ओहायोमा सडक दुर्घटनामा संलग्न भारतीय सेमी-ट्रक चालक पक्राउ, आइसद्वारा देश निकालाको माग
ओहायो / अमेरिकाको ओहायो राज्यमा एक महिलाको ज्यान जाने गरी भएको सडक दुर्घटनामा संलग्न भारतीय सेमी-ट्रक चालक मनजित सिंह पक्राउ परेका छन् ।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) द्वारा बुधवार साँझ जारी विज्ञप्ति अनुसार सेप्टेम्बर २ मा ब्राउन काउन्टीमा भएको दुर्घटनामा ५० वर्षीया स्थानीय महिला ब्रेन्डा वाट्सनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस पछि प्रहरीले ३९ वर्षीय सिंहलाई पक्राउ गरी गम्भीर सवारी ज्यान मुद्दा दर्ता गरेको जनाइएको छ । तर यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले उनलाई आफ्नो हिरासतमा राख्न आदेश जारी गरेको छ।
विज्ञप्ति अनुसार आइसले सिंहलाई देशबाट निकाला गर्ने प्रक्रिया अघि बढाउनका लागि स्थानीय जेल प्रशासनसँग उनको हिरासत माग गरेको छ।
तीव्र गति र लापरबाहीका कारण दुर्घटना
ओहायो स्टेट हाइवे पेट्रोलका अनुसार यो दुर्घटना यु.एस. रूट ६८ मा घटेको हो। सिंहले चलाइरहेको २०१९ मोडलको भोल्भो ट्र्याक्टर-ट्रेलर ले अर्को गुडिरहेको सवारी साधनलाई अत्यधिक गतिमा ओभरटेक गर्ने प्रयास गर्दा विपरीत लेनमा पुगेर वाट्सनको शेभरले क्रुज कारलाई सिधै ठक्कर दिएको थियो ।
‘घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार ट्रकको गति तीव्र थियो र चालकसँग सही लेनमा फर्किने पर्याप्त समय र ठाउँ हुँदाहुँदै पनि लापरबाहीपूर्वक गाडी गुडाउँदा यो दुखद घटना हुन पुगेको हो।’ विज्ञप्तीमा उल्लेख छ ।
डिएचएसको विज्ञप्ति अनुसार अनुसार सिंह अक्टोबर २०२३ मा एरिजोनाको सिमानाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। पछि बाइडन प्रशासनले उनलाई देशमा बस्ने अनुमति दिएको र गभर्नर ग्याभिन न्यूसम नेतृत्वको क्यालिफोर्निया राज्यले उनलाई व्यावसायिक चालक अनुमति पत्र समेत जारी गरेको जनाइएको छ ।
गृह सुरक्षा सचिव मार्कवेन मुलिनले एक विज्ञप्ति जारी गर्दै बाइडन प्रशासनको खुला सिमाना नीति र क्यालिफोर्नियाको स्यान्चुरी नीतिका कारण एक अवैध विदेशीले अमेरिकी सडकमा ठुला सवारी साधन चलाउने अनुमति पाएको भन्दै कडा आलोचना गरेका छन्।
आरोपी सिंह हाल ब्राउन काउन्टी जेलमा रहेका छन् र उनलाई अदालतमा सुनुवाइका लागि पेस गर्ने तयारी भइरहेको जनाइएको छ।
तस्बिर : डिएचएस














