अमेरिकामा आठ सय भन्दा धेरैलाई ट्रक चलाउन प्रतिबन्ध, दर्जनौँ गैरकानूनी आप्रवासी पक्राउ
वासिङटन / अमेरिकाका सडकहरूबाट आठ सय भन्दा बढी खतरनाक ट्रक चालकहरूलाई हटाइएको अधिकारीहरुले बताएका छन्। त्यसमा दर्जनौं गैरकानूनी आप्रवासीहरू पनि समावेश रहेको जनाइएको छ ।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) र डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन (डट) को संयुक्त विशेष अभियान अन्तर्गत उनीहरुलाई अमेरिकाका सडकहरूमा ट्रक चलाउन प्रतिबन्ध लगाइएको हो ।
डीएचएसद्वारा शुक्रवार जारी विज्ञप्तीमा देशभरिका अयोग्य विदेशी ट्रक चालकहरू र असुरक्षित सवारी साधनहरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘अपरेसन हाइवे सिल्ड’ को दोस्रो चरण अन्तर्गत यो कारबाही गरिएको उल्लेख छ ।
विज्ञप्ती अनुसार जुलाई २८ देखि जुलाई ३० सम्म चलेको तीन दिने विशेष अपरेसनका क्रममा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अन्तर्गतको होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन (एचएसआई), फेडरल मोटर क्यारियर सेफ्टी एड्मिनिष्ट्रेसन (एफएमसीएसए) र राज्यका हाइवे पेट्रोलका निरीक्षकहरूले सडक किनारमा आकस्मिक जाँच सञ्चालन गरेका थिए।
तीन दिने कारबाहीमा सात सय ६६ जना असुरक्षित चालक र सवारी साधनलाई प्रतिबन्ध लगाइएको जनाइएको छ ।
‘सुरक्षा मापदण्ड पूरा नगरेका कारण ७६६ जना चालक र उनीहरूका ट्रकहरूलाई तत्कालका लागि सडकमा गुड्न नपाउने गरी (आउट अफ सर्भिस) सेवाबाट हटाइयो ।’ विज्ञप्तीमा भनिएको छ ।
अभियानका क्रममा ५१ जना गैरकानूनी आप्रवासीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा क्यालिफोर्निया र न्यू योर्कबाट नियम विपरीत व्यावसायिक चालक अनुमति पत्र (सीडीएल) लिएका २१ जना चालकहरू समेत छन् ।
सडकमा खतरनाक व्यवहार देखाउने र घरेलु हिंसा जस्ता आपराधिक गतिविधिमा संलग्न ८६ जना चालकहरूलाई पक्राउ गरिएको जनाइएको छ । यस्तै अङ्ग्रेजी भाषा प्रवीणता परीक्षामा असफल भएका ३६ जना चालकहरूलाई नियम उल्लंघनको कारबाही गरिएको छ ।
कारबाहीका क्रममा ट्रकहरूबाट करिब १० लाख डलर बराबरको चोरी भएको सामान समेत बरामद गरिएको छ।
डीएचएसका सचिव मार्कवेन मलिनले गैरकानूनी र अयोग्य चालकहरूले अमेरिकी नागरिकहरूको जीवनलाई खतरामा पारिरहेको बताउँदै यस अभियानले निर्दोष जीवनको रक्षा गर्न ठूलो भूमिका खेलेको बताए ।
यस्तै डटका सचिव सन पी. डफीले अयोग्य र अप्रमाणित विदेशी चालकहरू विरुद्धको कारबाहीलाई अझ सशक्त बनाइने र अमेरिकाका सडकहरूमा अवैध रूपमा ठूला गाडी चलाउनेहरूको दिन गनिएको चेतावनी दिए ।
‘यो अपरेसन ट्रकिङ उद्योगमा भइरहेका धोखाधडी र गैरकानूनी अभ्यासहरू विरुद्ध संघीय सरकारले चालेको देशव्यापी क्र्याकडाउनको एक हिस्सा हो।’ उनले भने ।














