नेजस अमेरिकाका पूर्व सभापति आनन्द विष्टद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं / नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति गोरखबहादुर विष्ट ‘आनन्द’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
दुई दशक भन्दा लामो समय देखि अमेरिकामा रहँदै आएका विष्टले खुल्ला तर्फबाट कांग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
डोटीका विष्ट प्रतिनिधि सभाको गत निर्वाचनमा पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका थिए । त्यस पछि उनी प्रवासबाट पार्टीको राजनीतिबाट अलग भई पूर्वकालीन रुपमा नेपालको राजनीतिमा होमिएका हुन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक मध्येका एक विष्ट सन् २०१४ देखि २०२६ सम्म नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति थिए ।
‘तीन दशकभन्दा बढी समयदेखि लोकतान्त्रिक आन्दोलन, प्रवासबाट पार्टी संगठन निर्माण र सामाजिक सेवामा सक्रिय रहँदै आएको छु, समाज टाइम्स सँग विष्टले भने, ‘साथीहरूले मूल्याङ्कन गर्नु हुने छ भन्ने विश्वास छ ।’
नेपाली कांग्रेस सोमबार नै पारित विधानमा खुल्ला केन्द्रिय सदस्यको संख्या ३५ बाट बढाएर ४५ पुर्याइएको छ ।
विष्ट यस पटक कैलाली क्षेत्र नम्बर ४ बाट ६९० मतमध्ये ५६० मत प्राप्त गरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
विष्ट नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रिय सदस्य हुन् ।
१३औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाबाट विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
विष्ट पाँचौ पटक नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि छन् ।

















