अमेरिका निवासी अगम गुरुङलाई ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपालीभाषी भुटानी मूलका गीतकार तथा संगीतकार अगम गुरुङलाई भारतको पश्चिम बंगालस्थित मिरिकमा आयोजित एक समारोहमा ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार–२०२६’ प्रदान गरिएको छ।
अम्बर गुरुङ सालिक संरक्षण समिति र लभ एण्ड सपोर्ट फाउण्डेशनको संयुक्त आयोजनामा सेप्टेम्बर २७, २०२६ मा दार्जिलिङको मिरिकमा आयोजित कार्यक्रममा गुरुङलाई नगद ५१ हजार १११ भारतीय रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो।
समारोहमा नेपालबाट वरिष्ठ गायक तथा संगीतकार शम्भुजीत बासकोटा, भारतको दार्जिलिङबाट वरिष्ठ गायक तथा संगीतकार पेमा लामालाई पनि सम्मान गरिएको थियो।
सम्मानपत्रमा अगम गुरुङले नेपाली भाषा, साहित्य, कला, संस्कृति र संगीतप्रति देखाएको समर्पण तथा नेपाली लोक र आधुनिक संगीतको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ।

उनले नेपाली सांगीतिक परम्पराको संरक्षण र संवर्द्धनमा भूमिका निर्वाह गर्नुका साथै नयाँ प्रतिभा तथा युवा पुस्तालाई नेपाली गीतसंगीतमा अघि बढ्न प्रेरित गर्दै आएको सम्मानपत्रमा उल्लेख छ।
संगीत क्षेत्रसँगै सामाजिक सेवामा पनि सक्रिय रहेको भन्दै उनको सिर्जनात्मक योगदान र सेवाभावको उच्च मूल्यांकन गरिएको छ।

सम्मान प्राप्त गरेपछि समाज टाइम्स सँगको कुराकानीमा अगम गुरुङले यसलाई आफ्नो जीवनमा गरेको संघर्षको उपहारका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
“मैले जीवनमा गरेको संघर्षहरूको उपहार पाएँ। मेरो जीवनमा मैले पाएको मध्येको उत्कृष्ट अवार्ड हो।” उनले भने, “गोपाल योञ्जन, अम्बर गुरुङ र अरुणा लामा जस्ता व्यक्तित्व जन्मिएको ठाउँमा पुगेर अम्बर गुरुङजस्तो संगीतकारको नाममा अवार्ड थाप्नु नै मेरो ठूलो भाग्य हो।”
उनले यो सम्मानले गीतसंगीतको क्षेत्रमा अझै धेरै काम गर्ने प्रेरणा मिलेको बताए। मिरिक र आसपासका स्थानीय बासिन्दाले दिएको माया र आतिथ्य आफ्नो जीवनमा अविस्मरणीय रहने उनको भनाइ छ।
पश्चिम बंगालको भ्रमणलाई उनले नेपाली कला, संगीत र साहित्यको खुला विश्वविद्यालयमा प्रवेश गरेको अनुभूतिसँग तुलना गरेका छन्। नेपाली सांगीतिक क्षेत्रका अग्रज तथा नयाँ पुस्ताका सर्जकहरूको जन्मभूमि टेक्न पाउँदा आफू निकै खुसी भएको उनले उल्लेख गरेका छन्।
लभ एण्ड सपोर्ट फाउण्डेशन तथा अम्बर गुरुङ सालिक संरक्षण समितिलाई धन्यवाद दिँदै उनले वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा र पेमा लामासँगै अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्न पाउनुलाई आफ्नो अहोभाग्य मानेका छन्।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा व्यवसाय गर्दै आएका अगम गुरुङ नेपाली कला, संगीत र साहित्यसँगै सामाजिक सेवाका गतिविधिमा पनि सक्रिय छन्।

















