो जीवनमा धेरै कुरा बदलिएका थिए, तर जीवन भने रोकिएन। हामी आआफ्ना परिस्थितिसँग जुध्दै अघि बढ्यौँ। मेरी साइँली बहिनी देवी पढाइमा निकै तेज थिइन्।
सानैदेखि पढाइप्रति उनको विशेष लगाव थियो। उनले मेहनतका साथ अध्ययन गरिन् र आज बेलायतमा नर्सका रूपमा काम गरिरहेकी छिन्। उनको सफलता देख्दा बाल्यकालका कठिन दिनहरू सम्झना आउँछन्। अभावले उनको बाटो रोक्न सकेन। शिक्षा, लगनशीलता र अवसरको उपयोगले उनलाई नयाँ सम्भावनासम्म पुर्यायो।
मेरी कान्छी बहिनी सृजना पनि आज विवाहपछि आफ्नै परिवारसँग सुखी जीवन बिताइरहेकी छिन्। उनलाई जन्म दिने आमाको काखमा हुर्कने अवसर मिलेन, तर सानीआमाले दिनुभएको माया, स्याहार र संरक्षणले उनको जीवनलाई अघि बढ्न आधार दियो।
उनको खुसी देख्दा मनमा सन्तोष लाग्छ। सानीआमाप्रति हाम्रो कृतज्ञता केवल कान्छी बहिनीलाई हुर्काइदिनुभएकोमा मात्र सीमित छैन। उहाँले आफ्नै जिम्मेवारीसँगै आमाविहीन शिशुलाई पनि आफ्नो सन्तानझैँ हुर्काउनुभयो। त्यो जिम्मेवारी स्वीकार गर्नु र त्यसलाई निभाउनु सामान्य कुरा थिएन। उहाँले गर्नुभएको योगदान हाम्रो परिवारको इतिहासमा सधैँ सम्मानका साथ सम्झिरहनेछौँ।
सानीममीबाट जन्मिएका मेरा दुई बहिनी र एक भाइले पनि आफ्नो अध्ययनमा उत्कृष्टता हासिल गरेका छन्। मेरा दुवै बहिनीले विद्यावारिधि पूरा गरेर अहिले अमेरिकामा राम्रो पदमा काम गरिरहेका छन्। भाइ पनि आफ्नै परिवारका साथ व्यवस्थित जीवन बिताइरहेका छन्। उनीहरूको सफलता र प्रगतिले हाम्रो परिवारमा शिक्षा, मेहनत र आत्मनिर्भरताको महत्त्वलाई अझ स्पष्ट बनाएको छ।
हाम्रो जीवनको यो यात्रालाई सम्झँदा सानीममीको भूमिकालाई परिवारको इतिहासबाट अलग राख्नु अन्याय हुनेछ। उहाँले हामीलाई आवश्यक पर्दा साथ दिनुभयो, हाम्रा लागि खाना पकाएर खुवाउनुभयो र दैनिक जीवनका अनेकौँ जिम्मेवारीमा सहयोग गर्नुभयो। उहाँ कहिलेकाहीँ कठोर बन्नुभयो होला।
सौतेनी आमाको भूमिकामा उहाँका केही व्यवहारले हाम्रो बालमनमा चोट पनि पुर्याएका होलान्। तर त्यसैका आधारमा उहाँले हाम्रो जीवनमा पुर्याउनुभएको योगदानलाई बिर्सन मिल्दैन। उहाँको भूमिका घरको जिम्मेवारी सम्हाल्ने व्यक्तिमा मात्र सीमित थिएन। हाम्रो दैनिक जीवनका साना आवश्यकतादेखि भविष्य निर्माणका लागि आवश्यक आधार तयार पार्नेसम्म उहाँको योगदान जोडिएको थियो। आज फर्केर हेर्दा उहाँले पनि हाम्रा जीवनका हरेक पाइलामा एउटा इँटा थपेजस्तै लाग्छ। त्यही जगमाथि हामीले आफ्नो भविष्य निर्माण गर्ने अवसर पायौँ।
