ओहायो कोलम्बसमा सम्पन्न इस्का ओपन आयोजक नै टिम च्याम्पियन
कोलम्बस, ओहायो / अमेरिकाको ओहायो राज्यको कोलम्बसमा आइतबार सम्पन्न इस्का ओपन कराते प्रतियोगितामा आयोजक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन अफ युएसए (इस्का) टिम च्याम्पियन भएको छ ।
प्रतियोगितामा सर्वाधिक ७१ जना खेलाडी उतारेको इस्का १७ स्वर्ण, २२ रजत र १२ कास्य गरि कुल ५१ पदक सहित पहिलो भएको हो । इस्काका चार स्कुलले एकै टिमबाट प्रतियोगितामा भाग लिएका थिए । ओहायोका कोलम्बस, रेनाल्ड्सबर्ग र सिन्सिनाटीमा इस्काका स्कुल रहेका छन् । सिन्सिनाटीमा फेयरफिल्ड र कोलरेन गरि दुई ठाउँमा स्कुल सञ्चालनमा छन् ।
इस्काका अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिव योगीका अनुसार प्रतियोगितामा १३ स्कुलका एक सय ६५ खेलाडीले भाग लिएका थिए ।
आयोजक पछि सबै भन्दा धेरै खेलाडी प्रतियोगितामा उतारेको पेन्सिल्भेनियाको राइजिङ कराते एकेडेमी दोस्रो भयो । १६ खेलाडीलाई ओहायो पुर्याएको राइजिङले सात स्वर्ण, तीन रजत गरि कुल दश पदक जित्यो ।
राइजिङ भन्दा एक स्वर्णले पछि परेको ओहायोकै बकनर मार्शल आर्ट्स तेस्रो भयो । बकनरले ६ स्वर्ण, चार रजत र चार स्वर्ण गरि कुल १४ पदक जित्यो ।
बकनर सँग बराबरी स्वर्ण जिते पनि डाइनामिक्स युनाइटेड सितोरियो कराते डो डस्क चौथो स्थानमा रह्यो । डक्सले ६ स्वर्ण, चार रजत र दुई कास्य सहित कुल १२ पदक जितेको थियो ।
अल्बोर्नोज कराते स्कुल युएसए ५ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल ११ पदक सहित पाँचौँ स्थानमा रह्यो ।
टी एलिट मार्शल आर्ट्स तीन स्वर्ण र दुई रजत सहित छैटौँ स्थान र ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो कराते डो (टास्क) दुई स्वर्ण र दुई रजत सहित सातौँ स्थानमा रह्यो ।
सितोरियो कराते डो कोलम्बस डोजोले एक स्वर्ण दुई रजत र एक कास्य जित्यो भने यूएसए मार्शल आर्ट्स सेन्ट आल्बान्सले एक स्वर्ण र एक रजत जित्यो ।














