विवाद समाधानका लागि म सहयोगी हुन सक्छु : तिलक निरौला, पूर्वअध्यक्ष
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / भुटानी कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनिया (बीसीसीपीए) का पूर्वअध्यक्ष तिलक निरौलाले संस्थाको विवाद समाधानका लागि आफू मध्यस्थताका लागि तयार रहेको बताएका छन्।
बीसीसीपीएको नेतृत्व परिवर्तनको विषय विवादमा परेको छ। मंगलबार बिहान मात्र नेतृत्व परिवर्तन भएको सार्वजनिक भएको थियो। त्यसपछि समुदायका अगुवाहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
भुटानी कम्युनिटी ह्यारिसबर्गमा भाँडभैलो : अचानक भयो नेतृत्व परिवर्तन
मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत विज्ञप्ती जारी गर्दै पूर्वअध्यक्ष निरौलाले संस्थामा विभाजन भएको देख्नु पीडादायी भएको बताएका हुन्।
‘बीसीसीपीए नेतृत्वलाई लिएर चलिरहेको हालैका पोस्ट र भनाभनहरूका बारेमा मैले भर्खरै थाहा पाएँ। एक पूर्वअध्यक्ष र त्योभन्दा पनि बढी एक चिन्तित समुदायको सदस्यको रूपमा, हाम्रा लागि यति प्रिय संस्थाभित्र यसरी विभाजन भएको देख्नु निकै पीडादायी छ।’ निरौलाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आफूले युवराज कोइरालालाई एक वर्षभन्दा बढी समयदेखि चिनेको र उनमा समुदायको सेवा गर्ने ठूलो सम्भावना, प्रतिबद्धता र इच्छा देखेको पनि उल्लेख गरेका छन्।
‘हाम्रो अघिल्लो बोर्डले युवराज र एक योग्य नयाँ नेतृत्व टोलीलाई गर्वका साथ जिम्मेवारी हस्तान्तरण गरेको थियो,’ अध्यक्षमा दुई कार्यकाल पूरा गरेका निरौलाले लेखेका छन्, ‘हामीले पूर्ण आत्मविश्वास र आशाका साथ यो कदम चालेका थियौँ कि यो नयाँ पुस्ताका नेताहरूले अघिल्ला नेतृत्वले खडा गरेको जगलाई अझ बलियो बनाउँदै नयाँ विचार, ऊर्जा र आफ्नो दृष्टिकोण भित्र्याउनेछन्।’
निरौलाले कुनै पनि सामाजिक संस्थामा नेतृत्व गर्नु कहिल्यै सजिलो नहुने भन्दै यसका लागि त्याग, धैर्यता, सामूहिक कार्य, पारदर्शिता र सबैभन्दा महत्त्वपूर्ण कुरा, व्यक्तिगत मतभेदभन्दा माथि उठेर समुदायको वृहत्तर हितलाई अगाडि राख्ने इच्छाशक्ति चाहिनेमा जोड दिएका छन्।
‘समुदायको सेवा गर्न अगाडि सर्नुहुने र आफ्नो समय तथा ऊर्जा दिने सबैप्रति मेरो सम्मान छ। यसका साथै, म हालको आन्तरिक परिस्थिति, छलफल, प्रक्रिया वा यस परिस्थितिमा लागू हुने नियमहरूका बारेमा पूर्ण रूपमा सचेत छैन। त्यसैले, सार्वजनिक रूपमा सेयर गरिएका कुराहरूका आधारमा मात्र म कुनै अनुमान लगाउन, निर्णय सुनाउन वा कसैको पक्ष लिन चाहन्नँ।’
निरौलाले संस्थामा हुने असहमतिलाई संवादबाट समाधान गर्नुपर्ने भन्दै त्यसका लागि आफू सहयोगी हुनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्।
‘मेरो एउटै इच्छा भनेको हाम्रो समुदाय एकजुट रहोस् र बीसीसीपीए नयाँ शक्ति र उद्देश्यका साथ अगाडि बढिरहोस् भन्ने हो। जुनसुकै संस्थामा पनि मतभेद र असहमतिहरू हुन सक्छन्, तर म हार्दिक आशा गर्दछु कि यी कुराहरूलाई सम्मानजनक संवाद, निष्पक्षता, पारदर्शिता र आपसी समझदारीको माध्यमबाट समाधान गर्न सकिनेछ,’ निरौलाले भनेका छन्, ‘यदि म कुनै पनि तरिकाले सहयोगी हुन सक्छु भने—चाहे त्यो मध्यस्थता, कुराकानी वा मानिसहरूलाई एक ठाउँमा ल्याउन सहयोग गरेर होस्—म सधैं उपलब्ध छु।’
निरौलाले संस्था र समुदायप्रति आफ्नो अगाध सम्मान र माया भएको बताउँदै आफूले सधैं यसको निरन्तर सफलताको कामना गर्ने पनि प्रस्ट पारेका छन्।
‘आखिरमा, पद र ओहदाहरू अस्थायी हुन्, तर हाम्रो समुदाय र हामीले निर्माण गरेका सम्बन्धहरू हामीमध्ये कुनै एक व्यक्तिभन्दा धेरै ठूला छन्। आउनुहोस्, त्यो एकताको रक्षा गरौँ र सँगै अघि बढौँ,’ उनले भनेका छन्।














