पेन्सिल्भेनियाको मोन्टगोमेरी काउन्टीद्वारा फेसबुक सहित सामाजिक सञ्जाल विरुद्ध मुद्दा
नोरिसटाउन, पेन्सिल्भेनिया / बालबालिकाहरूको मानसिक र भावनात्मक स्वास्थमा सामाजिक सञ्जालले नकारात्म असर पारेको भन्दै पेन्सिल्भेनियाको मोन्टगोमेरी काउन्टीले उनीहरु विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
मोन्टगोमेरी काउन्टीले बुधवार जारी गरेको विज्ञप्तीमा मेटा, स्न्याप, टिकटक र गुगल लगायतका प्रमुख सामाजिक सञ्जाललाई मुद्धा दायर गरेको उल्लेख छ ।
सोसल मिडिया प्लेटफर्महरूले युवाहरूमा एन्जाइटी, डिप्रेसन, खानपान सम्बन्धी समस्या, निद्राको समस्या, एक्लोपन, आत्म-हानि र आत्महत्याको विचार जस्ता बढ्दो समस्याहरू निम्त्याउन भूमिका खेलेको पाइएको काउन्टीको दावी छ।
मोन्टगोमेरी काउन्टीका एक ४८ वटा सार्वजनिक विद्यालय क्षेत्रहरूले सन् २०२५ को ‘पेन्सिलभेनिया युथ सर्भे’ मा भाग लिएको र तीन वा सोभन्दा बढी घण्टा सोसल मिडिया प्रयोग गर्दा युवाहरूमा डिप्रेसन र एन्जाइटीका लक्षणहरूको जोखिम झन्डै दोब्बर भएको दाबी गरिएको छ ।
अमेरिकी जनगणनाको २०२२ को जनसांख्यिकीय अनुमान मोन्टगोमेरी काउन्टीमा लगभग एक लाख ८१ हजार पाँच सय ८३ जना नाबालिगहरूको बसोबास रहेको छ ।
सोसल मिडिया कम्पनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाउने यो पेन्सिलभेनियाकै सबैभन्दा ठुलो न्यायक्षेत्र भएको विज्ञप्तीमा उल्लेख छ ।
मोन्टगोमेरी काउन्टी बोर्ड अफ कमिश्नर्सकी अध्यक्ष जामिला एच. विन्डरले युवाहरुलाई हानी पुर्याउने समाजिक सञ्जाल कम्पनीहरु जवाफदेही हुनु पर्ने बताइन ।
“अभिभावकहरू आफ्ना छोराछोरीले सिकून्, बढून् र फस्टाऊन् भन्ने आशामा उनीहरूलाई विद्यालय र संसारमा पठाउँछन्। तर धेरै युवाहरू एन्जाइटी, डिप्रेसन, आत्म-हानि र अन्य गम्भीर मानसिक स्वास्थ्य चुनौतीहरूसँग संघर्ष गरिरहेका छन्।” विन्डरले भनिने, “युवाहरूलाई हानि पुर्याउन उनीहरूका उत्पादनहरूले खेलेको भूमिकाका लागि सोसल मिडिया कम्पनीहरू जवाफदेही हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।”
उत्तरी क्यालिफोर्नियाको अमेरिकी जिल्ला अदालतमा दायर गरिएको यो मुद्दा मोन्टगोमेरी काउन्टी बोर्ड अफ कमिश्नर्स र जिल्ला न्यायाधिवक्ताको कार्यालयबीचको व्यापक साझेदारीको एक हिस्सा भएको बताइएको छ ।
“यसको उद्देश्य उपभोक्ताहरूलाई हानि पुर्याउने वा करदाताहरूमाथि अवैध भार थप्ने कम्पनीहरूलाई अग्रसर भई पहिचान, अनुसन्धान र कानुनी कारबाहीको दायरामा ल्याउनु हो।” विज्ञप्तीमा भनिएको छ ।
मोन्टगोमेरी काउन्टीका कमिश्नर नील मखिजाले मोन्टगोमेरी काउन्टीका बासिन्दाहरू उनीहरूका लागि लड्न तयार हुने सरकारको हकदार भएको बताए ।
“देशभरिका एक तिहाइभन्दा बढी किशोरकिशोरीहरू आफूहरू लगातार फोनमा रहने गरेको बताउँछन् र यस प्रकारको सोसल मिडिया प्रयोगले एन्जाइटी र डिप्रेसनको दरलाई दोब्बर बनाउन सक्छ।” उनले भने ।
मखिजाले यो आफुहरुको जिम्मेवारी भएको बताए ।
“जब कम्पनीहरूले युवाहरूको मानसिक स्वास्थ्य संकट बढाउने खालका उत्पादनहरूबाट नाफा कमाउँछन्, तब कदम चाल्नु हाम्रो जिम्मेवारी बन्छ। त्यसैले हाम्रा बासिन्दाहरूलाई हानिकारक उत्पादनहरू र शोषणकारी व्यापारिक अभ्यासहरूबाट जोगाउन काउन्टी र जिल्ला न्यायाधिवक्ताको कार्यालयले मिलेर काम गरिरहेका छन्।” मखिजाले भने ।
यो कानुनी कारबाही युवाहरूको मानसिक स्वास्थ्यलाई सहयोग पुर्याउने विस्तृत प्रयासहरूको एउटा हिस्सा मात्र भएको काउन्टीको भनाइ छ ।
मोन्टगोमेरी काउन्टीका कमिश्नर थोमस डिबेलोले मानसिक स्वास्थ्यले हरेक परिवार, विद्यालय र समुदायलाई छुने बताए ।
“मोन्टगोमेरी काउन्टीले सेवाहरूमा पहुँच बढाउन, युवाहरूलाई सहयोग गर्न र हाम्रो व्यावहारिक स्वास्थ्य प्रणाली लाई सुदृढ बनाउन काम गरेको छ। हामी बासिन्दाहरूलाई यो कुरा सुनिश्चित गराउन प्रतिबद्ध छौँ कि उनीहरूका लागि सहयोग उपलब्ध छ र उनीहरूले यी चुनौतीहरूको एक्लै सामना गर्नु पर्दैन।” डिबेलोले भने ।














