ओहायोमा होमल्यान्ड सेक्युरिटी सचिव मुलिन , अगस्टमा आइसद्वारा देशभरमा ५० हजारभन्दा बढी पक्राउ
ओहायो / अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डिएचएस) का सचिव मार्कवेन मुलिनले लेवर डे सप्ताहन्तको अवसरमा ओहायोको भ्रमण गर्दै स्थानीय कानुन कार्यान्वयन निकाय, अध्यागमन तथा सीमा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।
शुक्रबार भएको भ्रमणका क्रममा मुलिनले वारेन काउन्टी शेरिफ कार्यालयका अधिकारी तथा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरूसँग छलफल गरेको डिएचएसद्वारा मंगलवार जारी विज्ञप्तीमा उल्लेख छ ।
छलफलमा संघीय, राज्य र स्थानीय कानुन कार्यान्वयन निकायबीचको सहकार्य तथा २८७(जी) सम्झौताको विषय प्रमुख रूपमा उठाइएको डिएचएसले जनाएको छ।
डिएचएसका अनुसार, अगस्त २०२६ मा आइसले देशभर ५० हजार ९२५ जना गैरकानुनी रूपमा अमेरिकामा रहेको आरोप लागेका व्यक्तिलाई पक्राउ गरेको छ। यो जुलाईमा भएको ५० हजार २०८ पक्राउको अघिल्लो रेकर्डभन्दा बढी हो। लगातार दोस्रो महिनामा आइस पक्राउ संख्या ५० हजारभन्दा माथि पुगेको विभागले जनाएको छ।
भेटवार्तामा आइस डेट्रोइट फिल्ड अफिसका निर्देशक म्याथ्यु पुत्रा, कार्यवाहक डेपुटी फिल्ड अफिस निर्देशक रोनाल्ड ह्वेलन, कोलम्बसका कार्यवाहक सहायक फिल्ड अफिस निर्देशक लुक अफोल्टर, सिनसिनाटीका कार्यवाहक सहायक फिल्ड अफिस निर्देशक क्रिस्टोफर नोरिस तथा वारेन काउन्टी शेरिफ ब्यारी राइलीलगायत सहभागी थिए। ओहायोको आठौँ कांग्रेसनल डिस्ट्रिक्टका प्रतिनिधि वारेन डेभिडसन पनि छलफलमा सहभागी थिए।
मुलिनले स्थानीय प्रहरी र आइस बीचको सहकार्यका कारण अध्यागमन कानुन कार्यान्वयनमा सहयोग पुगेको बताए। उनले अगस्तमा करिब ५१ हजार पक्राउ हुनुमा वारेन काउन्टी शेरिफ कार्यालयसहित देशभरका स्थानीय कानुन कार्यान्वयन निकायको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे।














