अमेरिकामा दोस्रो विश्वयुद्धपछि पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइँदै
वासिङ्टन / अमेरिकी सेनाका पूर्व मनोचिकित्सक मेजर निदाल हसनलाई आगामी ३ डिसेम्बर २०२६ मा गोली हानेर मृत्युदण्ड दिने तयारी गरिएको छ। अमेरिकामा दोस्रो विश्वयुद्धपछि पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइने भएको हो।
अमेरिकी सेनाका अनुसार हसनलाई सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य आधारमा भएको गोलीकाण्डमा १३ जना निःशस्त्र सैनिकको हत्या र ३२ जनालाई घाइते बनाएको अभियोगमा सैन्य अदालतले सन् २०१३ मा मृत्युदण्डको सजाय सुनाएको थियो। हसनले अदालतमा आफूले गोली चलाएको स्वीकार गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हसनलाई गोली हानेर मृत्युदण्ड कार्यान्वयन गर्न स्वीकृति दिएका छन्। रक्षा सचिव पिट हेगसेथको सिफारिसपछि यो निर्णय भएको रोयटर्सले जनाएको छ। मृत्युदण्ड फोर्ट हुडमै कार्यान्वयन गर्ने तयारी गरिएको छ।
हसनलाई सन् २००९ को घटनापछि पक्राउ गरिएको थियो। पक्राउका क्रममा उनी घाइते भई पक्षाघात भएका थिए। सैन्य अदालतले उनलाई पूर्वनियोजित हत्या तथा हत्या प्रयासमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो।
यदि निर्धारित मितिमा सजाय कार्यान्वयन भयो भने यो अमेरिकी सेनामा सन् १९६१ पछि पहिलो सैन्य मृत्युदण्ड हुनेछ। त्यस्तै, सन् १९४५ पछि अमेरिकी सेनामा गोली हानेर मृत्युदण्ड दिइएको यो पहिलो घटना बन्नेछ।
हसनमाथिको कारबाहीको विधि अमेरिकी मृत्युदण्डसम्बन्धी बहसमा समेत नयाँ विवादको विषय बनेको छ। गोली हानेर मृत्युदण्ड दिने व्यवस्था अमेरिकाका केही राज्यमा पुनः प्रयोगमा आए पनि सैन्य क्षेत्रमा यसको प्रयोग अत्यन्त दुर्लभ रहेको छ।
यस घटनाले एकातर्फ सन् २००९ को फोर्ट हुड गोलीकाण्डमा मारिएका सैनिकका परिवारका लागि लामो समयदेखि जारी न्याय प्रक्रियाको अन्त्यतर्फ संकेत गरेको छ भने अर्कोतर्फ मृत्युदण्डको कानुनी र नैतिक पक्षबारे अमेरिकामा पुनः बहस चर्काउने देखिएको छ।

