उहाँको साथ, दैनिक व्यवहार र जिम्मेवारीले हाम्रो जीवनलाई विभिन्न तरिकाले आकार दियो। त्यसैले उहाँलाई केवल सौतेनी आमाको परिचयमा सीमित गर्नु उचित हुँदैन। उहाँ पनि हाम्रो जीवनको कथाको एउटा महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। तर हाम्रो जीवनको सबैभन्दा बलियो आधार बुबाको संघर्ष र त्याग थियो। उहाँले चार छोरीहरूको भविष्य सुरक्षित बनाउन अनेकौँ कठिनाइको सामना गर्नुभयो।
आमाको निधनपछि परिवार सम्हाल्नु, काम गर्नु, छोरीहरूको पढाइमा ध्यान दिनु र उनीहरूलाई आवश्यक हेरचाह दिनु उहाँका लागि सजिलो थिएन। उहाँले आफ्नो व्यक्तिगत पीडाभन्दा सन्तानको भविष्यलाई प्राथमिकता दिनुभयो।
हामीलाई पढाउन र लेखाउन कुनै कसर बाँकी राख्नुभएन। बुबा कहिलेकाहीँ कठोर देखिनुहुन्थ्यो। उहाँको व्यवहारमा अनुशासन र जिम्मेवारीको अपेक्षा हुन्थ्यो। बाल्यकालमा उहाँका सबै निर्णयको अर्थ हामीले बुझ्न सकेनौँ। तर आज जीवनको लामो यात्रा पार गरेपछि महसुस हुन्छ, उहाँको कठोरताभित्र पनि हाम्रो भविष्यप्रतिको चिन्ता लुकेको रहेछ।
उहाँले हामीलाई केवल हुर्काउनुभएन, जीवनमा आफ्नै खुट्टामा उभिन सक्ने आधार पनि तयार पारिदिनुभयो। आज हामीले आआफ्नो जीवनमा हासिल गरेका उपलब्धिहरूको जगमा बुबाको लगानी, त्याग र समर्पण छ। उहाँले हाम्रो शिक्षामा गर्नुभएको लगानी विद्यालयको शुल्क वा किताब किन्न खर्चिएको पैसामा मात्र सीमित थिएन। त्यो हाम्रो भविष्यप्रतिको विश्वास, जिम्मेवारीप्रतिको प्रतिबद्धता र सन्तानले राम्रो जीवन बिताऊन् भन्ने उहाँको सपना थियो।
उहाँले हामीलाई परिस्थितिसँग हार मान्नुभन्दा त्यसको सामना गर्न सिकाउनुभयो। उहाँले दिनुभएको शिक्षा र संस्कार आज पनि हाम्रो जीवनका महत्त्वपूर्ण मार्गदर्शन बनेका छन्। आज म अमेरिकाजस्तो सम्पन्न देशमा बसेर जीवनलाई पछाडि फर्केर हेर्दा एउटा गहिरो सत्य महसुस गर्छु।
हामीले चाल्ने हरेक पाइला केवल आजको दिन पार गर्ने माध्यम मात्र हुँदैन रहेछ। ती पाइलाले हाम्रो जीवनको दिशा तय गर्दा रहेछन्। हामीले बोल्ने एउटा शब्दले पनि कसैको मनमा विश्वास जगाउन सक्छ, भरोसाको सम्बन्ध निर्माण गर्न सक्छ र कसैका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ। समयमै दिइएको साथ, एक छाक खाना, मायालु व्यवहार र विश्वास दिलाउने एउटा वाक्यले पनि मानिसको भविष्यमा ठूलो भूमिका खेल्न सक्दो रहेछ।
