ओहायोमा डियुआइ सवारी दुर्घटना, एकको निधन, चालकलाई डिपोर्टको माग
ओहायो / अमेरिकाको ओहायो राज्यमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा (डियुआइ) भएको एक सडक दुर्घटनामा परी २३ वर्षीय युवा क्यामरुन लियोनको मृत्यु भएको छ। दुर्घटनामा उनकी मंगेतर गम्भीर घाइते भएकी छिन्।
यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस ) द्वारा बुधवार जारी विज्ञप्ति अनुसार, गत सेप्टेम्बर ६ मा ओहायोको फेयरफिल्ड काउन्टीस्थित रुट ३३ मा पूर्वतर्फ गुडिरहेको एक सवारी साधन अनियन्त्रित भई विपरीत लेनमा पसेर लियोनको कारलाई ठक्कर दिएको थियो।
ओहायो स्टेट हाइवे पेट्रोलले दुर्घटना गराउने मेक्सिकन नागरिक आल्भारो उरिबे-गोन्जालेजलाई तत्काल पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा अभियुक्त उरिबे-गोन्जालेज गैरकानूनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासी भएको खुलेको छ।
उनलाई यसअघि सन् २०२० मा ट्रम्प प्रशासनको पालामा अमेरिकाबाट डिपोर्ट गरिएको थियो। तर, उनी पुनः गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको पाइएको छ।
उनी विरुद्ध हाल सवारी ज्यान मुद्दा, डियुआइ र बिना लाइसेन्स गाडी गुडाएको अभियोग दर्ता गरिएको छ।
यस घटनालाई लिएर यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले फेयरफिल्ड काउन्टी जेललाई ‘डिटेनर’ जारी गरेको छ । आइसले अभियुक्तलाई जमानतमा रिहा नगरी सिधै देश निकालाको प्रक्रियामा लैजान माग गरेको छ ।














