भर्जिनियाको ‘डीटी फेस्ट २०२६’ एक दिन अगाडि सर्यो, अक्टोबर १० मा हुने
भर्जिनिया / खराब मौसमको पूर्वानुमानका कारण आगामी ‘डीटी फेस्ट २०२६’ को मिति परिवर्तन गरिएको छ।
आयोजक थ्री ई इन्टरटेनमेन्ट का अनुसार अक्टोबर ११ मा हुने तय भएको महोत्सव अब एक दिन अगाडि अक्टोबर १०, शनिबार आयोजना हुने भएको छ।
मौसम पूर्वानुमानमा भारी वर्षाको सम्भावना देखिएपछि सहभागी, कलाकार, स्टल राख्ने विक्रेता तथा कर्मचारीहरूको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यसअघि खरिद गरिएका सम्पूर्ण टिकट, स्टल दर्ता तथा पार्टनर क्रेडेन्सियलहरू नयाँ मिति अर्थात् अक्टोबर १० का लागि पूर्ण रूपमा मान्य हुनेछन्।
नेपाली संस्कृति, परिकार, संगीत तथा समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न मिति सारिएको आयोजकको भनाइ छ।
भर्जिनियाको वान् लाउडन (One Loudoun, 44578 Atwater Dr., Ashburn, VA 20147) मा हुने महोत्सवका मुख्य कलाकार शिव परियार, समीक्षा अधिकारी तथा मुक्ति एन्ड रिभाइभल रहेका छन् ।
कार्यक्रममा बालबालिकाका लागि किड्स जोन, परम्परागत सांस्कृतिक नृत्य, दशैं तथा तिहार विशेष कार्यक्रम, लाइभ कन्सर्ट, नेपाली परिकार तथा व्यापारिक स्टललगायतका गतिविधि रहनेछन्।

