हाम्रो जीवनमा बुबाको संघर्ष, सानीममीको साथ, सानीआमाको माया र आफ्नै मेहनतले फरक फरक तरिकाले आधार तयार पारे। आज हामी जहाँ छौँ, त्यहाँ पुग्नुमा यी सबै अनुभवको योगदान छ। जीवनले मलाई सिकाएको छ, मानिसलाई उसको एउटा कमजोरीका आधारमा मात्र मूल्याङ्कन गर्नु हुँदैन। उसले हाम्रो जीवनमा दिएको साथ, गरेको त्याग र निर्माण गरेको सकारात्मक आधारलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।
जीवनमा प्राप्त हरेक साथको स्वरूप एउटै हुँदैन, तर त्यसले हाम्रो यात्रामा छोडेको छाप महत्त्वपूर्ण हुन सक्छ। आफ्नै सन्तान हुर्काउँदै जाँदा आमाको माया कति गहिरो हुन्छ भन्ने कुरा मैले अझ बढी बुझ्दै गएँ। बच्चाको सानो दुःखमा आमाको मन कसरी दुख्छ, उनीहरूको भविष्यका लागि आमाले कति चिन्ता गर्नुहुन्छ र उनीहरूलाई सुरक्षित राख्न कति त्याग गर्नुहुन्छ भन्ने कुरा आफ्नै अनुभवबाट महसुस गरेँ। त्यसपछि आमाको सम्झना आउँदा मेरो मनमा पीडा मात्र होइन, उहाँले हामीलाई दिनुभएको मायाको मूल्यप्रति गहिरो सम्मान पनि जाग्न थाल्यो।
कहिलेकाहीँ सोच्छु, यदि मेरी आमा आज जीवित हुनुहुन्थ्यो भने उहाँले हामीलाई यसरी हुर्किएको देखेर कति खुसी हुनुहुन्थ्यो होला! उहाँले आफ्ना छोरीहरूको जीवनका उपलब्धिहरू देख्न पाउनुभएको भए कति गर्व गर्नुहुन्थ्यो होला!
हामीले पाएका सफलताहरू उहाँसँग बाँड्न पाएको भए, उहाँको काखमा टाउको राखेर बाल्यकालका ती अधुरा प्रश्नहरू सोध्न पाएको भए, सायद मेरो मनमा रहेको यो रिक्तता केही कम हुने थियो। तर जीवनमा केही प्रश्नको उत्तर समयले पनि दिँदैन। केही अभाव यस्ता हुन्छन्, जसलाई कुनै उपलब्धि, कुनै सम्पन्नता र कुनै सफलताले पूर्ण रूपमा पूर्ति गर्न सक्दैन।
आमाको माया त्यस्तै रहेछ। जीवनले मलाई धेरै कुरा दियो, धेरै अनुभव सिकायो र अनेकौँ अवसर प्रदान गर्यो। तर बाल्यकालमा गुमाएको आमाको काख भने जीवनभरको एउटा अपूरो चाहना बनिरह्यो। आज म उमेरले परिपक्व भएकी छु। जीवनका सुखदुःखलाई बुझ्न सक्ने भएकी छु। परिवारका प्रत्येक सदस्यले आफ्नो परिस्थितिमा निर्वाह गरेको भूमिकालाई बुझ्ने प्रयास गर्न सक्छु। तर मेरो मनभित्रकी त्यो छ वर्षकी बालिका अझै हराएकी छैन। आज पनि आमालाई खोज्छे, आमाको प्रतीक्षा गर्छे र आमाको न्यानो काख सम्झेर भावुक हुन्छे।
आमा, तपाईं घाँस काट्न जानुभएको दिनदेखि मैले तपाईंलाई पर्खिन छोडेकी छैन। समय बित्यो, उमेर बढ्यो, जीवनले अनेकौँ मोड लियो। तर मेरो मनको एउटा कुनामा आज पनि त्यही छ वर्षकी बालिका उभिएकी छे, जसले घरको ढोकातिर हेर्दै सोधिरहेकी छे।
“आमा, तपाईं खोइ? घाँस काटेर कहिले फर्कनुहुन्छ?”

















