कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतवार सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।
‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने।
उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए। राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’
पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए।
उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।
उनले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे। सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

















