बाढीपीडित सहयोगार्थ मगर संघ अमेरिकाद्वारा ३० लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
मातृभूमि नेपालमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुरस्थापनाको कार्यमा सहयोग होस् भन्ने उद्देश्यका साथ मगर संघ अमेरिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
मगर संघ अमेरिकाको केन्द्रीय कार्यालयमा सेप्टेम्बर २८, २०२६ को दिन आयोजित प्राकृतिक विपदमा परेका पीडितहरूको लागि “दीप प्रज्वलन तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम २०२६” मा नेपाल सरकार प्रतिनिधि सभाका पूर्व उपसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगर र नेपाल सरकार नेपाली महाबाणिज्यदूतावास न्यु योर्क महावाणिज्यदूत दधिराम भण्डारीको उपस्थितिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
संस्थाको तर्फबाट मगर संघ अमेरिका केन्द्रीय समिति अध्यक्ष दीप सागर बुढा मगर र मगर संघ अमेरिका न्यु योर्क च्याप्टर अध्यक्ष रत्न सिङ गर्बुजा मगरले पूर्व उप-सभामुख राना मगर र महावाणिज्यदूत भण्डारीलाई प्रतीकात्मक चेक हस्तान्तरण गरेका थिए ।
मगर संघ अमेरिका र यस मातहतका च्याप्टरहरूले शुभेच्छुकबाट रकम संकलन गरेका थिए । महावाणिज्यदूत दधिराम भण्डारीले विपद्को दुःखद घडीमा मातृभूमिका पीडितका लागि सहयोग जुटाई राहत कोषमा योगदान पुर्याएकोमा मगर संघ अमेरिका तथा सम्पूर्ण सहयोगी दातालाई धन्यवाद दिएका थिए ।
नेपालमा प्राकृतिक विपद् आएको तेस्रो दिन नै न्यु योर्क महाबाणिज्यदुताबास कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सबै नेपाली संघ संस्थालाई आर्थिक सहयोग जुटाउन अपिल गरेको स्मरण गर्दै मगर संघ अमेरिकाले ठुलो आर्थिक संकलन गरेर मातृभूमिको पिडामा मल्हम लाउने काम गरेकोमा कृतज्ञता व्यक्त गरे ।
यसैगरी माननीय इन्दिरा राना मगरले यो अकल्पनीय प्राकृतिक विपद्ले अरबौँ अरबको धनजनको क्षति भएको र राहत तथा पुरस्थापनाको कार्यमा मगर संघ अमेरिकाले गरेको आर्थिक सहयोग प्रति आभार प्रकट गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै बाढीपछि सहयोग गर्ने, नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद दिए । यस्तो सहयोगले सरकारको राहत तथा पुनःस्थापना अभियानमा महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने बताए ।
मगर संघ अमेरिका केन्द्रीय समिति अध्यक्ष दीप सागर बुढा मगरले मगर संघ अमेरिकाको स्थापना कालदेखि नै मातृभूमि नेपालमा आइपरेका हरेक विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिएर लाखौं लाख आर्थिक सहयोग गरेको स्मरण भविष्यमा पनि यस्तो सहयोग निरन्तर रहने जानकारी गराए ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण अमेरिका बासी मगरहरू प्रति आभार व्यक्त गर्दै बाढीपीडित परिवारले यथाशीघ्र राहत र पुनः स्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए ।
अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पूर्ण मगरहरूलाई मगर संघ अमेरिकाको एउटै छाता मुनी गोलबद्ध गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत विविधतामा एकता रहेका मगरहरूको भाषा, भेष, संस्कार संस्कृति र रीतिरिवाज तथा परम्पराहरूलाई अमेरिकामा संरक्षण र संवर्द्धन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरू सँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो ।
हाल मगर संघ अमेरिका केन्द्रीय समिति र यस मातहत अमेरिकाको १२ राज्यमा ९ वटा च्याप्टर कमिटी रहेको छ ।

















